भारतबाट दिनहुँ सयौं कामदार फर्किंदै 

नाका बन्द र दुवै देश लकडाउनले पनि रोकेन नेपालीलाई
भवानी भट्ट

कञ्चनपुर — कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि नाका बन्द र  मुलुक लकडाउन हुँदा पनि भारतबाट घर फर्किनेको चाप कम भएको छैन । दिनहुँ दुई/तीन सयको हाराहारीमा नेपालीहरू आइरहेका छन् । 

‘दिल्ली, मुम्बई, गुजरातलगायतका ठाउँबाट दिनहुँ नेपालीहरू आउने क्रम जारी छ,’ गड्डाचौकीस्थित नागरिक सहायता कक्षका नासु दानसिंह बोहोराले भने, ‘कतिपय पैदलै आइरहेका छन् ।’ उनका अनुसार आइतबार पनि चार महिलासहित तीन सय ३७ जना गड्डाचौकी नाका भएर भित्रिएका छन् । जसमा एक सय ५० जना दैलेखका मात्रै छन् ।


शनिबार पाँच महिलासहित एक सय ३१ जना भारतका विभिन्न ठाउँबाट आएका थिए । नाकामा बिहानैदेखि भारतबाट आउने क्रम सुरु भएपछि सबैलाई जाँच गरेर साँझपख एकमुष्ट पठाउने गरिएको छ । उनीहरूलाई गाडीबाट बसोबस गर्ने जिल्लातर्फ पठाइएको प्रहरीले जनाएको छ ।


गड्डाचौकीमा रहेको हेल्थ डेस्कका अनुसार नाका बन्द भएयता एक सातामा दुई हजार तीन सय १३ जना नेपाल भित्रिएका छन् । उनीहरू भारतका विभिन्न सहरबाट मजदुरी गरेर फर्किएका हुन् । भारतमा पनि कोरोनाका कारण लकडाउन गरिएको छ ।


‘आज पनि भारततर्फ केही नेपाली रोकिएका छन्,’ हेल्थ डेस्ककी इन्चार्ज अनमी निर्मला जोशीले भनिन्, ‘नाकामा दुई/तीन जना आएका छन् ।’ उनका अनुसार यो नाकाबाट आउने सबैलाई जाँच गरेर मात्रै आउन दिइएको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १६:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लन्डनमा कार्यरत नेपाली चिकित्सकको अनुभव : ‘स्थिति भयावह देखिन्छ’

बेलायतका सबै अस्पताल कोभिड बिरामीले मात्रै भरिन थालेका छन् । हाम्रोमा अन्य अस्पतालजस्तै ‘डेडिकेटेड कोभिड वार्ड’ छ । सुन्दा नराम्रो लाग्छ तर कोभिड बिरामीका लागि भनेर डर्टी एरिया अथवा संक्रमण हुनसक्‍ने र नन कोभिड बिरामीका लागि क्लिन एरिया छुट्टाइएको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — करिब दुई दशकदेखि चिकित्सा पेसामा आबद्ध मोहन थापा सन् २०१३ देखि वाटफोर्ड जनरल अस्पतालमा कार्यरत छन् । नेपाल छँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उनी विगत १७ वर्षदेखि बेलायतमा छन् । 

यतिखेर कोभिड १९ संक्रमण बढेसँगै उनको दिनचर्या बदलिएको छ । कोभिड १९ बिरामीसँग प्रत्यक्ष घुलमिल गर्ने डा. थापाको अनुभव उनकै शब्दमा यस्तो छ:

कोभिड १९ चीनमा भर्खर सुरु हुँदा धेरै टाढाको रोगजस्तो लाग्थ्यो । जब युरोपमा संक्रमण देखिन थाल्यो, फेब्रुअरीदेखि हाम्रो अस्पतालमा तयारी सुरु भयो ।

