कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमणको त्रासमा स्वास्थ्यकर्मी

३९ जना डाक्टरको दरबन्दी भएको डडेलधुरा अस्पतालमा सात जना मात्रै काममा
डाक्टर भन्छन्, ‘बिसञ्चो भए फोनबाटै सोध्नु, अस्पताल आउनु पर्दैन’
डीआर पन्त

(डडेलधुरा) — अजयमेरु गाउँपालिकाका हरिदत्त भट्ट सामान्य ज्वरो आएपछि डडेलधुरा अस्पताल पुगेका थिए । कोभिड–१९ संक्रमण त्रासका कारण सुनसान रहेको अस्पतालमा भेटिएका एकजना चिकित्सकले उनलाई जाँच गरेपछि अस्पताल आउनुभन्दा आफूलाई भएको समस्या टेलिफोनबाट सोध्न आग्रह गरे । 

‘डाक्टरको अवस्था दयनीय थियो,’ भट्टले भने, ‘झर्को मान्दै जाँच गरे र गाउँघरका अरुलाई पनि फोनबाटै सोध्न भनिदिनु होला भने ।’ धेरै समस्या भयो भने मात्र अस्पताल आउन डाक्टरले भनेको उनले सुनाए ।

दुई डाक्टरद्वारा राजीनामा

डडेलधुरा अस्पतालमा करारमा नियुक्त भएका दुई डाक्टरले राजीनामा गरेका छन् । कोरोना संक्रमणको त्रासका कारण उनीहरुले राजीनामा गरेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका मेसु डा. जगदिशचन्द्र बिष्टले भने पारिवारिक कारणले राजीनामा गरेको दाबी गरे । केही साताअघि मात्र नियुक्त भएका दुवै चिकित्सकले साताअघि राजीनामा गरेको उनले जानकारी दिए ।

३९ जना डाक्टरको दरबन्दी भएको डडेलधुरा अस्पतालमा अहिले आठ जना मात्रै छन् । त्यसमा पनि एकजना सुत्केरी बिदामा छिन् ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सुविधासम्पन्न भनिएको डडेलधुरा अस्पतालको स्थिति हो यो । पहाडी जिल्लाको केन्द्रमा रहेको डडेलधुरा अस्पताल सरकारले दुई वर्षअघि घोषणा गरेको देशका सुविधासम्पन्न पाँच वटामध्ये एक हो । अस्पतालमा अहिलेसम्म कोरोना संक्रमितको उपचार गर्दा चिकित्सकले प्रयोग गर्ने विशेष पहिरन, जाँच गर्ने किट्स र अन्य कुनै पनि सुविधा छैनन् । केही थान पीपीई दुई दिनअघि आइपुगेको अस्पतालले जानकारी दिएको छ । प्रदेश सरकारले अन्य अस्पतालहरूलाई चार दिनअघि विशेष बजेट दिए पनि डडेलधुरा अस्पतालले पाएको छैन ।

‘जाँच गर्दा प्रयोग गर्ने केही थान कपडा र नमूना संकलन गर्ने केही किट्सबाहेक अरु पुरानै अवस्था हो, कोरोनाको लक्षण भएका बिरामी आए जाँच गर्ने व्यवस्था मिलाइएको छ,’ मेसु बिष्टले भने, ‘छुट्टै फिभर क्लिनिक पनि सञ्चालन गर्ने तयारीमा छौं ।’ नमूना संकलन गर्ने सामग्रीको तयारी पनि भएको उनले जानकारी दिए । बिरामीको चाप नहुँदासम्मका लागि सामग्री रहेको, चाप निकै बढ्यो भने मात्रै समस्या आउनसक्ने उनले बताए ।

प्रकाशित : चैत्र १५, २०७६ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?