२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रूढिवादी परम्पराविरुद्ध बाल नाटक

डीआर पन्त

डडेलधुरा — विद्यालय उमेरका छात्राहरू महिलामाथि हुने घरेलु हिंसाबारे नाटक देखाइरहेका छन् । डडेलधुराको रुपालस्थित असिग्राम माविको वार्षिकोत्सव कार्यक्रममा मञ्चन गरिएको नाटकमा सोही विद्यालयकै छात्राहरू केही पुरुषको भूमिकामा थिए त केही महिलाको । 

रूढिवादी परम्पराविरुद्ध बाल नाटक

मञ्चनका क्रममा उनीहरूले गाउँघरमा महिलाले भोग्दै आएका कुरीति र रूढिवादी प्रथामात्रै देखाएनन्, त्यसमाथि धारिलो प्रहार पनि गरे । नाटकमा विद्यार्थीहरूले लेखनदेखि मञ्चनसम्म बलियो उपस्थिति देखाए । यस्ता सन्देशमूलक नाटक अहिले विभिन्न सांस्कृतिक कार्यक्रम, मेलाजात्रा तथा संघसंस्थाहरूको वार्षिकोत्सवमा मञ्चन हुँदै आएका छन् । जसले कुलत, दुर्व्यसन, मदिरा सेवनमा फसेका, धर्म र रूढिवादी परम्परामाथि प्रहार गर्छन् । यस्ता नाटकमा बालबालिका र किशोरकिशोरीकै बाहुल्यता रहने गरेको छ । जो समाजमा लोकप्रिय र प्रभावकारीसमेत बन्दै गएको बताउँछन् देउडा गायक तथा लेखक केशव पाण्डेय ।


केही समयअघिसम्म ग्रामिण क्षेत्रमा ऐतिहासिक, पौराणिक कथामा आधारित नाटक बढी रुचाइन्थ्यो । मानिसलाई नैतिक आचरणको सन्देश दिँदै मनोरञ्जन प्रदान गर्ने यस्ता नाटकको मञ्चन माओवादी द्वन्द्वका बेला पनि रोकिएन । जनचेतना र सामाजिक परिवर्तनका लागि उत्प्रेरणा दिने बाल नाटकले भने हिजोआज गाउँगाउँमा अभियानको रूप लिएको छ । ‘यो संगठित अभियान होइन । विद्यालय उमेरका पुस्ताको स्वतःस्फूर्त परिवर्तनको चाहना हो,’ पाण्डेयले भने, ‘उनीहरूले समाजमा रहेका गलत परम्परा र परिवर्तनको चाहनालाई अभियनयमार्फत प्रस्फुटित गरिरहेका छन् ।’


अहिले पनि समाजको संरचना रूढिवादी परम्पराविरुद्ध अभिभावक र समाजसँग खुलेर बोल्नसक्ने अवस्था छैन । असिग्राम माविमा कक्षा १२ मा पढ्दै गरेकी चित्रा जोशीले भनिन्, ‘हाम्रो चाहना र समाजको संरचनामा धर्ती–आकाश जस्तै फरक छ । रुढीवादी प्रथाबाट मुक्त हुन चाहने युवा पुस्ता र धर्मसंस्कृतिका नाममा हलचल नहुने अभिभावक पुस्ताबीच अहिले मौन युद्धको अवस्था छ ।’ छाउ बार्नैपर्ने मान्यता भएका अभिभावक र यो सामान्य शारीरिक प्रक्रिया मात्रै हो भन्ने बुझेकाहरूबीच मत बाँझिने गरेको उनको भनाइ छ । ‘छाउ मात्र होइन, यस्ता खाले सयौं प्रश्नको उत्तर खोज्दै परिवर्तनको चाहना प्रकट गर्ने माध्यम बनेका छन् यस्ता नाटक,’ उनले भनिन् ।


देखाउन धेरै साधनस्रोत नलाग्ने, सामान्य तयारी गरेर पनि समाजमा भइरहेका गलत परम्परालाई नाटकीय स्वरूप दिन सकिने भएकोले पनि यस्ता नाटकको आकर्षण र प्रभाव दुवै परेको बताउँछन् विद्यालयका प्रधानाध्यापक आरडी जोशी । ‘यसले अभिभावकलाई परिवर्तन हुन सहज पनि भएको छ भने नाटक विधा समाजमा जीवित राख्न मद्दत पुगेको छ,’ उनले भने । बालबालिकाले प्रकट गर्ने परिवर्तनको चाहनालाई अभिभावकले पनि सहज रूपमा ग्रहण गर्न सकेको उनको बुझाइ छ । नाटककै कारण मदिरा सेवनका कारण समाजमा हुने घरेलु हिंसा न्यून भएका उनले दाबी गरे ।


सत्यवादी हरिशचन्द्र, सत्यवान सावित्री, नल दमयन्ती, रामलीला, कृष्णलीला, महाभारतलगायत नाटक हेरेर हुर्केको पुस्ताले हाल समाजको नेतृत्व गरिरहेको छ । ‘परिवर्तन चाहने पुस्ता भने फोरजीको प्रयोग गरिरहेको छ,’ नेपाली विषयका प्राध्यापक बलराम पन्त भन्छन्, ‘दुवै पुस्तालाई समन्वय गरेर परिवर्तनका लागि गर्नुपर्ने प्रयास हुन नसकिरहेको अवस्थामा बालबालिकाले देखाउने गरेका यस्ता चेतनामूलक नाटकले समाजमा ठूलो भूमिका निर्वाह गरिरहेको छ ।’ समाजको भावी नेतृत्वमा आउन सक्ने विचलन रोक्न यस्ता सन्देशमूलक कला र अभिनय सार्थक हुने उनको तर्क छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?