हाम्रोमा ९ मार्चमा कोरोना भाइरसले पहिलोपटक एकजना बिरामीको मृत्यु हुँदा बीबीसीमा समाचार बनेको थियो । अहिले बेलायतमा दिनहुँ सयौं जना मर्न थालेका छन् । सुरुका दिन थोरै केस आउँदा व्यवस्थापन सजिलो थियो । अहिले बिरामी यति हुन थाले कि विशेष वार्डभित्र क्याबिनमा नराखी एकै ठाउँमा ओपन वार्डमा राख्नुपर्ने स्थिति छ ।

दुई सातादेखि अरु बिरामी धेरै कम आउन थालेका छन् । अहिले शंकास्पद कोभिड बिरामी दिनमा करिब ३० देखि ४० जनासम्म आउँछन् । बेलायतका सबै अस्पताल कोभिड बिरामीले मात्रै भरिन थालेका छन् । हाम्रोमा अन्य अस्पतालजस्तै ‘डेडिकेटेड कोभिड वार्ड’ छ । सुन्दा नराम्रो लाग्छ तर कोभिड बिरामीका लागि भनेर डर्टी एरिया अथवा संक्रमण हुनसक्ने र नन कोभिड बिरामीका लागि क्लिन एरिया छुट्टाइएको छ ।

अहिले संक्रमण ‘पिक’ मा पुगिरहेको छ । यसको मतलब केही साताभित्र कोभिड १९ बेलायतमा झन् भयावह हुने अवस्थामा छ । कोभिडका शंकास्पद बिरामी कोही हिँडेरै आउँछन् । कोही जीपी सर्जरीले अस्पताल जानु भनेर आउँछन् । कति एनएचएस–१११ नम्बरमा फोन गरेर अनि केही एम्बुलेन्समार्फत आफैं अस्पताल आइपुग्छन् ।

श्वासप्रश्वासमा गाह्रो, ज्वरो ३७.८ वा त्योभन्दा बढी, नयाँ सुक्खा खोकी निरन्तर लागिरहने, सिंगान बगिरहने, घाँटी, जीउ दुख्ने कोभिड १९ का लक्षण हुन् ।

बिरामीलाई एम्बुलेन्सबाट निकालेपछि सुरुमा कोभिड वेटिङ एरियामा राखिन्छ अनि ब्लड प्रेसर, तापक्रम, अक्सिजन लेभल, निमोनिया छ/छैन जाँचिन्छ । नेजल स्वाब लिइन्छ । डाइबिटिज, ब्लडप्रेसर, क्यान्सर, श्वासप्रश्वासको समस्या छैन, गर्भवती होइन र स्टेबल बिरामी अर्थात् एक्सरे गर्दा निमोनिया देखिएन, सबै क्लियर छ भने घर पठाउँछौं हामी ।
त्यस्ता बिरामीलाई अस्पतालले १४ दिनसम्म घरैमा बस्न सुझाउँछ र दैनिक फोन गरेर अवस्था बुझ्छ । पुरानो रोग भएका वृद्धवृद्धा वा सिभियर सिम्टम्स् ग्रुप आए भर्ना गरिहाल्नुपर्ने हुन्छ । कोभिड बिरामी भनेर आए पनि आधाजस्तो बिरामी घरैमा उपचार गरेर निको भएको पाइएको छ ।

अहिले डाक्टर, नर्स सबैमा त्रास छ । हाम्रो अस्पतालमा प्रत्यक्ष खटिइरहेका जुनियर डाक्टर, नर्स, हेल्थ केयर असिस्टेन्ट, पोर्टर, क्लिनर धेरै नेपाली छन् । सबैको सक्रिय योगदान छ । ती सबैको आत्मविश्वास (मोरल बुस्ट) बढाउनुपर्ने बेला आएको छ ।

