कैलालीमा परीक्षा तालिका परिवर्तन

गणेश चौधरी

टीकापुर — कैलालीका स्थानीय तहले परीक्षाको कार्यतालिका परिवर्तन गरेका छन् । संसारभर फैलिरहेको कोरोना भाइरसका कारण नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा लिइसक्‍ने सूचना गरे अनुसार परीक्षा कार्यतालिका परिवर्तन गरेका हुन् । 

टीकापुर नगरपालिकाले फागुन २८ गतेबाट वार्षिक परीक्षा सुरु गर्ने निर्णय गरेको छ। यसअघि चैत १६ गते गर्ने भनिएकोमा नयाँ तालिका अनुसार कक्षा ८ र एसईई बाहेकका परीक्षा फागुन २८ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन हुनेछन्। कक्षा ८ को परीक्षा चैत ६ गते बिहान र एसईई दिउँसो हुने जनाएको छ।


यसैगरी जानकी गाउँपालिकाले पनि परीक्षा फागुन २९ देखि सुरु गर्न थालेको छ भने कक्षा ८ को परीक्षा पनि फागुन २८ बाटै सुरु गर्न लागिएको शिक्षा अधिकृत कलम खड्काले बताए।


जोशीपुर गाउँपालिकाले फागुन २२ गतेदेखि चैत ५ सम्मको कार्यतालिका सार्वजनिक गरेको छ। जोशीपुर गाउँपालिका स्तरीय परीक्षा समितिका सचिव राजेशकुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा उक्त कुरा जनाइएको छ।


भजनी, लम्की चुहा नगरपालिकामा पनि परीक्षा तालिका परिवर्तनको तयारीको लागि छलफल भइरहेको जनाइएको छ। प्रकाशित : फाल्गुन २१, २०७६ १६:३२

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भारतमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, इराकमा १ को मृत्यु 

एजेन्सी

नयाँदिल्ली — भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २८ पुगेको छ । यसअघि ६ जनामा मात्रै देखिएको कोभिड-१९ बुधबार थप २२ जनामा भेटिएको भारतका स्वास्थ्यमन्त्री हर्षवर्द्धनले बताएका छन् । यीमध्ये केरला राज्यका ३ जना संक्रमित निको भएर घर फर्किसकेको उनले बताए ।


भेटिएका नयाँ संक्रमितमध्ये १६ जना राजस्थानको जयपुरमा भेटिएका हुन्। ती मध्ये १५ जना इटालियन र एक भारतीय रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उक्त समूह भारतमा छुट्टी मनाउन आएको र संक्रमित ती भारतीय बसका ड्राइभर रहेको स्वास्थ्यमन्त्री वर्द्धनले बताए।

अन्य ६ जना नयाँ दिल्लीको एकै परिवारमा भेटिएको हो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ६६ जनाको स्वास्थ्य परीक्षण गराइएको छ। उनीहरु सबैलाई नयाँ दिल्लीस्थित सफदरजङ अस्पतालको आइसोलेसनमा राखिएको छ।

यसैबीच,इराकमा कोभिड-१९को संक्रमणबाट एक जनाको मृत्यु भएको छ। इरानी स्वास्थ्य मन्त्रालयका अनुसार ६३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो। इराकमा ३२ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। इराकको राजधानी बगदादमा रहेका सबै विद्यालय र विश्‍वविद्यालयहरु १० दिनका लागि बन्द गरिएको छ।

वुहानबाट सुरु भएको कोभिड–१९ का कारण बुधबार दिउँसोसम्म ३ हजार २ सय ४ जनाको मृत्यु भएको छ भने ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। बुधबारसम्म चीनमा मात्रै २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ भने ८० हजार २ सय ८२ जनामा संक्रमण देखिएको छ।

चीनबाहिर सबैभन्दा बढी इटालीमा ७९ जनाको मृत्यु भएको छ। इटालीमा २ हजार ५ सय २ जनामा संक्रमण देखिएको छ। त्यस्तै इरानमा ७७ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ३६ जनाको संक्रमण देखिएको छ।

त्यस्तै दक्षिण कोरियामा ५ हजार ६ सय २१ जनामा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ।त्यस्तै बुधबार दिउँसोसम्म अमेरिकामा ९, जापानमा १२, फ्रान्समा ४, हङकङमा २ तथा स्पेन, थाइल्यान्ड, अस्ट्रेलिया, ताइवान, इराक, सान मारिनो तथा फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ।

प्रकाशित : फाल्गुन २१, २०७६ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×