पौडी खेलेरै सीमा पार

भारतबाट फर्किनेहरु ट्युबमाथि काठ बिछ्याएर, डुंगा, सुकेका काठमा तथा पौडी खेलेर महाकाली तर्दै नेपालतर्फ प्रवेश गरेका छन्
डीआर पन्त

डडेलधुरा — भारतमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा नेपाल फर्कनेहरूले सरकारले तोकेभन्दा बाहेकका सीमा नाकासमेत प्रयोग गरिरहेका छन् । महाकाली नदीपारि भारत उत्तराखण्ड राज्यको चम्पावत जिल्ला पर्छ । नेपालतर्फ डडेलधुराको भागेश्वर गाउँपालिको रुपाल क्षेत्र छ । भागेश्वरको पारि भारतको तामली नाकाबाट दुई दिनयता सयौं व्यक्ति जोखिम मोलेर ट्युबको सहारामा नेपाल भित्रिएका छन् । यसरी असुरक्षित रूपमा नेपाल भित्रिनेको संख्या डेढ हजारको हाराहारीमा हुन सक्ने स्थानीयको आकलन छ ।

रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा रहेका नेपालीहरू ट्युबमाथि काठ बिछ्याएर, डुंगा तथा सुकेका काठ र पौडी खेलेर समेत महाकाली तर्दै असुरक्षित रुपमा नेपालतर्फ प्रवेश गरेका छन् । शुक्रबारबाट सुरु भएको यो क्रम शनिबार र आइतबार पनि जारी रह्यो । भारतमा दर्जनौंलाई कोरोना संक्रमण भएको पुष्टि भइसक्दा त्यहाँ कार्यरत नेपालीहरू स्वःस्फूर्त रुपमा स्वदेश फर्किएको सम्बन्धमा स्थानीय प्रशासन, स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर कुनै तयारी गर्न सकेका छैनन् । ‘स्थानीय प्रहरी चौकी र प्रशासनलाई महाकाली तरेर असुरक्षित रुपमा नेपाल भित्रिनेको संख्याबढ्दै गएको जानकारी गराउँदा पनि चासो राखेको छैन,’ स्थानीय उपेन्द्र जोराले भने, ‘पटक–पटक जानकारी गरायौं, प्रहरी टोली खटाउने तयारी गरिरहेको बताउने बाहेक चासो राखिएको छैन ।’


स्थानीय प्रशासनलाई भारतीय सीमाबाट अनधिकृत र असुरक्षित रूपमा नेपाल भित्रिरहेको जानकारीसमेत छैन । डडेलधुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले महाकाली क्षेत्रबाट अनधिकृत रूपमा नेपालीहरू आएकोबारे जानकारी नभएको बताए । उनले भने, ‘सबै नाका बन्द छन्, यस विषयमा जानकारी छैन ।’ उनका अनुसार डडेलधुरा प्रहरीको एक टोली आइतबार दिउँसो मात्रै रुपालको महाकाली सीमानाकातर्फ खटाइएको छ । ‘कुनै पनि अवस्थामा यसप्रकारका अवैध नाका सञ्चालन हुन दिँदैनौं,’ उनले भने, ‘त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।’ महाकालीमा वैध नाका छैनन्, न त सीमा क्षेत्रमा कुनै हेल्थ डेस्क नै । असुरक्षित रुपमा नेपाल भित्रिनेको संख्यालाई हेरी यसबारे सम्बन्धित निकायले समयमै आवश्यक प्रकृया अवलम्बन तथा सतर्कता अपनाउनुपर्ने स्थानीहरू बताउँछन् ।


‘स्वास्थ्य जाँच नगरी पठाइयो’

