कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लकडाउन प्रभाव : किसानले काट्न पाएनन् गहुँबाली

मोहन बुढाऐर

(धनगढी) — कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलन नदिन देशभर ‘लकडाउन’ गरिएको छ । यस्तोमा घरबाहिर निस्कन नपाएपछि पाकेको गहुँबाली खेतमै झर्न थालेको छ । पाकेको गहुँ भित्र्याउन ढिलो भएको किसानहरुले गुनासो गर्न थालेका छन् । यतिबेला न त उनीहरु निर्धक्क खेतमा गएर गहुँ काट्न सकिरहेका छन्, न त मजदुर वा आधुनिक कृषि औजारनै पाउन सकेका छन् ।

लकडाउन प्रभाव : किसानले काट्न पाएनन् गहुँबाली

किसानहरु भन्दैछन्– कोरोनाले थुन्यो, पाकेको गहुँबाली खेतमै झर्दै छ । धनगढी–५ का हरिनरायाण चौधरीले कोरोना भाइरसबाट देश–दुनियाँ डराइरहेको बेला गहुँ काट्न आँट गर्न नसकेको बताए । ‘कतिखेर एक्लैभए पनि आँटेर हसियाँ समातेर गहुँ काट्न निस्कन खोज्छु,’ उनले भने, ‘फेरि यो चर्काे घाममा किन बाहिर निस्कनु भन्ने लाग्छ । उपचार पनि नपाइने बेलामा ज्वरो आयो भने के गर्ने ?’


कैलालीकै शिवराज भट्टले झर्न लागेको गहुँबाली सम्झेर मन कुँडिरहेको सुनाए । ‘मजदुर पनि पाउन मुश्किल छ । सरकारले पनि धेरै मजदुर लगाएर खेतमा काम गर्न दिन्छ कि दिन्न भन्ने दुविधा मनमा रहेकोले गहुँबाली भित्र्याउन पाएको छैन,’ उनले भने ।


कैलाली थापापुरका किसान गंगा चौधरीले पनि मजदुर र काट्ने मेसिन नहुँदा गहुँबाली पाकेर झर्न थालेको दु:खेसो पोखे । उनका अनुसार गहुँ काट्ने मेसिन भएका किसानले डिजल र त्यसका लागि चाहिने सहयोगी नपाएको बताएका छन् ।


यहाँका थापापुर, जोशीपुर, भजनी, हसुलिया धेरै गहुँबाली लगाइने क्षेत्रमा पछिल्लो समय गहुँबाली काट्न र झार्न आधुनिक मेसिनको प्रयोग हुँदै आएको छ । ‘किसान एक हप्ता पर्खन्छन् होला,’ उनले भने, ‘धेरै ढिलो भयो भने उनीहरु कोरानाको त्रासलाई जितेर खेतमा काम गर्न जान बाध्य हुनेछन् । बाली पाकेर खेतमै झरे भोकमरीको सामना गर्नुपर्ने दिन आउनसक्छ ।’ धेरै जग्गामा लगाएका किसानहरुलाई परिवारले मात्रै गहुँ भित्र्याउन सक्ने अवस्था नरहेको उनी बताउँछन् । ‘जस्को १०/१२ बिघामा गहुँ छ, त्यो परिवारले मजदुर नपाए भित्र्याउन सक्नेछैनन्,’ उनले भने ।


कामका लागि भारत पसेका धेरै जना अहिले घर फर्किएका छन् । ‘तर, उनीहरुबाट पनि कोरोना सर्न सक्ने भन्दै धेरै जना बाहिर निस्कन मानिरहेका छैनन्,’ उनले प्रश्न गरे, ‘यस्तो बेला किसानले कसरी मजदुर खोज्ने ?’ कैलाली जिल्लामा यो वर्ष करिब ४० हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएको छ ।


जिल्लाका केही स्थानमा भने किसानहरुले गाउँ भित्र्याउन थालेका छन् । धनगढीको बेला गाउँका नारद रानाले भने, ‘कोरोनाको त्रास मानेर पाकेको बाली कसरी बारीमै झर्न दिने, बालीनै भित्र्याउन नपाए के खाने ? भोकमरीको चेपटमा पर्नुभन्दा समयमै बाली भित्र्याउन ठिक हो ।’


उनले कोराना भाइरसका बारेमा सबै जानकारी राखेको र गहुँबाली काट्न परिवार बाहिरका कसैलाई पनि नबोलाएको सुनाए । ‘घरकैले मात्र काटिरहेका छौं,’ उनले भने, ‘यो हावाबाट सर्ने भाइरस त होइन नी ।’ उनले १० कठ्ठामा गहुँ लगाएका छन् । नारदको परिवार पनि १० जनाकै छ । उनले मात्रै होइन बेला गाउँमा साना किसान सबैले गहुँ, मुसुरोलगायत हिउँदे बाली थन्काइरहेका छन् ।


सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले कोरानाले गाउँघरभन्दा धनगढी उपमहानगरभित्रका किसानलाई गहुँबाली भित्र्याउन ढिलो भएको बताए । ‘यतिबेला मजदुर पनि पाउन नसकेको नसक्ने अवस्था छ । अर्काेतिर कम्बाइन मेसिनका लागि डिजल पनि उपलब्ध हुन नसकेको होला,’ उनले भने । प्रदेश कृषि मन्त्रालयले गहुँबाली भित्र्याउनमा किसानहरुसँग सहजीकरणको प्रयास थालेको उनले बताए । उनका अनुसार कतिपय स्थानमा मुसुरोसमेत बारीमै झर्ने अवस्थामा पुगेको छ । जिल्लामा चार हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मुसुरो लगाइएको छ ।

प्रकाशित : चैत्र १८, २०७६ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?