चैतेदसैंमा सुनसान शक्तिपीठहरु

तृप्ति शाही

बैतडी — जिल्लाका ठूला शक्तिपीठहरु त्रिपुरा सुन्दरी, निंगलासैनी, मेलौली र डिलासैनीमा चैतेदसैंका अवसरमा ठूलो मेला लाग्ने गर्दथ्यो । तर, यो वर्ष अवस्था त्यस्तो रहेन ।

चैतेदसैंमा सुनसान शक्तिपीठहरु

कोरोना भाइरस संक्रमणको त्रास र देश लकडाउनमा रहेकोले सबै मन्दिरहरु सुनसान बनेका छन् । पाँच सयको हाराहारीमा राँगा र यो भन्दा बढीको संख्यामा बोकाको बली चढाउने मन्दिरमा सीमित पूजारीले पूजा मात्रै गरेर चैतेदसैं पर्व मनाए ।


बैतडीका शक्तिपीठहरुमा बर्सेनि चैत शुक्ल अष्टमी अर्थात आजकै दिन धेरै आफूले चाहेको पूरा होस् भनेर भक्तजनहरुले भाकल गर्थे । यसकै लागि जिल्ला तथा देशबाहिर पुगेकाहरु पनि आफ्नो थातथलो फर्किन्थे । दशरथचन्द नगरपालिका–४ का गोवर्द्धन रानाले भने, ‘सबै धार्मिक स्थलमा थेग्नै नसक्ने भिड हुन्थ्यो । यो वर्ष भने कोही छैनन् । भित्र पूजा गर्नेहरु मात्र छन् ।’


उनका अनुसार यहाँको त्रिपुरा सुन्दरी र निंगलासैनी भगवती मन्दिरमा पूजा गर्न भारतबाटसमेत ठूलो संख्यामा दर्शनार्थी आउने गर्थे । नेपाल र भारत दुवैतर्फ लकडाउन चलिरहेकोले उनीहरु पनि यसपटक आउन पाएनन् ।


यो वर्षको चैतेदसैं खल्लो भएको दशरथचन्द नगरपालिका–२, देहिमाण्डौका स्थानीय सूर्य बोहराले बताए । देहिमाण्डौको निंगलासैनी मन्दिरमा यो वर्ष एक–एक वटा राँगा र बोकाको बली चढाएर पूजा मात्र गरिएको उनले सुनाए । ‘त्यसका लागि पनि स्थानीय प्रशासनसँंग हारगुहार गरेर भिडभाड नगरी चढाइएको हो । मुखिया र पूजारीले मात्र भित्र बसेर पूजा गर्नुभयो,’ उनले भने, ‘यसअघि २० हजारभन्दा बढी मान्छेभेला हुने गरेका थिए ।’


मन्दिर आसपासका गाउँहरुबाट घण्टौं हिँडेर राँगा तथा बोकासहित मन्दिरतर्फ आएका धेरैलाई फिर्ता पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले बताए ।यो वर्ष अहिलको परिस्थितिअनुरुप भीडभाड नगरी सामान्य पक्रिया मात्रै पुर्‍याएर पूजाआजा भएको उनको भनाइ छ । उनले मन्दिर क्षेत्रमा भीडभाड हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए ।


‘मंगरबार राति र बुधबार बिहान केही ठाउँबाट स्थानीय बली चढाउन भन्दै राँगा र बोकासहित आएका थिए । सबैलाइ फर्कायौं,’ उनले भने, ‘मन्दिरका पुजारीहरुले मात्र पूजा गरे ।’

प्रकाशित : चैत्र १९, २०७६ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?