भारतबाट नेपाल फर्किन लागेकालाई कञ्चनपुरको दशगजामै रोकियो 

भवानी भट्ट

कञ्चनपुर — भारतबाट नेपाल फर्किन लागेका नेपालीहरु सोमबार बिहानदेखि दशगजामा रोकिएका छन् । बिहानै नाकामा पुगेका उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको हो । उनीहरुलाई खाना र बासको व्यवस्था दशगजामै गरिएको छ । 

भारतबाट नेपाल फर्किन लागेकालाई कञ्चनपुरको दशगजामै रोकियो 

कञ्चनपुरको महाकाली नगरपालिका १ पशुपति टोल नजिकै ५५ जना र भीमदत्त नगरपालिका ९ को बादी वस्ती नजिकै १८ जना नेपालीहरु दशगजामै रहेका छन् । ‘हामीले दशगजामै पुगेर खाना खुवाइरहेका छौं । उनीहरुको बास पनि त्यहि छ’ महाकाली नगरपालिका १ का अध्यक्ष अर्जुनदत्त भट्टले भने, ‘दिनको घाम र रातिको चिसोले उनीहरु बिरामी हुन थालेका छन् ।’ उनका अनुसार भारतबाट उनीहरु कतै पैदल, कतै गाडीमा दुई/तीन दिन लगाएर दशगजासम्म आइपुगेका हुन् ।

‘ब्रहृमदेव नाकाबाट आएका सबैलाई दशगजामै रोकेका छौं’ भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथले भने, ‘दाल चामल दिएपछि उनीहरुले त्यॅही खाना बनाएर खाए ।’ सोमबार बिहानैदेखि नाकामा रोकिएका १८ जनालाई टनकपुर पुल छेउमै राखिएको छ । उनीहरु केलाली र कञ्चनपुरकै वासिन्दा रहेको नाथले बताए ।


आइतबारसम्म नाकामा पुगेका सबैलाई स्थानीय प्रशासनले भित्र्याएर सम्बन्धित जिल्लातर्फ पठाएको थियो । तर सोमबारबाट भने कडाइ गरिएको छ । उनीहरुलाई भारततर्फ क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै नेपाल प्रवेशमा रोक लगाइएको वडाध्यक्ष भट्टले बताए । ‘१४/१५ दिनसम्म हामीले राशन धान्न सक्ने अवस्थामा छैनौं’ उनले भने, ‘स्थानीय प्रशासनले पहल गर्नुपर्छ ।’


कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले नाकामा आएकालाई सरकारले अर्को निर्णय नगरेसम्म प्रवेश गर्न रोक लगाइएको बताए । उनीहरुलाई दशगजामा खाना बस्ने व्यवस्था मिलाउन छलफल भइरहेको उनले बताए ।

प्रकाशित : चैत्र १८, २०७६ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?