३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चाडपर्वको छैन रौनक

तृप्ति शाही

बैतडी — चैते दसैं नजिकिएपछि घर फर्किनेहरूको ओइरो लाग्थ्यो । देशपरदेशमा रहेका धेरै नेपाली यसपाला पनि दसैंको तीन/चार दिनअघि मात्र घर फर्किने योजनामा थिए । तर, कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखी दसैं आउन दुई साता बाँकी छँदै घर फर्किनेको लर्कोले सीमा नाका अस्तव्यस्त छ । उनीहरू दसैं मनाउने भन्दा पनि कोरोना संक्रमणकै चिन्ता रहेको बताउँछन् । 

बैतडीमा चैते दसैं भव्य हुन्छ । यहाँका निङलासैनी लगायतका प्रसिद्ध मठमन्दिरहरूमा हजारौंको उपस्थितिमा धुमधामका साथ पूजाआजा र मेला लाग्ने परम्परा वर्षौंदेखि चल्दै आएको छ । तर, यो वर्ष पूजा र मेला अनिश्चित भएको छ । चैत १९ मा चैते दसैं परेको छ । धेरैले हाललाई चाडपर्व मनाउनु मुख्य सवाल नभएको बताइरहेका छन् । ‘केही दिनपछि आउने विचार थियो तर कोरोनाको डरले चाँडै फर्केका हौं,’ बैतडीका स्थानीय धन विष्टले भने, ‘चैते दसैं र बिसु पर्व पनि कोरोनाले लैजाने भयो । यो समय पूजाआजाभन्दा पनि कोरोनाको संक्रमणबाट जोगिनु मुख्य सवाल हो ।’


दशरथचन्द नगरपालिका–२ को देहिमाण्डौमा लाग्ने चैते दसैं मेला रोक्न नहुनेमा कतिपयले जोड दिइरहेका छन् । उनीहरू देवीदेवताको पूजाआजामा कोरोनाको संक्रमण नहुने भन्दै पूजाआजा रोक्न नहुने तर्क गरिरहेको वडा नम्बर २ का अध्यक्ष रनबहादुर बोहराले बताए । त्यहाँ २० हजारभन्दा बढी भक्तालुको उपस्थिति हुने गरेको छ । दुई सयभन्दा बढी राँगाबोकाको बली चढ्ने मेलालाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता लागेको उनको भनाइ छ ।


तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा रहेका नेपाल–भारत आवतजावत हुने घाटहरू केही दिनअघिदेखि बन्द भएपछि सदरमुकामको सीमा नाका झुलाघाट भएरै धेरै नेपाल भित्रिरहेका छन् । घर फर्किनेहरूमा बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरू बझाङ, दार्चुला, डडेलधुरा, बाजुरा, अछाम तथा कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, डोल्पा घर भएकाहरू छन् । प्रदेश ५ का जिल्लाहरू बाँके, बर्दियाका बासिन्दा पनि झुलाघाटबाटै आइरहेका छन् ।


सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी सहायक निरीक्षक जगतबहादुर ऐरले दैनिक डेढ सयभन्दा बढीको संख्यामा विभिन्न जिल्लाका बासिन्दा आइरहेको बताए । उनका अनुसार रोजगारीको लागि भारतको पिथौरागढ, नयाँ दिल्ली, मुम्बईलगायतका ठाउँमा रहेकाहरू यही नाका भएर घर फर्किने गरेका छन् । सिगास गाउँपालिका–२ को च्वागढका नरेन्द्रसिंह ढाँट चार महिनाअघि मात्र पिथौरागढ गएका थिए । जेठ महिनातिर खेतीपाती लगाउने समयमा घर फर्किने सोचाइमा रहेका उनले कोरोनाको डरले चाँडै फर्किनु परेको बताए । भारतमा कोरोनाको डर बढेपछि आफ्नै गाउँमा फर्किएको मुगुका महेश विकले सुनाए ।


सीमामा बढाइयो सतर्कता

नेपाल आउनेहरूको भीड बढेपछि झुलाघाट नाकामा स्वास्थ्य सर्तकता बढाइएको छ । त्यहाँ स्थापना गरिएको हेल्थ डेस्कमा सुरुमा सीमित स्रोतसाधनका बीच दुई जना स्वास्थ्यकर्मी मात्रै थिए । अहिले झुलाघाटमा नेपाल प्रहरीले पनि हेल्थ डेस्क स्थापना गरेको छ । रेडक्रस र नेपाली सेना पनि नेपाल आउनेहरूको शरीरको तापक्रम नाप्न खटिएका छन् । आइतबारदेखि सशस्त्र प्रहरीले पनि पाँच जना स्वास्थ्यकर्मी जाँचका लागि पठाएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक अमित सिंहले बताए ।


शुक्रबार जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक पनि बसेको छ । समिति संयोजक रहेका प्रजिअ आनन्द पौडेलले जिल्लाका सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिसँग छलफल गर्दे कोरोनाबाट जोगिन सरकारले जारी गरेका निर्देशनहरूको कार्यान्वयन गर्न भनेका छन् ।

प्रकाशित : चैत्र १०, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?