दिल्लीबाट ४ दिन पैदल हिँडेर गड्डाचौकी

भारतबाट आएका ४४ जनालाई क्वारेन्टाइनमा राख्नुको सट्टा लकडाउन र नाका बन्दको अवज्ञा गरेको भन्दै सशस्त्र प्रहरीले ‘नियन्त्रण’मा लिएको छ
भवानी भट्ट

कञ्चनपुर — तिहारपछि काम गर्न भन्दै उनी भारतको नयाँ दिल्ली गएका थिए । उनी चार/पाँच वर्षदेखि त्यहीँ काम गर्दै आइरहेका छन् । विश्वभरि कोरोना संक्रमण फैलिएका बेला भारतमा पनि यसको संक्रमण र त्रास दुवै बढेको थियो ।

दिल्लीबाट ४ दिन पैदल हिँडेर गड्डाचौकी

एकपछि अर्को गर्दै संक्रमितको संख्या बढ्दै गएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, पारिफांँटाका राजु चौधरीलाई डर लाग्न थाल्यो । यद्यपि कोठा छाडेनन् ।


भारतमा गत चैत १२ मा ‘लकडाउन’ गरिएपछि कोठामा खाद्यान्न सकिन थाल्यो । त्यसपछि भने पराईको भूमिमा भोकभोकै बस्नुभन्दा घर फर्किने निधो गरे । त्यहीँ बस्दै आएका गाउँकै अन्य साथीसँंग पनि सल्लाह गरे र गत बिहीबार घरका लागि हिँडे । ‘जताततै लकडाउन छ, बाहिर हिँड्दा पनि प्रहरीले कुट्दैछ भन्ने थाहा थियो । यस्तो बेला पनि हामी प्रहरीलाई छल्दै हिँड्यौं,’ राजुले भने, ‘कतै पैदल त कतै गाडीमा चढेर चार दिनमा बनबासा पुग्यौं ।’ उनका अनुसार दिल्लीबाट बसमा चढेर तीन/चार घण्टा मात्रै यात्रा गरेपछि प्रहरीले बस रोक्यो अघि बढ्न दिएन । त्यसपछि उनीहरु पैदल यात्रा गर्दै अघि बढे ।


‘आधा दिन पैदल हिँडेपछि फेरि गाडी पाइयो, त्यसमै चढेर रुद्रपुर पुग्यौं,’ उनले भने, ‘रुद्रपुरबाट भने हिँडेरै बनबसासम्म पुगेका हौं ।’ रुद्रपुरबाट ८२ किलोमिटरको दूरी पार गर्न उनीहरुलाई डेढ दिन लाग्यो । ६ महिना वर्ष दिनमा भारत ओहोरदोहोर गरिराख्ने उनलाई सार्वजनिक यातायातमा ८/१० घण्टा लाग्ने बाटो पार गर्न पुरै ४ दिन लाग्यो । दिल्लीबाट ७ दिनअघि हिँडेका उनीहरु बिहीबार मात्रै आफ्नो गाउँ पुगेका छन् ।


‘कतै खाना पाइयो, कतै भोकै हिँड्नुपर्‍यो,’ राजुसंँगै दिल्लीबाट आएका शुक्लाफाँटा नगरपालिकाकै गौरव भट्टले भने, ‘जता रात पर्‍यो त्यहीँ बास भयो ।’ उनका अनुसार यात्राका क्रममा भारतीयहरु पनि भएकाले सहज भएको थियो ।

बनबासा पुगेपछि गड्डाचौकी नाकामा नेपाल प्रवेश गर्न रोक लगाएको थाहा पाएर उनीहरु सीमावर्ती गाउँ गडिगोठ हुँदै दोधारा चांँदनी पुगे । उनीहरुले गडीगोठसंँगै जोडिएको कञ्चनपुरको महाकाली नगरपालिका–१, पशुपति टोलको दशगजामा दुई रात बिताए । चौधरी र भट्टसंँगै भारतका विभिन्न ठाउँबाट आएका ४४ जना त्यहाँं पुगेका थिए ।

नाकामा आवागमन बन्द भएपछि आएको भन्दै स्थानीय प्रशासनले उनीहरुलाई दशगजामै रोकेर खानाको व्यवस्था मिलाएको थियो । उनीहरुलाई बुधबार रातिदेखि प्रशासनले भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित वैजनाथ माविमा राखेको हो । ‘दुई रात खुला चौरमै बितायौं,’ राजु भन्छन्, ‘त्यसपछि यहाँं स्कुलमा ल्याएर राखिएको छ ।’


भारत उत्तराखण्डको पिथौरागढ, चम्पावत र अल्मोडा लगायतका क्षेत्रबाट समेत नेपाली कामदारहरु हप्ता दिन पैदल हिँडेर सीमानाकामा आइपुगेका छन् । जेनतेन आइपुगेका उनीहरुलाई नाकामै रोकिएपछि झनै निराश बनेका छन् । ‘एकातिर भारतमा देखिएको भाइरसको त्रास छ, अर्कोतिर आफ्नै देशमा अलपत्र पर्दा झनै दुःख लागेको छ,’ सीमापारी भारत उत्तराखण्ड राज्यको चम्पावत जिल्लामा पर्ने चल्थीबाट दुई दिन पैदल हिँडेर ब्रह्मदेव पुगेका पुनर्वासका एक नेपाली कामदारले भने, ‘दुई दिनसम्म भोकभोकै हिँडेर यहाँं पुगेका हौं ।’


क्वारेन्टाइनको सट्टा ‘नियन्त्रण’मा !


भीमदत्त नगरपालिकाको ब्रहृमदेव नाकाबाट आएका १८ जना र महाकाली नगरपालिकाबाट आएका ४४ जनालाई वैजनाथ माविमा राखिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा नभई नाका बन्द र लकडाउनको अवज्ञा गरेको भन्दै नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको ३५ नं. गणका एसपी वीरसिंह साहुले बताए । उनका अनुसार यहांँ रहेका कतिपय स्थानीयलाई भने स्थानीय तहले क्वारेन्टाइनमा राख्नेगरी लैजान लागेका छन् ।


सोही क्रममा शुक्लाफांँटा नगरपालिकाले पनि पाँच जनालाई बिहीबार क्वारेन्टाइनमा राख्ने भन्दै लगेको छ । नगरपालिकाका प्रवक्ता जगत बहादुर सिंह आफैं आएर उनीहरुको जिम्मा लिई लगेका हुन् ।


भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरुलाई वैजनाथ स्कुलमा कुनै सतर्कता बिनै राखिएको छ । विद्यालयका कोठामा सबैजना कोच्चिएर बसिरहेका छन् । कामदारहरुलाई बसाइएको स्थलमा कमजोर व्यवस्थापनका कारण सञ्चारकर्मीहरुलाई समेत प्रवेशमा रोक लगाइएको छ । भारतका विभिन्न ठाउँबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने बेला यसरी एकै ठाउँमा भेला गर्दा संक्रमणको जोखिम झनै बढेको स्थानीयहरुले बताए ।


अहिले पनि भारतका विभिन्न ठाउँबाट नेपालीहरु फाट्टफुट्ट रुपमा आउने क्रम जारी छ । उनीहरुलाई पनि क्वारेन्टाइनमा राख्नुको साटो नियन्त्रणमा लिएको भन्दै एकै ठाउँमा कोचेर हुलमा राख्ने काम भइरहेको छ ।

प्रकाशित : चैत्र २०, २०७६ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?