शनिबार रातिसम्म भारतका विभिन्न सहरबाट डडेलधुरा सदरमुकाम आइपुगेकाहरू आइतबार आफ्नो घरतर्फ लागेका छन् । ‘तीन दिनको कठिन यात्रापछि यहा पुगेका हौँ,’ भारत गुजरातको सुरतबाट फर्किएका तल्लो स्वराड मेलौलीका धर्मसिंह नायकले भने, ‘सुरतबाट मात्रै ४२ जनाको टोली घर फर्केका हौं ।’ उनीहरू कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका हुन् । भारतबाट फर्किनेहरूको संख्या हजारौं भएकोले नाकामा स्वास्थ्य जाँच नगरिएको उनको भनाइ छ । ‘कसैले जाँच गरेन, सीमामा स्वास्थ्यकर्मी भए पनि हजारौं व्यक्ति एकैपटक पुगेका कारण कसैको पनि स्वास्थ्य जाँच हुन सकेन ।’ पाँच वटा जिप रिजर्भ गरेर आइतबार बिहानै उनीहरू भागेश्वरको बगरकोट हुँदै तल्लो स्वराड क्षेत्रतर्फ लागेका छन् । घर फर्किनेमा महिला र बालबालिकाको संख्या पनि उल्लेख्य छ ।


आइतबार बिहानै गड्डाचौकी नाका भएर घर फर्किन लागेका यात्रुहरू । तस्बिर : भवानी भट्ट/कान्तिपुर

तराईका जिल्लाहरू कैलाली, कञ्चनपुर हुँदै डडेलधुरा भएर सुदुरपश्चिमका अन्य पहाडी जिल्ला जानेहरूको संख्या शनिबार १० हजारभन्दा बढी रहेको ट्राफिक प्रहरीको अनुमान छ । ‘डडेलधुराको स्याउलेमा रहेको ट्राफिक प्रहरीको तथ्यांकअनुसार शुक्रबार, शनिबार र आइतबार बिहान गरी ४ सयभन्दा बढी सवारी साधनमा भारतमा रोजगारीका लागि गएका नेपालीहरू भित्रिएका छन्,’ जिल्लाका ट्राफिक प्रहरी प्रमुख सई देवबहादुर खत्रीले भने । उनका अनुसार यो संख्या शुक्रबारको तुलनामा शनिबार र आइतबार बढेको छ । शुक्रबार रातिदेखि नै सवारी साधन रिजर्भ गरेर डडेलधुरा हुँदै डोटी, अछाम, बाजुरा, दार्चुला, बैतडी र बझाङ जानेको घुइँचो लागेको उनले जानकारी दिए ।


छैन पर्याप्त तयारी

स्थानीयमा कोरोना भाइरसको सम्भावित संक्रमणको त्रास रहेका बेला जिल्लामा आवश्यक सतर्कता र प्रभावकारी तयारी देखिएको छैन । स्वास्थ्यकर्मी, उनीहरूलाई उचित प्रशीक्षण र आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता न्यून छ ।


एक स्वास्थ्यकर्मीले भने, ‘गाउँका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीसमेत त्रासका कारण गाउँ छोडेर सदरमुकाम केन्द्रित हुन थालेका छन् ।’ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समन्वय तथा सतर्कता टोलीले कोरोना संक्रमणबारे सार्वजनिक अपिल गर्नुबाहेक अरु कुनै तयारी गरेको देखिँदैन ।


जिल्लामा नवदुर्गा गाउँपालिका र परशुराम नगरपालिकाबाहेक अरु स्थानीय तहले पनि यस सम्बन्धमा खासै तयारी गरेको देखिँदैन । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर हरि भट्टले डडेलधुरा अस्पतालमा ११ बेड क्षमताको आइसोलेसन कक्ष बनाइएको जानकारी दिए । उनले भने, ‘जिल्लामा भएको साधनस्रोत प्रयोग गरेरै तयारी गरिएको हो ।’ भारतका विभिन्न शहरबाट घर फर्कनेबाट संक्रमण भित्रिए स्वास्थ्यकर्मी, मास्क, सेनिटाइजर, किट्सलगायत सामग्रीको व्यवस्था छैन । भट्ट भन्छन्, ‘संक्रमितको जाँच गर्दा, हेरचाह गर्दा चाहिने कुनै पनि सामान जिल्लामा छैन ।’ उनले सम्बन्धित निकायलाइ यस विषयमा जानकारी समेत गराएको बताए । उनले थपे, ‘जेजति साधनस्रोत स्वास्थ्य संस्थासँग छ, त्यसकै आधारमा मात्र तयारी गरिएको छ । जुन पर्याप्त छैन ।’