बिरामी जाँच्न विश्व स्वास्थ्य संगठनको गाइडेन्सअनुसार पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगाएर जानु भनेका छौं । पीपीई लगाएर लामो सिफ्ट काम गर्न सकिँदैन । त्यसकारण स्वास्थ्यकर्मीलाई कोभिड एरियामा बढीमा ३ देखि ४ घण्टा राख्ने गरिएको छ ।

बेलायतमा सरकारको पूर्ण तयारी देखिएको छैन । ब्रिटिस मेडिकल एसोसिएसनले पनि पर्याप्त पीपीईको व्यवस्था हुन सकेन भनेको छ । इन्टेन्सिभ केयर युनिट र हाई फ्लो अक्सिजन दिएर राखिएको वार्डमा बिरामी जाँच्न फूल पीपीई लगाउनैपर्छ ।

मास्क, सर्जिकल गाउन, पन्जा बेसिक पीपीई भए । हेड कभर, आँखा छोप्ने भाइजर, एफएफपी थ्री मास्क, सर्जिकल गाउन, डबल ग्लोभ्स, खुट्टा छोप्ने ओभर बुट्स आदि फूल पीपीई हुन् । अक्सिजन लेभल कम भएर हाइ फ्लो अक्सिजन दिन परे बिरामीलाई बेहोस बनाई इन्टेन्सिभ केयरमा ट्युब छिराएर भेन्टिलेटरबाट अक्सिजन दिइन्छ । यस्तो बेला फूल पीपीई आवश्यक पर्छ ।

कोरोना भाइरस सबैका लागि नयाँ अनुभव भएकाले मनोवैज्ञानिक डर, त्रास हुनु स्वाभाविक हो । व्यक्तिगत रुपमा मलाई पनि डर छ तर कन्सल्टेन्ट फिजिसियन भएकाले जुनियर डाक्टरलाई ‘पोजिटिभ इनर्जी’ दिनुपर्छ मैले । कोरोनालाई परिवार आउन, भेट्न नपाउने ‘क्रुल डिजिज’ भन्छु म त । त्यसकारण बिरामीले हामीलाई बढी विश्वास र भरोसा गरेका हुन्छन् । उनीहरूको रेखदेख हाम्रो दायित्व हो । अस्पताल भर्ना भएका बिरामी डिस्चार्ज हुँदा हामीलाई थप उत्साह मिल्छ ।

रोग लाग्दैमा आत्तिहाल्नुहुँदैन । धेरैलाई निको पनि भएको छ । युवा र पुरानो रोग नभएकालाई केही हुन्न भन्नेचाहिँ छैन । वृद्धवृद्धा र पुरानो रोग भएकालाई छिटो संक्रमण हुन्छ र उनीहरु बढी जोखिममा छन् ।

नेप्लिज डक्टर्स एसोसिएसन यूकेले पनि हालै जानकारीमूलक लिफ्लेट सार्वजनिक गरेको छ, त्यो अनुसरण गर्नुस् । तपाईंहरु सबै बेलायत सरकारको सल्लाह मानेर नियमित हात धुनुहोस् । जमघट नगर्नुहोस् । मानवीय संकटको बेला वरपरका असक्त, वृद्धवृद्धालाई पनि रेखदेख गर्नुस् ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनुस्, मानसिक स्वास्थ्यको ख्याल गर्नुस्, आफूलाई बिजी राख्ने गर्नुस्, कोरोनाका आधिकारिकबाहेक समाचार धेरै नहेर्नुस्, यति मरे उति मरे भनेर गणना नगर्नुस् । रोग लागे पनि स्वास्थ्य हुनुहुन्छ भने नियन्त्रण हुन्छ तर समय लाग्छ । यसमा धैर्यता आवश्यक छ । सबैजना घरैमा बसेर कोभिड १९ नियन्त्रणमा सहयोग गर्नुस्, हाम्रो त्यही अपिल छ ।

प्रस्तुति: नवीन पोखरेल

प्रकाशित : चैत्र १७, २०७६ १६:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×