१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

क्‍वारेन्टाइनमा राखिएकाहरू भन्छन्, ‘थुनुवाजस्तो भयौं’

एउटै कोठामा सात जना राखेको, खाना राम्रो नभएको गुनासो
मेनुका ढुंगाना

(अछाम) — सदरमुकाम मंगलसेनमा क्‍वारेन्टाइनमा राखिएकाहरूले सुरक्षित महसुस हुने वातावरण नभएको गुनासो गरेका छन् । उनीहरूले खाना र खाजाको व्यवस्था पनि राम्रो नभएको बताए । ‘एउटै कोठामा सातवटा बेड छन्, दुई बेडबीचको दूरी थोरै छ, यसले त हामीलाई झनै जोखिम भयो,’ क्‍वारेन्टाइनमा रहेका रामरोशन–७ का तपेन्द्र बोहराले भने । 

क्‍वारेन्टाइनमा राखिएकाहरू भन्छन्, ‘थुनुवाजस्तो भयौं’

साबिकको कृषि विकास कार्यालय भवनमा क्‍वारेन्टाइन बनाइएको छ । भारतबाट आएका ५३ जना यहाँ छन् । उनीहरूले आफू थुनिएजस्तो लागेको बताए । पहिले प्रयोग नभएको भवनलाई हतारहतार क्‍वारेन्टाइन बनाउँदा व्यवस्थापन राम्रो नभएको उनीहरूले बताए ।


एउटै भवनमा नौ जना महिलासहित बालबालिकालाई राख्दा असहज भएको क्‍वारेन्टाइनमै रहेकी चौरपाटी ५, लुंग्राकी ममता खड्काले बताइन् । ‘चर्पीमा चुकुलसमेत छैन । शौच गर्न धेरैजसो जंगलमा जान्छन् । ओढ्ने–ओछ्याउने पनि पर्याप्त छैन,’ उनले भनिन् ।


क्‍वारेन्टाइनमा बसेका ५३ जनालाई नै खाना खुवाइरहेका नामसिंह धामीले अरू कसैले जोखिम मोल्न नमानेपछि आफूले जिम्मा लिएको बताए । ‘निश्चित दूरीमा राखेर खाना खुवाउनुपर्ने हो, त्यस्तो हुन सकेको छैन,’ उनले भने, ‘सेनिटाइजर र मास्क प्रयोग गरेर क्‍वारेन्टाइन स्थलमै खाना पकाएर खुवाउने गरेको छु ।’


जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले दिनमा दुईपटक आलोपालो गरेर क्‍वारेन्टाइनस्थलमा स्वास्थ्य जाँच गरिरहेका छन् । क्‍वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अछामका स्वास्थ्य कार्यालय प्रमुख झनकराज ढुंगानाले जानकारी दिए ।


प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सम्बन्धित स्थानीय तहको जिम्मा लगाउँदा बीचबाटोमै हराउने सम्भावना भएकाले मंगलसेन नगरपालिकाको समन्वयमा सदरमुकाममै क्‍वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको बताए । ‘धेरैपछि गाउँमा फर्किने भएकाले भेटभाट गर्न गाउँ घुम्ने सम्भावना धेरै हुन्छ । त्यसैले क्‍वारेन्टाइनमा राखेका हौं । क्‍वारेन्टाइनस्थल व्यवस्थित बनाउँदै छौं ।’

प्रकाशित : चैत्र १४, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?