सदरमुकामसमेत रहेको अमरगढी नगरपालिकाले संक्रमित भेटिए क्वारेन्टाइनका लागि दुई वटा घर भाडामा लिएर तयारी गरिरहेको छ । अस्तव्यस्त रहेको डडेलधुरा अस्पतालको भर पर्नुभन्दा नगरपालिकाले आफ्नै किसिमले तयारी गरिरहेको जनाइएको छ । प्रकाशित : चैत्र १०, २०७६ १०:३०

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘हल्ला होइन, सफाइमा ध्यान दिऊँ’

जितेन्द्र साह

विराटनगर — ‘पहिले बच्चाबच्चीलाई खाना खानुअघि हातमुख सफा गर्न भन्दा रिसाउँथे, अहिले साबुनपानीले हात नधोई खानेकुरा छुँदैनन्,’ विराटनगर भट्टाचोककी ६० वर्षीया राधा मण्डल भन्छिन् । कोरोना भाइरसको संक्रमणबाट जोगिनलाई अचेल हरेकले सरसफाइमा ध्यान दिइरहेकोमा खुसी लागेको उनले बताइन् । तर, शारीरिक स्वास्थ्यप्रति सचेत भए पनि अनेक हल्लाले तनाब दिने गरेको मण्डलको भोगाइ छ । उनले विपद्का बेला नानाथरीका भ्रम नफैलाउन आग्रह गरिन् ।


प्रहरीको १०० नम्बर डायल गरेर यस्ता बदमासीबारे जानकारी गराउनु पनि नागरिकको कर्तव्य भएको मण्डल बताउँछिन् । ‘वरिपरिका सबैलाई हल्ला सुन्नु भन्दा शरीर र घरको सफाइमा ध्यान दिन भन्छु,’ उनी भन्छिन्, ‘भीडभाडबाट बच्दा एवं हातमुख राम्ररी धोएमा संक्रमित नहुने डाक्टरले भनिसकेपछि बटुवाको कुरा वा सडके गफको पछि लाग्नु भएन ।’

आफ्नो हात, नाक र मुख सफा गरेर मात्र नहुने स्थानीय बाटा रोडका कपडा व्यापारी ५२ वर्षीय श्रीनारायण गुप्ताको बुझाइ छ। एक अर्काप्रति सहयोग एवं सद्भावको भावना राखेर अघि बढ्नु पनि उत्तिकै जरुरी रहेको उनी सुझाउँछन्। ‘यस्तो गम्भीर समस्यालाई खेलाँचीमा लिनु हुन्न, एक अर्कासँग सही सूचनाको आदानप्रदान गरौं, कसैलाई पनि फेक अडियो/भिडियो नपठाऔं,’ गुप्ता भन्छन्,‘सबैखाले आनीबानी स्वस्थ भएपछि यो अवस्थाको सहजै सामना गर्न सक्छौं ।’

हावादारी कुराको पछि नलागी अहिलेको स्थितिको कसरी सामना गर्ने होटल व्यवसायी ३६ वर्षीया सरिता तिमिल्सिनाको मुख्य चिन्ता हो । स्वस्थ दिनचर्याको अभ्यास यसका लागि जरुरी भएको उनी बताउँछिन् ।

‘यतिखेर निजी स्वार्थ वा मुनाफाको बारेमा सोच्नु हुन्न,’ विराटनगर देवकोटा चोक निवासी उनी भन्छिन्, ‘आफ्नो, परिवारजन, छरछिमेक एवं ग्राहकको स्वास्थ्यको ख्याल गर्ने समय पनि हो यो ।’ अन्य मुलुकको अवस्था हेर्दा नेपाली निकै भाग्यशाली रहेको र बच्ने मौका पाइरहेको तिमिल्सिनाको बुझाइ छ । ‘अहिलेसम्म हाम्रो देश यो भाइरसबाट सुरक्षित छ, एक जना पनि संक्रमित नहोउन् भन्ने हामी सबैले प्रयास गर्नुपर्छ,’ उनी भन्छिन् । १७ वर्षदेखि होटल सञ्चालन गर्दै आइरहेकी तिमिल्सिनाले अहिलेसम्म यस्तो अप्रत्यासित एवं कठिन परिस्थिति नभोगेको बताउँछिन् ।

