कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

वडासचिवमा स्वास्थ्यकर्मी

मेनुका ढुंगाना

अछाम — अछामको चौरपाटी गाउँपालिका–७ मार्कुकी सुर्जा भुल छोरीको जन्म दर्ता गर्न वडा कार्यालय पुगिन् । तर, उनले वडासचिवलाई भेटिनन् । ‘सचिवको काम अरुले गर्न मिल्दैन भनेर फिर्ता पठाए,’ उनले भनिन्, ‘कार्यालय गएको २/३ दिनपछि मात्रै काम भयो ।’
वडा सचिवको जिम्मेवारी पाएका स्वास्थ्यकर्मी (हेल्थ असिस्टेन्ट) खेमराज बोगटी स्वास्थ्य चौकीमा थिए ।

एउटै कर्मचारीलाई दोहोरो जिम्मेवारी दिएपछि बोगटीलाई काम गर्न भ्याइनभ्याइ भएको हो । मार्कुकै रचना बोगटी स्वास्थ्य संस्थामा गइन् । तर स्वास्थ्यकर्मीलाई करिब ३ घण्टा कुर्नुपरेको उनले बताइन् । ‘जाँच गर्न आएको, सर त वडाको काममा जानु भएको रैछ । निकै बेर कुर्नु पर्‍यो,’ उनले सुनाइन्, ‘दिउँसो उपचार गराउन आएका बिरामीलाई गाह्रो छ ।’


वडा सचिव र स्वास्थ्य चौकीको दोहोरो जिम्मेवारीले कार्य सम्पादनमा समस्या भएको स्वास्थ्य चौकी इन्चार्ज बोगटीले बताए । ‘स्वास्थ्य चौकीमा बसेर औषधि दिने, सुइ लगाउने र जाँच गर्ने विषय पढियो । यता त जन्म दर्ता, विवाह दर्ता बनाउने कामसमेत गर्नु परेको छ,’ उनले भने, ‘दुईतिरको जिम्मेवारीले काममा समस्या निम्तिएको छ ।’ पञ्चदेवल विनायक नगरपालिकाका १० वडामध्ये ८ वटामा स्वास्थ्य चौकी इन्चार्ज वडासचिवको जिम्मेवारीमा छन् ।


२ वटामा वडासचिवको जिम्मेवारी कृषि प्राविधिकलाई दिइएको छ । प्राविधिक शिक्षा पढेर प्रशासनको कामकारबाही गर्नुपर्दा अन्योल भएको स्वास्थ्यकर्मीको गुनासो छ । ‘एकातिर गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ भन्ने नारा छ, अर्कोतिर वडा कार्यालयमा पञ्जीकरणको जिम्मेवारी दिइएको छ,’ पञ्चदेवल विनायक–४ का वडासचिव तथा स्वास्थ्य चौकी इन्चार्ज भूपेन्द्र अधिकारीले भने, ‘प्रशासन र कानुनको बारेमा हामीलाई जानकारी छैन । स्वास्थ्य चौकीमा समय दिन नसक्दा सेवा प्रवाहमा समस्या आएको छ ।’

स्वास्थ्यबाट दादुरा र रुबेलाको खोप लगाउने राष्ट्रिय अभियान चलेको र प्रशासन तिरबाट सामाजिक सुरक्षा भत्ता घरदैलोमा दिने अभियान चलेकाले दोहोरो चेपुवामा कर्मचारी परेको अधिकारीको भनाइ छ ।


नगर उपप्रमुख अम्बिका चलाउनेले कर्मचारी अभाव हुँदाहुँदै पनि लोक सेवामा माग गर्न अलमल भएको बताइन् । भन्छिन्, ‘नगरमा भएका कर्मचारी अन्य ठाउँमा समायोजन भएर गए ।’ करारका कर्मचारीलाई आर्थिक अख्तियारी दिन नमिल्ने भएकाले मात्रै स्वास्थ्यका स्थायी कर्मचारीलाई वडासचिवको जिम्मेवारी दिइएको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउँदले बताए । ‘वडामा पञ्जीकरणको सबै काम गर्न करारमा सहायक सचिव राखेका छौं,’ उनले भने, ‘स्वास्थ्यकर्मीलाई वडाको काममा त्यति भार परेको छैन ।’

प्रकाशित : चैत्र ५, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?