पौडी खेलेरै सीमा पार

भारतबाट फर्किनेहरु ट्युबमाथि काठ बिछ्याएर, डुंगा, सुकेका काठमा तथा पौडी खेलेर महाकाली तर्दै नेपालतर्फ प्रवेश गरेका छन्
डीआर पन्त

डडेलधुरा — भारतमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा नेपाल फर्कनेहरूले सरकारले तोकेभन्दा बाहेकका सीमा नाकासमेत प्रयोग गरिरहेका छन् । महाकाली नदीपारि भारत उत्तराखण्ड राज्यको चम्पावत जिल्ला पर्छ । नेपालतर्फ डडेलधुराको भागेश्वर गाउँपालिको रुपाल क्षेत्र छ । भागेश्वरको पारि भारतको तामली नाकाबाट दुई दिनयता सयौं व्यक्ति जोखिम मोलेर ट्युबको सहारामा नेपाल भित्रिएका छन् । यसरी असुरक्षित रूपमा नेपाल भित्रिनेको संख्या डेढ हजारको हाराहारीमा हुन सक्ने स्थानीयको आकलन छ ।

पौडी खेलेरै सीमा पार

रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा रहेका नेपालीहरू ट्युबमाथि काठ बिछ्याएर, डुंगा तथा सुकेका काठ र पौडी खेलेर समेत महाकाली तर्दै असुरक्षित रुपमा नेपालतर्फ प्रवेश गरेका छन् । शुक्रबारबाट सुरु भएको यो क्रम शनिबार र आइतबार पनि जारी रह्यो । भारतमा दर्जनौंलाई कोरोना संक्रमण भएको पुष्टि भइसक्दा त्यहाँ कार्यरत नेपालीहरू स्वःस्फूर्त रुपमा स्वदेश फर्किएको सम्बन्धमा स्थानीय प्रशासन, स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर कुनै तयारी गर्न सकेका छैनन् । ‘स्थानीय प्रहरी चौकी र प्रशासनलाई महाकाली तरेर असुरक्षित रुपमा नेपाल भित्रिनेको संख्या बढ्दै गएको जानकारी गराउँदा पनि चासो राखेको छैन,’ स्थानीय उपेन्द्र जोराले भने, ‘पटक–पटक जानकारी गरायौं, प्रहरी टोली खटाउने तयारी गरिरहेको बताउने बाहेक चासो राखिएको छैन ।’


स्थानीय प्रशासनलाई भारतीय सीमाबाट अनधिकृत र असुरक्षित रूपमा नेपाल भित्रिरहेको जानकारीसमेत छैन । डडेलधुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले महाकाली क्षेत्रबाट अनधिकृत रूपमा नेपालीहरू आएकोबारे जानकारी नभएको बताए । उनले भने, ‘सबै नाका बन्द छन्, यस विषयमा जानकारी छैन ।’ उनका अनुसार डडेलधुरा प्रहरीको एक टोली आइतबार दिउँसो मात्रै रुपालको महाकाली सीमानाकातर्फ खटाइएको छ । ‘कुनै पनि अवस्थामा यसप्रकारका अवैध नाका सञ्चालन हुन दिँदैनौं,’ उनले भने, ‘त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।’ महाकालीमा वैध नाका छैनन्, न त सीमा क्षेत्रमा कुनै हेल्थ डेस्क नै । असुरक्षित रुपमा नेपाल भित्रिनेको संख्यालाई हेरी यसबारे सम्बन्धित निकायले समयमै आवश्यक प्रकृया अवलम्बन तथा सतर्कता अपनाउनुपर्ने स्थानीहरू बताउँछन् ।


‘स्वास्थ्य जाँच नगरी पठाइयो’

शनिबार रातिसम्म भारतका विभिन्न सहरबाट डडेलधुरा सदरमुकाम आइपुगेकाहरू आइतबार आफ्नो घरतर्फ लागेका छन् । ‘तीन दिनको कठिन यात्रापछि यहा पुगेका हौँ,’ भारत गुजरातको सुरतबाट फर्किएका तल्लो स्वराड मेलौलीका धर्मसिंह नायकले भने, ‘सुरतबाट मात्रै ४२ जनाको टोली घर फर्केका हौं ।’ उनीहरू कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका हुन् । भारतबाट फर्किनेहरूको संख्या हजारौं भएकोले नाकामा स्वास्थ्य जाँच नगरिएको उनको भनाइ छ । ‘कसैले जाँच गरेन, सीमामा स्वास्थ्यकर्मी भए पनि हजारौं व्यक्ति एकैपटक पुगेका कारण कसैको पनि स्वास्थ्य जाँच हुन सकेन ।’ पाँच वटा जिप रिजर्भ गरेर आइतबार बिहानै उनीहरू भागेश्वरको बगरकोट हुँदै तल्लो स्वराड क्षेत्रतर्फ लागेका छन् । घर फर्किनेमा महिला र बालबालिकाको संख्या पनि उल्लेख्य छ ।


