कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

संक्रमित युवतीसँंगै आएका युवक भन्छन्– 'आफ्नै ठाउँमा पनि हेपियौं'

कोरोना संक्रमणको पुष्टि नभएपछि महाकाली अस्पतालको आइसोलेसनमा रहेका सबै ६ जना ‘डिस्चार्ज’
भवानी भट्ट

कञ्चनपुर — कोरोना संक्रमित युवतीसंँगै कतारबाट आएका युवकको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कञ्चनपुरको महाकाली नगरपालिका–१० का ति युवकको चैत १४ मा नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

पछिल्लोपटक ७ महिनाअघि मात्रै रोजगारीको सिलसिलामा कतार पुगेका उनी कम्पनी बन्द भएपछि घर फर्किएका हुन् । उनी ६ वर्षदेखि त्यहाँ सवारी चालकको रुपमा कार्यरत छन् । ‘काम सबै बन्द भएको छ, दुई महिनाका लागि बिदामा घर फर्किएको हुँ,’ उनले भने । चैत ६ मा घर पुगेदेखि नै सेल्फ क्वारेन्टाइनमा बसेको उनी बताउँछन् ।

उनलाई आफैसंँगै आएकी युवतीमा संक्रमण देखिएको पनि थाहा थियो । जब छिमेकीले दुर–दुर गर्न थाले, आफू हेपिएको महशुष गर्न थाले । ‘म त घर बाहिर निस्केन, तर घर परिवारका मान्छेलाई पनि पसलमा टाढा–टाढा बस्नुस् भन्न थाले,’ ति युवकले भने, ‘घरबाटै नमुना संकलन गरेपछि त छरछिमेकी घरमै आउन छाडेका थिए । हामी आफ्नै ठाउँमा पनि हेपियौं ।’

स्वास्थ्य टोली घरमै पुगेर गत चैत १४ मा उनको थ्रोट स्वाब संकलन गरेको थियो । उक्त नमुनाको परीक्षण रिपोर्ट बुधबार आएको महाकाली अस्पतालका डा. सरोज आचार्यले जानकारी दिए । उनका अनुसार ति युवकसंँगै अन्य तीन जनाको रिपोर्टमा पनि कोरोना संक्रमण देखिएको छैन ।

हालसम्म अस्पतालले नमुना पठाएका नौ जनामध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको आइसोलेसनमा रहेका सबै ६ जनाको रिपोर्टबाट संक्रमण नदेखिएको पुष्टि भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

‘अब तीन जनाको रिपोर्ट आउन बांँकी छ, उनीहरु सेल्फ क्वारेन्टाइनमै छन्,’ डा. आचार्यले भने । भारतबाट घर फर्किने क्रममा कोरोनाका लक्षण देखिएका विभिन्न ठाउँका स्थानीयलाई महाकाली अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित : चैत्र १९, २०७६ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?