‘यस्तो अवस्थामा आफू मात्र स्वस्थ र सफा भएर भएन, आफ्नो वरपर बस्नेको पनि स्वास्थ्य अवस्था राम्रो हुनुपर्‍यो,’ उनी भन्छिन्, ‘कोरोना भाइरसको संक्रमणले समाजमा सबैजना स्वस्थ रहनु जरुरी रहेको सन्देश दिन्छ ।’

‘म्यासेन्जर र ह्वाट्सएपमा पठाइने भ्रमित बनाउने खालको अडियो/भिडियो सन्देशलाई तुरुन्तै डिलेट हान्दिन्छु, अहिले यस्ता कुरा स्वस्थ दिनचर्याका लागि सबैभन्दा ठूलो बाधक हो,’ उनी भन्छन्, ‘यस्ता गलत सामग्री अरुलाई त पठाउनै हुन्न ।’ सभ्य बानीबेहोरा पनि जरुरी रहेको आचार्य बताउँछन् । ‘कोरोना संक्रमित नभए पनि सामान्य रुघा, ज्वरो लागेकाले पनि जथाभाबी खोक्ने, हाछ्युँ गर्ने र थुक्ने गर्नु भएन,’ उनी भन्छन्, ‘अहिले न चेते कहिले चेत्नु ?’

विराटनगर बसपार्क व्यस्थापन समितिका सहकोषाध्यक्ष सूर्य निरौलाले सारा ध्यान आफ्नो, यात्रु र कर्मचारीको सरसफाइमा रहेको बताउँछन् । उक्त समिति र विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले शुक्रबारदेखि बसपार्क परिसरमा यात्रु एवं कर्मचारीका लागि दुई ठूलो ड्रममा चौबीसै घण्टा पानी र धारासँगै ‘ह्यान्डवास’ राखेको छ ।

रोकथाममा स्थानीय तह उदासीन
ओखलढुंगा– कोरोना रोकथामका विषयमा यहाँका स्थानीय तहहरू केहीले सक्रिय रूपमा चेतनामूलक प्रचार गरिरहेका छन् । केही स्थानीय तह तुलनात्मक रूपमा सुस्त देखिएका छन् । खिजिदेम्बा गाउँपालिकाले सन्देशमूलक कार्यक्रम गरिरहेको छ । टोलटोलमा माइकिङदेखि, होर्डिङ बोर्ड, सूचना टाँस्ने लगायतका काम गाउँपालिकालेगरिरहेको छ । आतंकित नबनौं, उच्च सतर्कता अपनाऔँ भन्ने नारासहित गाउँपालिकाले प्रचार गरेको हो ।

मोलुङ गाउँपालिकामा केही वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयहरूमा कोरोना संक्रमणबाट बच्ने उपायहरूको बारेमा उक्त कार्यक्रम गरिएको हो । सिद्धिचरण नगरपालिकाले बजार सरसफाइलाई प्राथमिकतामा राखेको छ ।


'संक्रमणबाट बच्न सक्दो प्रयास गरिरहेका छौं’


कोरोना संक्रमणको सम्भावित जोखिमले जनमानसमा त्रास सिर्जना भएको छ । विभिन्न स्थानमा संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे सन्देशमूलक कार्यक्रम भइरहेका छन् । संकटको यो घडीमा सतर्क र सुरक्षित रहन स्थानीय तह, सरोकारवाला अनि सर्वसाधारण के गर्दैछन् ?

