कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

औद्योगिक सर्वेक्षण सुरु

डीआर पन्त

डडेलधुरा — औद्यौगिक नीति निर्माण गर्न र यसका चुनौतीका विषयमा सरकारलाई जानकारी गराउने उद्देश्यले डडेलधुरामा एकीकृत बृहद राष्ट्रिय औद्योगिक सर्वेक्षण सुरु गरिएको छ ।

औद्योगिक क्षेत्रले मुलुकको समग्र अर्थतन्त्रमा पुर्‍याएको योगदान, सिर्जना गरेको रोजगारी, औद्योगिक क्षेत्रका समस्या, चुनौती, उत्पादनको अवस्था र उद्योगहरूको स्थितिलगायत विषयमा तथ्यांक संकलन हुनेछ ।


‘सुदूरका पहाडी जिल्लामा पनि सर्वेक्षण सुरु गरिएको छ,’ तथ्यांक कार्यालय डडेलधुराका प्रमुख चन्द्रबहादुर पालले भने, ‘हरेक १० वर्षमा हुंँदै आएको सर्वेक्षण यसपटक भने भिन्न तरिकाले हुन थालेको हो ।’ डडेलधुरा र बझाङमा सुरु भएको सर्वेक्षणका विषयमा जानकारी दिन बिहीबार डडेलधुरामा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा प्रमुख पालले भने, ‘औद्योगिक क्षेत्रका चारमध्ये तीनवटा क्षेत्रलाई पहिलोपटक सर्वेक्षणमा समावेश गरिन थालिएको छ ।’


उनका अनुसार खानी तथा उत्खनन्, विद्युत् उत्पादन, प्रसारण तथा वितरण, पानीको आपूर्ति र फोहोर व्यवस्थापन जस्ता क्षेत्रलाई पहिलोपटक औद्योगिक सर्वेक्षणमा समावेश गरिएको छ । सर्वेक्षणमा यसअघि समावेश नगरिएका तीन वटा क्षेत्रहरूमा बिस्तारै लगानी बढ्न थालेको, रोजगारी सिर्जना हुन थालेको र कुल गार्हस्थ उत्पादन (जीडीपी) मा योगदान दिन सक्ने सम्भावना बढेका कारण समावेश गरिएको छ । देशभरमा गत आर्थिक वर्षमा सञ्चालनमा रहेका साना तथा ठूला सबै उद्योग र प्रतिष्ठानहरूको तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, व्यवस्थापनसंँगै प्रकाशन र प्रशारण गरी अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदानको मापन गरिनेछ ।


तथ्यांक विभागका अनुसार नीति निर्माता, योजनाविद्, उद्योगपति, अनुसन्धानकर्ता तथा अन्य प्रयोगकर्तालाई सहजताका साथ हरेक तथ्यांक उपलब्ध गराइनेछ । प्रमुख पालका अनुसार डडेलधुरा र बझाङमा सर्वेक्षण गर्न विभागले साढे दुई महिनाको समय तोकेको छ । उनले भने, ‘सर्वेक्षणबाहेक तथ्यांक प्रशोधन गर्न लाग्ने ६ महिनाभित्र सबै नजिता प्रकाशित हुनेछन् ।


राष्ट्रिय सर्वेक्षणले सरकारी निकाय र अनुसन्धानकर्तालाई मात्र नभई उद्योगका क्षेत्रमा लगानी गर्न इच्छुक उद्योगपति, लगानीका क्षेत्र पहिचान गर्न चाहने र नयाँ उद्यमीका लागि मार्गदर्शनसमेत हुने विज्ञहरूले बताएका छन् । जिल्लामा पहिलोपटक हुन थालेको उक्त सर्वेक्षणले आर्थिक क्षेत्रमा धेरै ठूलो परिवर्तन ल्याउने आशा उद्योगी व्यवसायीहरूले गरेका छन् । यसबाट ठूला उद्योगको मात्र गणना हुने, राज्यका अधिकतम सुविधा ठूला उद्योगपतिले पाउने, ठूला उद्योगलाई फाइदा हुने खाले नीति बन्नेजस्ता समस्याबाट समग्र उद्योग क्षेत्रले मुक्ति पाउने एक उद्योगीले बताए ।


२०२२ सालमा पहिलोपटक नेपालमा औद्योगिक गणना सुरु भएको हो । साढे पाँच दशकपछि एकीकृत रुपमा चारवटै क्षेत्रलाई समावेश गरेर सर्वेक्षण सुरु भएको हो । यसअघि विभागले उत्पादनमूलक क्षेत्रलाई मात्र समेटेर सर्वेक्षण तथा गणना गर्दै आएको थियो । नेपालले अहिलेसम्म विभिन्न समयमा गरी १० पटक ठूला उद्योग तथा प्रतिष्ठानको गणना गरिसकेको छ ।

प्रकाशित : चैत्र ७, २०७६ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?