दार्चुला-तिंकर सडक : ११ वर्षमा ४० किलोमिटर मात्रै ट्रयाक

निर्माण कम्पनी र आयोजना कार्यालय दुवैले बेवास्ता गर्दा एक सय ३० किमि लामो दार्चुला–तिंकर सडकको एक तिहाइ ट्र्याक पनि खोलिएको छैन
मनोज बडू

दार्चुला — विसं २०६५ मा दार्चुला सदरमुकाम खलंगादेखि एक दशकभित्रै तिंकर नाकासम्म सडक पुर्‍याउने लक्ष्य लिइएकोमा हालसम्म ४० किलोमिटर मात्रै ट्र्याक खोलिएको छ । २०६४ मा सर्भे गरिएको एक सय ३० किलोमिटर लामो उक्त आयोजनाको निर्माणकार्य सुरु भएको ११ वर्ष भइसक्दा एक तिहाइ काम पनि सकिएको छैन । बरु अघिल्लो वर्ष आयोजनाको समयावधि तीन वर्षका लागि थप गरिएको छ ।

दुई वर्ष अघिसम्म राताकाठा क्षेत्रसम्म खनिएको सडकको ट्र्याकले अहिले दार्चुलास्थित व्यास गाउँपालिकाको केन्द्र सुन्सेरालाई छोएको छ । सुन्सेरासम्म ४० किमि ट्र्याक खोलिए पनि दुहू गाउँपालिकाको केन्द्र हिकिलासम्मको १८ किमि सडकमा मात्र जिप गुड्छन् । दुहूको राताकाठा र गरमोरा भीरमा जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले यात्रुबाहक सवारी साधन चलाउन अनुमति दिएको छैन । यद्यपि सुन्सेरासम्म ट्याक्टर भने पुग्ने गरेका छन् । ‘उबेला दुई/तीन वर्षमै गाडीमा चढेर सदरमुकाम जान सकिने भन्दै सडकको सर्भे भएको थियो,’ व्यास गाउँपालिका–२ मालका रतनसिंह धामीले भने, ‘११ वर्ष भइसक्दा पनि ट्र्याक खोलिएको छैन । अहिले पनि महाकालीमा तुइन तरेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता छ ।’


दार्चुला–तिंकर सडक योजनाको काम थालिएपछि विभिन्न निर्माण कम्पनीलाई छुट्टाछुट्टै खण्डको ट्र्याक खोल्ने जिम्मेवारी दिइएको थियो । तर आयोजना कार्यालयले नियमित अनुगमन र नियमन तथा निर्माण कम्पनीले काम नगर्दा सडक आयोजना अलपत्र बनेको हो । आर्थिक वर्ष २०७१/०७२ मा दार्चुला–तिंकर सडकको सुन्सेरादेखि घाँटीबगडसम्मको ट्र्याक खोल्नेगरी अमर–सूर्य जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भयो । तर, उक्त खण्डको निर्माण प्रगति २० प्रतिशत पनि नपुगेको बताउँछन् आयोजना प्रमुख अच्युतविलास पन्त । ‘सुरुको वर्ष र गत वर्षको असारमा केही काम भए पनि त्यसबीचमा ठेकेदारले कामै गरेन,’ उनले भने ।


आयोजनाले संघ सरकारबाट चालु र सम्पन्न भएका अधिकांश योजनामध्ये सुरुदेखि नै बजेट विनियोजनमा प्राथमिकता पाउँदै आएको हो । तर, ठेकेदार र योजना कार्यालयको लापरबाहीका कारण निर्माण कार्य ठप्पप्रायः रह्यो । दुहू गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि चाँडो काम गर्न सम्बन्धित कार्यालयलाई दबाब दिएपछि सुन्सेरासम्म ट्र्याक खुल्न सकेको हो ।’ आयोजना कार्यालयले तिंकर खण्डलाई भन्दा कञ्चनपुरको ब्रह्मदेवदेखि खलंगासम्मको सडक (तल्लो खण्ड) लाई प्राथमिकता दिएर निर्माण कार्य गरिरहेको उनको आरोप छ । तीन वर्षअगाडि तत्कालीन तिंकर सडकलाई महाकाली करिडोरमा गाभिएको छ । ब्रह्मदेवदेखि तिंकरसम्मको चार सय २५ किलोमिटर लामो यो खण्ड सुदूरपश्चिमकै पहिलो उत्तर–दक्षिण जोड्ने मार्ग तथा त्रिदेशीय सीमा सडकसमेत हो । करिडोरमा गाभिएकै कारण माथिल्लो खण्ड (खलंगादेखि तिंकरसम्म) को निर्माण कार्य प्रभावित भएको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीको बुझाइ छ । ‘हाल तल्लो खण्डमा एक सय २५ किलोमिटर ट्र्याक खुलेको छ,’ उनले भने, ‘यसबाट आयोजना कार्यालयले पनि माथिल्लोभन्दा तल्लो खण्डलाई प्राथमिकता दिएको बुझिन्छ ।’


