दुई तिहाई घरधुरी अँध्यारोमै

मनोज बडू

दार्चुला — जिल्लामा साढे ४६ मेगावाट विद्युत उत्पादन भए पनि दार्चुलाका दुई तिहाई घरपरिवार अँध्यारोमै रात काट्न बाध्य छन् । अपी हिमाल र नौगाड गाउँपालिकामा हालसम्म प्रसारण लाइनसमेत पुग्न सकेको छैन ।

दुई तिहाई घरधुरी अँध्यारोमै

‘हाम्रै गाउँमा साढे ८ मेगावाट विद्युत उत्पादन भएको छ, यसलाई विद्युत प्राधिकरणमा जोडिएको छ,’ नौगाड–६ धुलिगडाका विक्रमसिंह धामीले भने, ‘तर यहीँका बस्तीहरूमा बिजुली बलेको छैन ।’ स्थानीय बासिन्दाले प्रसारण लाइन विस्तारमा भइरहेको ढिलाइले विद्युत् सेवा उपभोग गर्न नपाएको गुनासो गरेका छन् । नौगाड–६ को अपर नौगाड जलविद्युत आयोजनाबाट उत्पादित साढे ८ मेगावाट विद्युत् बलाचमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नौगाड–५ र ६ मा बल्ल विद्युत्को पोल गाड्ने काम भइरहेको छ ।


व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा पनि विद्युत्को पहुँच छैन । झन्डै २६ हजार घरधुरी रहेको दार्चुलामा आठ हजार ६ सय मात्रै ग्राहक रहेको नेपाल विद्युत प्राधिकरणको दार्चुला वितरण केन्द्रले जनाएको छ । ग्रामिण भेगमा लघु जलविद्युतबाट विद्युतीकरण भएकाले एक तिहाईभन्दा बढी घरधुरीमा विद्युत पुगेको हुनसक्ने आकलन केन्द्रका प्रमुख दयाराम शाहले गरे ।


गत वर्षको ठेक्काअनुसार काम पूरा भएमा थप दुई हजार घरधुरीले विद्युत् सेवा लिन पाउने उनको भनाइ छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म एक तिहाइभन्दा बढी घरधुरीमा विद्युत् विस्तार हुने उनले दाबी गरे । ‘तीन वर्षभित्र विद्युतीकरण गर्ने सरकारको लक्ष्यअनुसार जिल्लामा गत वर्षबाट विस्तारको काम भइरहेको छ,’ उनले भने, ‘यहाँका सबै घरधुरीमा विद्युत् पुर्‍याउन ४८ करोड बजेट आवश्यक पर्ने अनुमान छ ।’


अपीहिमाल र नौगाड दुवै गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोड्ने गरी गत वर्षनै ठेक्का भए पनि काम पूरा भएको छैन । प्रसारण लाइन विस्तारमा अझै केही समय लाग्ने उनले बताए । पोल गाडिए पनि तार अभावका कारण काममा ढिलाइ भएको उनको भनाइ छ । ‘क्षेत्रीय कार्यालयमा तारको टेण्डर भइसकेकोले केही दिनमा प्रगति देखिने छ,’ उनले भने, ‘निर्माण व्यवसायीका कारण पनि काममा ढिलाइ भएको हो ।’


गत वर्षदेखि जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । अहिलेसम्म अपीहिमाल र नौगाड गाउँपालिका बाहेक जिल्लाका अन्य स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत वितरण भइरहेको दार्चुला वितरण केन्द्रले जनाएको छ । गत वर्षबाट जिल्लाका नौवटै स्थानीय तहमा १० करोड बजेट खर्चेर विद्युतीकरणको काम सुरु गरिएको थियो । शाहका अनुसार नगरपालिकातर्फ शैल्यशिखर, मालिकार्जुन, लेकम र महाकाली तथा गाउँपालिकातर्फ दुहु र व्यासका केही बस्तीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत सेवा पुगेको छ ।


चालु आवमा पनि जिल्लाका सबै स्थानीय तहमा ४० किलोमिटर मुख्य र ७२ किलोमटिर शाखा लाइन विस्तारका लागि टेण्डर आह्वान गरिएको छ । गत वर्ष मुख्य लाइन र यस वर्ष शाखा लाइन विस्तारलाई प्राथमिकतामा राखिएको उनले बताए । अघिल्लो वर्षभन्दा विद्युतीकरणको काम यो वर्ष तीव्र गतिमा भइरहेको उनको दाबी छ । प्राधिकरणले हरेक स्थानीय तहमा सात किलोमिटर क्षेत्रमा मुख्य लाइन तथा १५ किलोमिटर क्षेत्रफलभित्र शाखा लाइन विस्तार गर्दै छ ।


१५ प्रतिशत घरधुरीमा सौर्य उर्जा उपयुक्त

भौगोलिक विकटता र छरिएको बस्ती भएकाले जिल्लाका करिब १५ प्रतिशत घरधुरीमा विद्युत विस्तार गर्न कठिन रहेको केन्द्र प्रमुख शाहले बताए । उनका अनुसार सरकारको लक्ष्यअनुसार तीन वर्षभित्र सबै घरधुरीमा विद्युत् पुर्‍याउन असहज छ । केही बस्तीमा विद्युत विस्तार गर्न ठूलो लगानी गर्नुभन्दा वैकल्पिक उर्जाबाट विद्युतीकरण गर्नु सहज हुने उनको सुझाव छ । ‘विकटका बस्तीमा सौर्य उर्जा प्रणालीमार्फत विद्युत् पुर्‍याउनुपर्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन २३, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?