२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

वेतबाँस काट्न घुइँचो

गणेश चौधरी

टीकापुर — वेतबाँस काट्न पुगेका उपभोक्ताका कारण कैलालीको सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा मेला लागेजस्तै देखिएको छ । सामुदायिक वनले एक महिनाका लागि वेत काट्न खुला गरेसँगै उपभोक्तको भिड लागेको हो ।

वेतबाँस काट्न घुइँचो

दैनिक करिब तीन सयको संख्यामा उपभोक्ताहरू वेत काट्न वन पुग्ने गरेको वन कार्यालयका कार्यालय सचिव देवीराम भण्डारीले बताए ।‘केही दिनअघिबाट वेत काट्न सुरु भएको हो,’ उनले भने, ‘धेरैजसो उपभोक्ताको मुख्य पेसा कृषि हो । अहिले फुर्सदको समय भएकोले उनीहरू वेत काटेर आर्थिक आम्दानीमा जुटेका हुन् ।’


सामुदायिक वनले प्रतिकिलो नौ रुपैयाँका दरले वेत काटेको ज्याला तोकेको छ । एक जनाले दैनिक एक क्विन्टलसम्म वेत काट्ने गरेका उनी बताउँछन् ।वेत काट्न जाँदा आकर्षक ज्याला पाइने भएकोले भारतमा ज्याला मजदुरी गर्दै आएकाहरू पनि यतिबेला घर फर्केका छन् । हालै मात्र घर फर्केका रामबहादुर जैशीले भारतमा काम गर्दाभन्दा वेत काटेर बढी आम्दानी हुने बताए । उनले भने, ‘वेत काट्ने समय भएपछि यता आएँ । कटाइ नसकुन्जेल यतै यही काम गर्छु ।’


सामुदायिक वनमा चार वटा प्लट बनाइ वेतबाँस रोपिएको छ । बर्सेनि एउटा प्लटको वेत कटानी गर्ने गरिएको छ । यो वर्ष करिब ५० हेक्टर क्षेत्रफलमा रहेको वनमा कटानी हुने उपभोक्ताहरू बताउँछन ।

वेत काटेवापत एक साताभित्र सामुदायिक वनले ज्याला दिने गरेको छ । बर्सेनि करिब ३५ लाख रुपैयाँसम्म कटानीमा खर्च हुने सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताए । ‘कटानीका लागि वनले धेरैलाई रोजगारी दिएको छ,’ उनले भने, ‘उपभोक्तालाई वेतबाँसबाट सामग्री बनाउने तालिम दिएर पनि रोजगार बनाएका छौं ।’


सत्ती कर्णाली सामुदायिक वनलाई नेपालको सबैभन्दा ठूलो वेत वन मानिन्छ । यहाँको वेत भारतमा पनि निर्यात हुने गरेको छ । अध्यक्ष साउदका अनुसार सामुदायिक वनले गत वर्ष करिब ११ सय क्विन्टल वेत भारत निर्यात गरेको थियो । यसबाट ७० लाख रुपैयाँ आम्दानी भएको उनले बताए ।

कर्णाली नदीको कटानमा परेको कैलालीको दक्षिणपूर्वी क्षेत्रको बालुवा मात्र थुप्रिने जमिनलाई स्थानीय उपभोक्ताहरूको पहलमा २०५१ सालमा वेतको वनका रुपमा विकास गरिएको हो ।


दुई सय ९८ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वनका करिब १३ सय उपभोक्ता छन् । वेतको बिक्रीबाट भएको आम्दानी यहाँको भौतिक विकास निर्माण र अन्य क्षेत्रमा खर्च गरिँदै आएको साउदले बताए । बाढीले क्षति पुर्‍याएका बेला बस्ने सेल्टरदेखि शिक्षा र स्वास्थ्यमा वनले विगत २५ वर्षदेखि लगानी गर्दै आएको उनको भनाइ छ ।


आयआर्जनका लागि तालिम


न्यून आय भएका उपभोक्ताहरूको रोजगारीका लागि वनले वेतबाट उत्पादन हुने फर्निचरका सामाग्रीहरू बनाउने तालिम पनि सञ्चालन गर्दै आएको छ । वेतबाँसका सामग्री उत्पादनका लागि यो वर्ष ५ लाख रुपैयाँ विनियोजन गरिएको वनका सचिव मनिराम ढुंगानाले बताए । उनले भने, ‘निशुल्क रुपमा दैनिक डेढ सय खाजा भत्ता दिएर तीन महिना तालिम दिइरहेका छौं ।’ उनका अनुसार वनले तालिमप्राप्त गर्नेलाई रोजगारीको ग्यारेन्टीसमेत गरेको छ ।


उनले भने, ‘कुर्सी, बास्केट, फूलदानी, डोकाजस्ता दैनिक प्रयोगमा आउने हलुका र टिकाउ सामग्री उनीहरूले आफैं बेचे पनि हुन्छ । अरु ठाउँमा बिक्री भएन भने वनले किनिदिने गरेको छ । जति सक्छौ बनाउनुस्, वनले किन्छ भनेका छौं ।’


उत्पादित सामग्री सामुदायिक वनले धनगढी, नेपालगञ्ज, काठमाडौमा बिक्री गर्छ,’ ढुंगानाले भने, ‘सुरुमा वेतबाँसका सामग्रीको बजार नभए पनि अहिले यसको माग बढ्दै गएको छ ।’ वेतका सामानहरू स्थानीय स्तरमा पनि र भ्रमणमा आउने पर्यटकहरूले पनि खरिद गर्ने गरेको वन अध्यक्ष साउद बताउँछन् ।

प्रकाशित : चैत्र ७, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?