कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बजार उठेपछि कटासे सुनसान

गणेश चौधरी

(टीकापुर) — नुनसँग घिउ साटेर जान्थे कटासे बजारमा पहाडको प्रेम बाँडेर जान्थे कटासे बजारमा पहिलेको जस्तो चहलपहल देखिँदैन अचेल व्यापारिक सम्बन्ध गाँसेर जान्थे कटासे बजारमा ।

अक्षर साहित्य प्रतिष्ठान कैलालीका अध्यक्ष धनराज अविरलले कैललीको पुरानो बजार कटासेबारे लेखेको मुक्तक हो यो । अविरलले मुक्तकमा भनेजस्तै अहिले जानकी गाउँपालिका–९ स्थित कटासे बजारको स्वरूप नै फेरिएको छ । सूर्यप्रसाद शर्मा कटासेका पुराना व्यापारी हुन् । दुई दशकमा उनीसँगै व्यापार गरेका धेरैले टीकापुर र लम्कीमा व्यापार सारे । उनले भने ३० वर्षदेखि यहीं किराना पसल चलाउँदै आएका छन् । शर्माले भने, ‘पहिले सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दालाई सामान बेचेँ । अहिले त मेरा ग्राहकहरू यहीं वरपरका बासिन्दा मात्रै हुन् ।’


कटासेमा अब ४/५ वटा मात्र पसल बचेका छन् । पहिलेका ठूला पक्की घरका भग्नावशेष मात्र बाँकी छन् । बजारसँगै यहाँको प्रहरी चौकी पनि सर्‍यो । सामुदायिक विद्यालय पनि खैरीफाँटामा सरेको छ । ‘पहिलेको कटासे बजार मान्छे हराउने थियो । अब त बजार नै रहेन,’ स्थानीय लक्ष्मी न्यौपानेले भनिन्, ‘प्रहरी चौकी पनि लम्की गयो । स्कुल पनि लम्कीमा छन् । लम्कीबाट एउटा निजी स्कुलको बस आउँछ । बसभरि विद्यार्थी लम्की पढ्न जान्छन् । सरकारी स्कुल पढ्नेहरू खैरीफाँटामा पुग्छन् ।’


कटासे पूर्वपश्चिम राजमार्ग बन्नुअघि व्यवस्थित बजार थियो । तत्कालीन कर्णाली अञ्चलका सबै जिल्ला र सेती अञ्चलका अछाम, बाजुरा, डोटीका बासिन्दाले यही बजारबाट दैनिक उपभोग्य सामानहरू किनमेल र ओसारपसार गर्थे । स्थानीयले पहाडबाट आउने बेला घीउ र जडीबुटी ल्याएर बिक्री गर्थे । कटासेबाट नुन र दैनिक उपभोग्यवस्तु लिएर फर्कन्थे । विगत सम्झँदै शर्माले भने, ‘पहिलेको कटासे देखेर व्यापार थालियो । अहिले त केही पनि रहेन । व्यापार पनि छैन, छोड्न पनि सकिएको छैन ।’ प्रभावशाली नेता नभएकाले कटासे क्षेत्रको यो हालत भएको स्थानीयको बुझाइ छ । ‘बलिया नेता भएका भए राजमार्गसित बजार जोडिन्थ्यो । मान्छेको ओहोरदोहोर चलिराख्थ्यो । बजार चम्किरहन्थ्यो,’ उनले भने । कर्णाली चिसापानी हुँदै पूर्व–पश्चिम राजमार्ग कटासे बजारभन्दा करिब ३ किलोमिटर उत्तरबाटै पश्चिम मोडिएको छ । राजमार्गसित नजोडिएपछि यहाँ सवारी साधन कम मात्रै आउने गरेका छन् । उनले भने, ‘कटासे बजारबाट पहिले बसहरू सोझै अहिले लम्कीमा रहेको विद्युत पावर हाउसनिर निस्कन्थे । बसहरू कर्णाली किनार हुँदै टीकापुर जान्थे ।’


कटासे बजारको उत्तरतर्फ राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाई आयोजनाको तीनवटा कुलाको इन्टेक छ । कटासेको पूर्वपट्टि कर्णाली किनारमा सामुदायिक वन छन् । यहींबाट स्थानीयले बस्तुभाउलाई घाँसपात र दाउराको जोहो गर्दै आएका छन् । बजारै नरहेपछि कटासेवासीको मुख्य पेसा कृषि बनेको जानकी–९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले बताए ।


उहिलेको कटासे बजार अहिले ओझेलमा परेको गाउँ बनेको छ । बरु कटासेभन्दा खैरीफाँटामा बढी चहलपहल हुने गरको छ । बाटोघाटो र बस्तीको विकाससँगै ठाउँठाउँमा बजार विस्तार भएपछि यहाँ किनमेल गर्न स्थानीयबाहेक कोही पनि आउँदैनन् । ‘कटासे बजार सकियो । अब त ठाउँठाउँमा बजार बनिसके,’ उनले उबेलाको कटासे स्मरण गर्दै भने, ‘नेपालका पहाडी जिल्लाबाट मात्र होइन भारतीयहरू कालाजादु, सर्कस देखाउन आउँथे । अब त कटासे बैंस हराएजस्तो भयो ।’

प्रकाशित : फाल्गुन १८, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?