कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

गाउँपालिकाद्वारा राष्ट्रपतिलाई नागरिक अभिनन्दन

मनोज बडू

दार्चुला — मालिकार्जुन गाउँपालिका–३ मडस्थित राष्ट्रको सातौधाम शैल्य मालिकार्जुन मन्दिरको पूजाका लागि यहाँ आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई मालिकार्जुन गाउँपालिकाले अभिनन्दन गरेको छ । हेलिकप्टरमार्फत आएकी राष्ट्रपतिले मालिकार्जुन मन्दिरमा १० मिनेट जति विशेष पूजा गरेकी थिइन् । 

गाउँपालिकाद्वारा राष्ट्रपतिलाई नागरिक अभिनन्दन

भगवान शिवका १२ ज्योतिर्लिङ्गमध्ये दोस्रो ज्योतिर्लिङ्ग मालिकार्जुनलाई मानिन्छ । यहाँका साथै सुदूरपश्चिम र भारत उत्तराखण्डका नागरिकले आराध्यदेवका रुपमा मालिकार्जुनको पूजापाठ गर्छन् । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा राष्ट्रपतिको भ्रमणले स्थानीय स्तरमा खुसीयाली छाएको छ । मन्दिरमा हरेक वर्ष असोज र नवरात्राभरी शिव र शक्तिको पूजा हुने गरेको मालिकार्जुन मन्दिरका मुखिया रुद्रसिंह धामीले बताए । नौरथा पर्वमा यस क्षेत्रका हजारौं भक्तजन मन्दिरमा पूजाका लागि सहभागी हुन्छन् । मालिकार्जुनको बासस्थान शैल्य शिखर पर्वतमा रहेको मन्दिरका मुखिया रुद्रसिंह धामीको भनाइ छ ।

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले दुर्गम जिल्ला र त्रिदेशीय सीमामा अवस्थित दार्चुलामा सीमा समस्या लगायतका स्थानीय नागरिकका थुप्रै समस्याहरु व्याप्त रहेको बताइन् । ती समस्याहरुको निराकरणका लागि हाम्रो सरकार काम गरिरहेको बताइन् । मुलुक संघीय संरचनामा आएदेखि तीन तहका सरकारहरु क्रियाशिल रहेका र तीनै तहका सरकारहरुले समयात्मक हिसाबले आफ्ना कार्यक्रमहरु सञ्चालन गरेर नागरिकले अपेक्षा गरेको विकासको प्रत्याभुति दिनुपर्ने उनको धारणा थियो ।

मालिकार्जुन मन्दिरलाई विशेष शक्ति पीठको रुपमा मानिने भएकाले सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचिमा राखेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए । दार्चुलाका विभिन्न सामरिक महत्व बोकेका शक्तिपीठ मन्दिरहरु ओझेलमा रहेका छन् यी शक्तिपिठहरुको संरक्षण गरी पर्यटक भित्र्याई आयआर्जनको स्रोत बनाउन पहल गरिरहेको र यसका लागि स्थानीय सरकारसित स्रोत नहुँदा ओझेलमा परेका छन् ।

सोही कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको आर्थिक समृद्धिका लागि प्रदेशभरिका सबै स्थानीय तहलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि एक स्थानीय तह एक नमुना कृषि गाउँ सञ्चालनमा ल्याएको बताए ।

राष्ट्रपति मालिकार्जुन मन्दिरको पूजाका यहाँ बेलामा शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको थियो । सार्वजनिक बिदा भएपछि यहाँ कार्यरत सम्पूर्ण कर्मचारी तथा विद्यार्थीहरु राष्ट्रपतिको दर्शनका लागि मालिकार्जुन मन्दिरमा बिहानै पुगेका थिए ।

हेलिकप्टरमार्फत पौने ११ बजे मालिकार्जुन मन्दिरमा ओर्लिएकी राष्ट्रपतिले स्थानीयको स्वागत लगत्तै मालिकार्जुन मन्दिरमा पूजा गरेकी थिइन् । त्यसपछि औपचारिक कार्यक्रममा सरिक भइन् । मालिकार्जुनको कार्यक्रम सकेर खानाका खानलाई दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्म पुगिन् । त्यसपछि बैतडीका लागि प्रस्थान गरेको दुर्गादल गुल्मले जनायो ।

विद्यालय प्रांगणमा हुने मञ्च कार्यक्रममा पञ्चकन्याहरु, स्थानीय कला संस्कृति, सगुन, झोडो, ढुस्को प्रदर्शन गरेका थिए । राष्ट्रपति भण्डारीसँगै सुदूरपश्चिम प्रदेशका प्रमुख सर्मिला त्रिपाठी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : फाल्गुन १५, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?