३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुत्केरी हुन महाकालीपारि

स्वास्थ्य केन्द्रमा डाक्टर नबस्दा ज्यान जोखिममा राखेर महाकाली तर्न बाध्य छन् सीमाका बासिन्दा 
तृप्ति शाही

(बैतडी) — सुत्केरी हुने मिति नजिकिएपछि उनलाई शर्मालीको स्वास्थ्य चौकी पुर्‍याइयो । शिवनाथ गाउँपालिका–१ की दुर्गा साउदलाई पोहोरको चैत राम्रैसँग सम्झना छ । शर्माली चौकीका स्वास्थ्यकर्मीले प्रसूति गराउन समस्या हुन सक्ने बताउँदै मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लैजान सल्लाह दिए । तर, केशरपुरमा डाक्टर नभएको साउदका आफन्तलाई थाहा थियो । 

सुत्केरी हुन महाकालीपारि

परिवारमा उनलाई सीमापारि भारतको लोहाघाट लैजाने योजना बन्यो । बाटो सजिलो थिएन । उनलाई बेथाले च्यापिसकेको थियो । महाकाली नदीमा डुंगाबाट तारेर पारि पुर्‍याइयो । यात्रामा निकै सास्ती भएपनि उनको सफल प्रसूति भयो । यतिबेला नानी हुर्किदै गरेको वर्षदिन हुन लागेको छ । ‘जिल्ला अस्पताल वा डडेलधुरा पुग्नुभन्दा पारिका अस्पतालमा पुग्न नजिक र खर्च पनि कम लाग्ने भएकाले हामी त्यो बेला उतै गयौं,’ साउद भन्छिन्, ‘दु:ख त भयो, तर के गर्नु मेलौलीमा डाक्टर बस्दैनन् ।’ आफूजस्तै गाउँका धेरै महिला सुत्केरी हुन महाकाली तरेर भारतीय अस्पताल नै जाने गरेको उनले बताइन् ।


सरकारले स्वास्थ्यमा लगानी बढाएको गाउँलेले खबरमा सुन्न पाए पनि नजिकका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी छैनन् । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १, २, ४ र ५ वडासँगै शिवनाथ गाउँपालिका–२ का गर्भवतीले सीमा नदी तरेर पारिकै अस्पताल नगई हुँदैन । वारि स्वास्थ्य चौकी नभएका होइनन् । भए पनि स्रोतसाधन र जनशक्ति अभाव छ । जिल्ला सदरमुकामकै अस्पतालमा पनि पर्याप्त संख्यामा स्वास्थ्यकर्मी छैनन् ।


तल्लो स्वराड क्षेत्रका गर्भवतीलाई जटिलता आए डुंगा वा ट्युबमा महाकाली तारेर भारतीय बजार चम्पावतका अस्पताल पुर्‍याउने गरिएको छ । स्थानीय चौकीका स्वास्थ्यकर्मीले जिल्ला अस्पताल वा डडेलधुरा अस्पताल लैजान सल्लाह दिन्छन् । गाउँलेलाई वारिभन्दा पारि पुग्दा नै सजिलो रहेको शिवनाथ–२ को शर्माली स्वास्थ्य चौकीकी अनमी कृष्णा चौधरीले बताइन् । ‘पारिका अस्पतालमा प्रसूति गराएका सुत्केरी यहाँका स्वास्थ्य चौकीमा घाउ सफा गर्न र सुई लगाउन आइरहेका हुन्छन् । हामीले त उता रेफर गर्ने कुरा भएन, नमिल्ने भएकाले गर्दैनौं पनि,’ उनी भन्छिन्, ‘यता दौडधुप गर्दागर्दै ज्यान जोखिममा पार्नुभन्दा महाकालीमा तरेर भए पनि उतै जानु ठीक भन्छन् ।’


तल्लो स्वराड क्षेत्रमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर बस्दैनन् । धेरै खर्च गरेर घण्टौं लगाएर जिल्ला अस्पताल, डडेलधुरा र तराईका अन्य अस्पताल पुग्नुभन्दा ज्यान जोखिममा राखेर महाकाली तर्न बानी परिसकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले सुनाए । यहाँका स्थानीयलाई पारि चम्पावत जान सहज छैन । पुल नहुँदा हिउँदमा ट्युब र बर्खामा डुंगा प्रयोग गर्नुपर्छ । चम्पावतमा सुविधासम्पन्न र विशेषज्ञ डाक्टरबाट सेवा पाइने भएकाले सुत्केरी मात्र नभएर अन्य जटिल प्रकारका बिरामीलाई पनि उतै लैजाने गरिएको स्थानीय बताउँछन् ।


‘अलि गाह्रो डेलिभरीको अवस्थाका महिला र गम्भीर बिरामीलाई पारि इण्डियाकै अस्पताल पुग्छन्,’ उनले भने, ‘सीमा आसपासका बासिन्दालाई पारि जान छिटो हुन्छ । हाम्रो स्वास्थ्य संस्था सुध्रिइसकेको छैन ।’ स्थानीय सरकारको जिम्मामा भएका स्वास्थ्य संस्थाले आधारभूत सेवा दिए पनि अलि जटिल अवस्थाका विरामीलाई उपचार गर्ने क्षमता नभएको उनले बताए । अहिले वडामा बर्थिङ सेन्टर स्थापना भएपछि पारि जानेको संख्या भने केही घटेको भए पनि स्वास्थ्यकर्मीको संख्या पर्याप्त हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन २५, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?