विस्फोटक पदार्थको अभावमा काम रोकिएको आयोजना कार्यालय र निर्माण कम्पनीले बताउँदै आएका छन् । ‘विस्फोटक पदार्थ नहुँदा तिंकर सडक (माथिल्लो खण्ड) निर्माणको काम ठप्प थियो,’ उनले भने, ‘हामीले हाइड्रोपावर कम्पनीसँग सापटी मागेर आयोजना कार्यालयलाई विस्फोटक पदार्थ उपलब्ध गराएका छौं ।’ अब पनि काम सुचारु नभए सरकारले आयोजना कार्यालय र निर्माण कम्पनी दुवैलाई कारबाही या कडाइका साथ परिचालन गर्नुपर्ने सुझाउँछन् बुढाथोकी ।


आयोजना कार्यालय र निर्माण कम्पनीका प्रतिनिधिले भने हाल काम जारी रहेको दाबी गरे । आगामी जेठभित्र पुरानो ठेक्काअन्तर्गत दार्चुलाको मालसम्मको काम सक्नेगरी ट्र्याक खोल्न सुरु गरिएको अमर–सूर्य जेभीका प्रतिनिधि संगम खड्काले बताए । अहिलेसम्म सडकको लेबल नमिलाई ट्र्याक खोलिएको थियो । त्यसैमा ग्रेड मिलान गरेर सवारी चल्नेगरी सडक बनाउन थालिएको उनको भनाइ छ । काममा ढिलाइ भएको भन्दै दार्चुलाको कोठेधारभन्दा माथिको ८७ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मेवारी नेपाली सेनालाई दिने तयारी भइरहेको आयोजना प्रमुख पन्तले बताए । ‘सडक विभागबाट तीन साताअघि फाइल तयार गर्नु भनेर मौखिक जानकारी आएको छ,’ उनले भने, ‘यसअघि तिंकर सडकको निर्माणको जिम्मेवारी सेनालाई दिनुपर्ने माग गर्दै रक्षा मन्त्रालयमा पनि फाइल पठाइएको छ ।’ उनका अनुसार महाकाली करिडोरलाई ‘गेम चेन्जर’ परियोजनामा राख्न राष्ट्रिय योजना आयोगमा प्रस्ताव समेत पठाइएको छ ।


आर्थिक, सामाजिकलगायत बहुआयामिक क्षेत्रमा विकास पु‍र्‍याउने योजनालाई गेम चेन्जर परियोजनाबाट सम्पन्न गर्ने सरकारको योजना छ । महाकाली करिडोर गेम चेन्जरमा परे आगामी वर्षदेखि सुरु भई पाँच वर्षमा निर्माण सकिने आयोजनाले जनाएको छ । ‘गेम चेन्जरमा परे दुई चरणमा गरी २०८३ सम्ममा सडक निर्माण पूरा हुनेछ,’ पन्तले भने ।


उनका अनुसार पहिलो चरणमा तीन वर्षमा ट्र्याकसँगै छेउछाउमा ग्याबिन जाली राखिसक्ने र १७ वटा पुल निर्माण गरिने छ । त्यसका लागि १७ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्च हुने अनुमान छ । दोस्रो चरणमा सबै सडक कालोपत्रेसँगै ३० वटा पुल निर्माण गर्न १४ अर्ब ६६ करोड बजेट खर्च हुने अनुमान छ ।


आयोजना प्रमुख पन्तले यसअघि महाकाली करिडोर सम्पन्न गर्न १८ अर्ब १६ करोड रुपैयाँ छुट्याइएको बताए । जसमध्ये अहिलेसम्म सवा अर्ब खर्च भइसकेको र हालकै अवस्थामा परियोजना सम्पन्न गर्न १४ अर्ब थप रकम आवश्यक पर्ने उनको भनाइ छ । प्रकाशित : फाल्गुन १५, २०७६ ०९:४७