आइतबार बिहानै गड्डाचौकी नाका भएर घर फर्किन लागेका यात्रुहरू । तस्बिर : भवानी भट्ट/कान्तिपुर

तराईका जिल्लाहरू कैलाली, कञ्चनपुर हुँदै डडेलधुरा भएर सुदुरपश्चिमका अन्य पहाडी जिल्ला जानेहरूको संख्या शनिबार १० हजारभन्दा बढी रहेको ट्राफिक प्रहरीको अनुमान छ । ‘डडेलधुराको स्याउलेमा रहेको ट्राफिक प्रहरीको तथ्यांकअनुसार शुक्रबार, शनिबार र आइतबार बिहान गरी ४ सयभन्दा बढी सवारी साधनमा भारतमा रोजगारीका लागि गएका नेपालीहरू भित्रिएका छन्,’ जिल्लाका ट्राफिक प्रहरी प्रमुख सई देवबहादुर खत्रीले भने । उनका अनुसार यो संख्या शुक्रबारको तुलनामा शनिबार र आइतबार बढेको छ । शुक्रबार रातिदेखि नै सवारी साधन रिजर्भ गरेर डडेलधुरा हुँदै डोटी, अछाम, बाजुरा, दार्चुला, बैतडी र बझाङ जानेको घुइँचो लागेको उनले जानकारी दिए ।


छैन पर्याप्त तयारी

स्थानीयमा कोरोना भाइरसको सम्भावित संक्रमणको त्रास रहेका बेला जिल्लामा आवश्यक सतर्कता र प्रभावकारी तयारी देखिएको छैन । स्वास्थ्यकर्मी, उनीहरूलाई उचित प्रशीक्षण र आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता न्यून छ ।


एक स्वास्थ्यकर्मीले भने, ‘गाउँका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीसमेत त्रासका कारण गाउँ छोडेर सदरमुकाम केन्द्रित हुन थालेका छन् ।’ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समन्वय तथा सतर्कता टोलीले कोरोना संक्रमणबारे सार्वजनिक अपिल गर्नुबाहेक अरु कुनै तयारी गरेको देखिँदैन ।


जिल्लामा नवदुर्गा गाउँपालिका र परशुराम नगरपालिकाबाहेक अरु स्थानीय तहले पनि यस सम्बन्धमा खासै तयारी गरेको देखिँदैन । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर हरि भट्टले डडेलधुरा अस्पतालमा ११ बेड क्षमताको आइसोलेसन कक्ष बनाइएको जानकारी दिए । उनले भने, ‘जिल्लामा भएको साधनस्रोत प्रयोग गरेरै तयारी गरिएको हो ।’ भारतका विभिन्न शहरबाट घर फर्कनेबाट संक्रमण भित्रिए स्वास्थ्यकर्मी, मास्क, सेनिटाइजर, किट्सलगायत सामग्रीको व्यवस्था छैन । भट्ट भन्छन्, ‘संक्रमितको जाँच गर्दा, हेरचाह गर्दा चाहिने कुनै पनि सामान जिल्लामा छैन ।’ उनले सम्बन्धित निकायलाइ यस विषयमा जानकारी समेत गराएको बताए । उनले थपे, ‘जेजति साधनस्रोत स्वास्थ्य संस्थासँग छ, त्यसकै आधारमा मात्र तयारी गरिएको छ । जुन पर्याप्त छैन ।’


सदरमुकामसमेत रहेको अमरगढी नगरपालिकाले संक्रमित भेटिए क्वारेन्टाइनका लागि दुई वटा घर भाडामा लिएर तयारी गरिरहेको छ । अस्तव्यस्त रहेको डडेलधुरा अस्पतालको भर पर्नुभन्दा नगरपालिकाले आफ्नै किसिमले तयारी गरिरहेको जनाइएको छ ।

प्रकाशित : चैत्र १०, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?