सीमावर्ती रानी नाका, विराटनगर विमानस्थल, एकीकृत भन्सार जाँच चौकी र बस पार्कमा हेल्थ डेस्क स्थापना गरेका छौं । २५ ठाउँमा साबुन पानीले हात धुने व्यवस्था गरेका छौं । संघसंस्थाहरू र महिला स्वास्थ्य स्वयंसेविकालाई बोलाएर एकीकृत रूपमा कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट बच्न अभियान सञ्चालनका लागि योजना बनाएका छौं । भारतबाट आउनेलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेका छौं । विदेशबाट आउनेहरूलाई विशेष निगरानी गर्ने योजना बनाएका छौं । विराटनगरस्थित सञ्चालित निजी अस्पताल सञ्चालकलाई बोलाएर छलफल गरेको र त्यो छलफलमा कोरोनाको संक्रमण फैलिएको अवस्थामा १/२ वटा अस्पताललाई विशेषज्ञ सेवा सञ्चालन गर्न छाडेर बाँकी सबै अस्पताललाई आइसोलेसन अस्पतालमा परिणत गरेर बिरामीको उपचार गर्ने सहमति भएको छ र त्यहीअनुसार अघि बढ्ने निर्णय गरेका छौं ।
– भीम पराजुली, प्रमुख, विराटनगर महानगरपालिका


कोरोना भाइरसको संक्रमणबाट बच्न घरको सरसफाइका साथै व्यक्तिगत रुपमा रुघाखोकी, ज्वरो लाग्न नदिनका लागि सुरक्षाका उपाय अपनाउनुका साथै खानपिनमा विशेष ध्यान दिइरहेका छौं । यी सावधानी परिवारका अन्य सदस्यलाई पनि अपनाउन लगाएका छौं । रुघाखोकी लागेका व्यक्तिको संसर्गमा नबस्ने, बस्नै परे तीन फिट दूरी बनाएर बस्ने र हाँछ्यु गर्दा र खोक्दा रुमालले वा कुहिनाले छोपेर अरुलाई असर नगरोस् भनेर सावधानी अपनाउनु अहिले सबैको लागि आवश्यक छ । विराटनगर महानगरपालिकाले वा सरकारले सार्वजनिक रूपमा सतर्कता अपनाउन चेतना जाग्रित गराउनु पर्‍यो । टोल विकास समितिहरूलाई कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि स्थानीयको घर–घरमा गएर सचेतना जगाउन परिचालन गर्न सक्नुपर्छ ।
– प्रा. डा. भेषप्रसाद धमला, नागरिक समाजका अगुवा


अहिलेसम्म हामीलाई कोरोना भाइरसको संक्रमणबाट जोगिने तरिकाबारे थाहा छैन । विराटनगर महानगरपालिकाबाट पनि यसबारे कुनै किसिमको जानकारी गराइएको छैन । रेडियो, टेलिभिजनमा साबुनपानीले हात धुन, मास्क लगाउन भनिरहेको जानकारी पाए पनि हामीजस्ता विपन्न परिवारलाई यो सबै व्यवस्थापन गर्न समस्या छ । स्कुल, कलेजहरू बन्द भएकाले घरमा टोलभरिका बालबालिकाहरू एकै ठाउँ भेला भएर खेल्ने गरेका छन्। एकै ठाउँ धेरै मानिस भेला हुनुहुँदैन रे । तर के गर्ने केटाकेटीलाई घरमा रुँगेर बस्न सकिँदैन। आफू बाहिर निस्केपछि उनीहरु टेर्दैनन् र घर बाहिर खेल्न गइहाल्छन् ।
– अजिम मियाँ, अटो रिक्सा सञ्चालक


रेडियो, टेलिभिजनमा कोरोनाको संक्रमणबाट जोगिने उपायबारे सुनेर त्यहीअनुसार साबुनपानीले हात धुने, घरबाहिर निस्किँदा मास्क लगाउने लगायतको सावधानी अपनाउने गरेका छौं । बालबालिकालाई पनि घरमै सावधानी अपनाएर बस्न लगाउने गरेका छौं । साप्ताहिक हाटबजार बन्द भएकाले हरियो तरकारी किनेर खान समस्या हुने भएको छ ।
– दीपा पोखरेल, गृहिणी, विराटनगर–२