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पढ्दै र कम्प्युटर सिक्दै आमाहरू

घनश्याम खड्का

(म्याग्दी) — सदरमुकाम बेनीको पश्चिम म्याग्दीखोला किनारमा उज्यालो बैकल्पिक विद्यालय छ । विद्यालयको ३ कक्षाकी नियमित विद्यार्थी हुन बेनी नगरपालिका–३ भकिम्लीकी ७० वर्षीया दिलमाया पुन । ३ वर्षअघि भर्ना भएर उनले पढ्न सुरु गरेकी थिइन् ।

‘कखरा, एबिसी र हिसाबका जोडघटाउ सिकें । भागा र गुणन गर्न अलि अप्ठेरो लागेको छ,’ उनले भनिन्, ‘यो उमेरमा पढ्न पाउँदा खुसी छु ।’ उनी विद्यालयकै जेठी विद्यार्थी हुन् ।

पुनमात्र होइन, पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीकी ६० वर्षकी रेनु मल्ल, मालिका–७ की ५० वर्षीया तुलकुमारी मल्ल, बेनीकी ५३ वर्षीया लालकुमारी सापकोटा, ५६ वर्षकी भुलमायाँ तिलिजा, ६० वर्षकै राधिका आचार्य र ४३ वर्षकी देवी सुवेदी विद्यार्थी हुन् । सुवेदी त एकघन्टा पैदल हिंडेर स्कुल पुग्छिन । ‘चार वर्षअघि ३ कक्षामा भर्ना भएर पढ्न थालेकी थिए अहिले ८ कक्षामा पुगे’ रेनुले भनिन, ‘सामान्य अंग्रेजी पनि जानेको छु । क्याल्कुलेटरमा भागा र गुणनको हिसाब पनि गर्छु । अझ ठूलो कुरा त कम्प्युटरमा आफ्नो नाम टाइप गर्न जानेको छु ।’ पढ्ने उमेरमा नपाएको र अहिले छोराछोरी हुर्केपछिको फुर्सद समयमा पढेर धोका मेटाएको बताउने उनी साना बालबालिकालाई पढाउन सक्ने हैसियत बनाएको भन्दै दंग छिन् ।

औपचारिक शिक्षाबाट वञ्चित वयस्कलाई शिक्षाको मूलधारमा ल्याउन सञ्चालित उज्यालो विद्यालयमा अहिले ९ कक्षासम्मको पढाइ हुन्छ । पढ्ने इच्छा भए उमेरले छेक्दैन भन्ने गतिलो अवसर विद्यालयले दिएको छ । विद्यालयमा १५ देखि ६० वर्ष समूहका ६८ आमा अध्ययनरत छन् । केही ६० वर्षमाथिका पनि छन् । नाम मात्र लेख्न सक्ने धोकाले पढ्न थालेका आमाहरूले अहिले नेपाली, अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै र कम्प्युटर पनि चलाउन सिकिरहेका छन् ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयको विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत ०७३ देखि विद्यालय सञ्चालनमा छ । ‘बाल्यकालमा भाइबहिनी स्याहार्न र किशोरावस्थामा गोठ स्याहार्दै बित्यो । उतिबेला पढ्न नपाएकाले दाँतमा ढुंगो लागेझै भएर पढ्न थालेकी’ ५६ वर्षकी भुनुमाया तिलिजाले भनिन्, ‘अनपढ हुँदा सामाजिक तथा राजनीतिक क्षेत्रमा पछि परेको महसुस पनि भयो ।’ उनी ९ कक्षामा पढ्छिन् ।

विद्यालयमा अक्षर चिन्न गएकालाई पहिलो तहमा, ३ कक्षा पढ्दै छाडेका दोस्रो तह र ५ कक्षासम्म पढेर विद्यालय छाडेकालाई तेस्रो तहमा राखेर पढाइन्छ । ५ कक्षामाथि पढ्ने आमाका लागि छुट्टै कम्प्युटर कक्षा थपिएको छ । ‘मागअनुसार ५ कक्षामाथिका आमा विद्यार्थीलाई कम्प्युटरको आधारभूत विषय पढाउँछौं,’ विद्यालयकी संयोजक रीता गर्बुजाले भनिन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×