कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतमा अलपत्र नेपाली भन्छन्- ‘रोगले भन्दा भोकले मर्ने भयौं’

मोहन शाही

डोटी — कोरोना भाइरस (कोभिड- १९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन अवधि बढाएपछि भारतबाट स्वदेश आउने क्रममा रहेका र त्यहाँबाट आउन लागेका सयौं नेपाली अलपत्र परेका छन् ।

भारतमा अलपत्र नेपाली भन्छन्- ‘रोगले भन्दा भोकले मर्ने भयौं’

भारतको राजस्थान राज्यका विभिन्‍न क्षेत्रमा काम गर्ने नेपाली स्वदेश फर्कने क्रमा बीच बाटोमै अलपत्र परेका छन् । तीमध्ये डोटीका मात्रै ८५ जना रहेका छन् ।

आफूहरूलाई स्वदेश फर्किने वातावरण बनाइदिन उनीहरूले नेपाल सरकारसँग आग्रह गरेका छन् । कोरोना रोगले भन्दा पनि भोकले मर्न लागेकाले चाँडो उद्दार गरिदिन उनीहरूले आग्रह गरेका छन् ।

‘मार्च २२ तारेखसम्म भारतमा पहिलो लकडाउन घोषणा भएको थियो, हामी २३ तारेखमा नेपाल फर्कने तयारीसाथ कोठाबाट जोधपुरमा जम्मा भएका थियौं,’ राजस्थानको जोधपुरबाट डोटीको केआईसिंह गाउँपालिका ७ का दीपक बेलालले भने, ‘चार बस रिजर्भ गरेर नेपाल फर्कने योजना थियो तर भारत सरकारले २१ दिन लकडाउन थप गरेपछि साथीहरू न घर जान पाए न डेरामै फर्कन सके ।’

होटलमा काम गर्ने बेलालको जोधपुर घण्टाघर नजिकै रहेको कोठामा १० नेपालीले आश्रय लिइरहेको उनले जानकारी दिए ।

खानेकुरा सकिन थालेको र साँघुरो कोठामा सुत्ने ठाउँसमेत नपुग्दा कष्टकर बन्दै गएको उनले बताए । अहिलेसम्म होटल मालिकले खानेकुराको व्यवस्था गरेको भए पनि लकडाउनको समय लम्बिँदै जादा झन् समस्या हुन् उनले बताए ।

बेलालले भने, 'एउटै कोठामा १५-२० जना बस्न बाध्य छौं । बाहिर निस्कनै सकिँदैन प्रहरीले लखेट्छ । हामी रोगले भन्दा पनि भोकले मर्ने भयौं ।’

राजस्थान प्रदेश सरकारले आइतबारबाट बाटोमा अलपत्र परेकालाई घर फर्काउन प्रदेशभित्र सिटीबस संचालन गरेको छ । ‘राजस्थान प्रदेश सरकारसँग हामीले नेपालसम्म पुर्‍याइदिन आग्रह गर्‍यौं, सरकारले प्रदेश भित्र मात्र लग्न सकिने कुरा गरेको छ’, केआईसिंह ७ नितेश बिष्टले भने, ‘नेपाल सरकारले कूटनैतिक पहल गर्ने हो भने हामी सुरक्षित नेपाल आउन पाउने थियौं ।''

नेपाल आएर मापदण्डअनुसार क्वारेन्टाइनमा बस्न तयार रहेको उनीहरूले बताएका छन् ।

प्रकाशित : चैत्र १७, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?