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि कसैले हालसम्म सिकाउन आएका छैनन् । हामी आफैंले सुनेको भरमा साबुनपानीले हात धुने, भीडभाडमा नजाने र संयमित भएर बस्ने व्यवस्था घरमै मिलाएको छौं । साप्ताहिक हाटबजार बन्द भएकाले केही समस्या हुने भएको छ । दूरी बनाएर भए पनि तरकारी हटिया लाग्न दिएको भए हरियो तरकारीको अभाव हुने थिएन ।
– सीता आचार्य, गृहिणी, विराटनगर–३


स्कुल बिदाका कारण घरमै बसिरहेको छु । कक्षा १० बाहेकका परीक्षा सम्पन्न भएकाले कोरोना बिर्सिएर कपी परीक्षणको काम गरिरहेको छु । हामी स–परिवार घरमै छौं । घरबाट खासै बाहिर निस्किएका छैनौं । भीडबाट अलग छौं । कुनै काम गर्नेबित्तिकै साबुनपानीले हात धुँदैछौं । छिमेकीहरूलाई पनि यो कुरा सिकाइरहेका छौं ।
– दामोदर ढुंगेल, शिक्षक, काँकडभिट्टा


घरबाट बाहिर निस्किएको छैन । भीडभाडबाट सकभर जोगिने प्रयत्न गरिरहेको छु । साबुनपानीले नियमित हात धुने काम जारी छ । नयाँ मान्छेसँग बोल्दा अनिवार्य मास्क लगाउने गर्छु । हात मिलाउनु परे तत्काल सेनिटाइजर प्रयोग गरिहाल्छु । यति गर्न सक्दा पनि कोरोनाको संक्रमणबाट बच्न सकिन्छ भन्ने लागेको छ ।
– सीता श्रेष्ठ, गृहिणी, काँकडभिट्टा


आफू र आफ्नो परिवारको सुरक्षालाई ध्यानमा राख्दै मेडिकल मास्क प्रयोग गरेको छु । पटक–पटक साबुनपानीले हात धोइरहेको छु । म मात्रै होइन सिंगो परिवारलाई हात धुन प्रेरित गरिरहेको छु । स्थानीय छरछिमेकमा पनि यो सन्देश प्रवाह गरिरहेको छु । खासगरी मेरो पसलमा किनमेलका लागि आउने बालबालिका, दिर्घरोगी र बूढापाकालाई सुरक्षित रहन अनुरोध पनि गर्ने गरेको छु ।
– विमल महत, व्यवसायी, काँकडभिट्टा

होटल बन्द गरेर बसेको छु । घरबाहिर निस्किएको छैन । परिवारका सदस्यहरूलाई पनि विशेष काममाबाहेक बाहिर ननिस्किन भनेको छु । साबुनपानीले नियमित हात धुने काम त नियमित जसो नै छ । गाउँका कोही शंकास्पद बिरामी फेला परे चिकित्सकलाई तत्काल जानकारी गराउने गरेको छु ।
– प्रवीण भण्डारी, होटल व्यवसायी, काँकडभिट्टा

साबुनपानीले नियमित हात धुन्छु । परिवारका सदस्यलाई पनि हात धुन प्रेरित गर्छु । समूहमा बस्दिनँ । रुघाखोकी लागेको मान्छेको छेउमा जान्न । नियमित मास्क लगाएर बस्छु । उमालेको पानी मात्रै पिउँछु । चिसो वस्तुहरू सकभर खान्न । किनमेलमा जाँदा भिडबाट जोगिने प्रयत्न गर्छु ।
– सुनिता निरौला, गृहिणी, काँकडभिट्टा

प्रस्तुति : देवनारायण साह (मोरङ) र पर्वत पोर्तेल (काँकडभिट्टा)

प्रकाशित : चैत्र १०, २०७६ १०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×