बजार अनुगमन गर्दैनन् पालिका

मनोज बडू

दार्चुला — सदरमुकाम खलंगालगायत ग्रामीण क्षेत्रका बजारहरूमा म्याद नाघेका अखाद्य वस्तु छ्याप्छ्याप्ती भेटिन्छन् तर नियमन तथा अनुगमन गर्ने अधिकार पाएका स्थानीय तहले भने थाहै नपाएझैं गरिरहेको स्थानीयको आरोप छ । सदरमुकाममै ६ महिनायता बजार अनुगमन गरिएको छैन ।

बजार अनुगमन गर्दैनन् पालिका

यहाँका कतिपय व्यापारीले न्यून गुणस्तर र म्याद गुज्रेका खाद्य वस्तु बिक्री गर्दै आएको खलंगाकी मञ्जरी धामीले बताइन् । अधिकांश सर्वसाधारण उपभोग्य सामग्रीको गुणस्तर ख्याल गर्दैनन् । यसकारण पनि व्यापारीहरूले सर्वसाधारणको स्वास्थ्य र पैसामाथि खेलवाड गरिरहेको उनको आरोप छ । गुणस्तरमा प्रश्न उठाए पसलेले ‘चाहिने भए लैजानुस्, नत्र छोड्दा हुन्छ’ भन्ने गरेका उनले अनुभव सुनाइन् । ‘साहुजीले हाम्रो पसलबाट लिएको सामानले कसैलाई केही भएको छैन । तपाईंलाई के होला र भन्छन्,’ उनले भनिन्, ‘यहाँका धेरै पसलमा अखाद्य वस्तु खुला रूपमा खरिदबिक्री हुने गरेको छ ।’ उनले किन्न लागिएको सामग्री बनेको र उपभोग्य मिति नाघेको छ छैन भन्ने कुरा सोध्ने बानी सर्वसाधारणमा नभएको बताइन् । ‘गुणस्तरबारे त केही थाहै हुँदैन,’ उनले भनिन्, ‘बढी मूल्य पर्ने समान राम्रो र कम मूल्य पर्ने कमसल भन्ने धारणा छ ।’


दसैंअघि एक दिन मात्रै खलंगा बजारका केही पसलमा अनुगमन गरिएको थियो । अनुगमन क्रममा अधिकांश पसलमा म्याद नाघेका खाद्यवस्तु फेला परेका थिए । अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । प्रशासनले हालसम्म अखाद्य वस्तु बिक्री गर्ने व्यापारीलाई कारबाही भने गरेको छैन । कारबाही नहुने भएपछि अनुगमन गरिए पनि व्यापारीमा यसको असर नपरेको स्थानीय गुनासो गर्छन् । स्थानीय इन्द्रा बोहराले उपभोक्ता आफैं सचेत भए मात्रै व्यापारीको मनपरी घट्ने दाबी गरिन् । ‘अधिकांश खाद्यवस्तु भारतीय बजारबाट आउने भएकाले पनि अखाद्य वस्तुको मात्रा धेरै हुन्छ,’ उनले थपिन् ।


अनुगमन गर्ने निकाय चुप बस्दा व्यापारीको मनपरी बढेको महाकाली नगरपालिका–३ का केशवदत्त भट्ट बताउँछन् । ग्रामीण बजारमा म्याद नाघेका, कम गुणस्तर र मिसावट भएका उपभोग्य सामान आउने गरको उनको भनाइ छ । ‘अनुगमन नहुँदा कालोबजारी मौलाएको छ,’ उनले भने, ‘उपभोक्ता सचेत नभएसम्म व्यापारीको मनोमानी चलिरहने देखिएको छ ।’


पछिल्लो कानुनले स्थानीय तहलाई बजार अनुगमनको जिम्मेवारी तोकेको छ । तर स्थानीय तहका जनप्रतिनिधिहरूले अनुगमनलाई गति दिन सकेको छैनन् । बजारमा चिनजानकै र आफ्नै साथीभाइको पसल हुने भएकाले अनुगमन गर्न अप्ठ्यारो हुने गरेको जनप्रतिनिधि बताउँछन् । सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले विगतमा प्रशासनले बजार अनुगमन गर्दै आएको भए पनि हाल स्थानीय तहमा अनुगमनको अधिकार गएपछि ठप्प भएको बताए । यसअघि प्रशासनले दसैंतिहारका बेला सदरमुकाम र जिल्लाका मुख्य बजारमा अनुगमन गर्ने गरेको थियो ।

प्रकाशित : फाल्गुन १७, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?