जिल्ला अस्पतालमा अत्याधुनिक फिल्टर

कान्तिपुर संवाददाता

बझाङ — शुद्ध पिउने पानीको अभाव झेल्दै आएको जिल्ला अस्पताल बझाङमा ठूलो मात्रामा एकै पटक पानी शुद्धीकरण गर्नसक्ने अत्याधुनिक फिल्टर जडान गरिएको छ । 

जिल्ला अस्पतालमा अत्याधुनिक फिल्टर

फिल्टरको सहायताले पानीमा भएका ब्याक्टेरिया, भाइरस र अन्य हानिकारक तत्वलाई हटाउन सक्ने प्रविधि जडान गरिएको हो । खानेपानीको पाइपबाट आउने पानीलाई जम्मा गर्ने ट्याङकीमा जडान गरिएको यो फिल्टरले द्रुत गतिमा पानी शुद्धीकरण गरेर अर्को ट्याङकीमा पठाउने गर्छ । अर्को ट्याङकीबाट शुद्ध पिउने पानी सोझै धारामा पठाउने व्यवस्था गरिएको छ ।


‘फिल्टर जडान भएपछि अस्पतालमा हुने शुद्ध पिउने पानीको अभाव हटेको छ,’ जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दीप ओखेडाले भने, ‘यस फिल्टरले एक दिनमा दुई हजार लिटर पानी प्रशोधन गर्छ ।’ जर्मनीमा निर्मित यस फिल्टरले जस्तोसुकै फोहोर पानीलाई पनि क्षणभरमा शुद्धीकरण गरेर पिउन मिल्ने बनाउने भएकाले यसअघि जस्तो समस्या भोग्नुनपर्ने उनले बताए । स्वास्थ्य, शिक्षा, जनचेतना र मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हेयर नेपालले करिब ४ लाख ५० हजारको लागतमा पानी शुद्धीकरण गर्ने यो प्रणालीको स्थापना गरेको हो ।


अझै पनि बझाङको ग्रामीण बस्तीका बासिन्दाहरूले नदी र खोलाको पानी पिउने गरेका छन् । प्रदूषित पानीकै कारण उनीहरूलाई बारम्बार पानीजन्य रोगको संक्रमण हुने गरेको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् । यसै वर्ष यस्तै खालको फिल्टर अरु १० वटा ठाउँमा जडान गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष माधव जोशीले बताए । ‘धेरै मानिसहरू अहिले पनि असुरक्षित खानेपानी पिउने भएकाले झाडापखाला, आँउ, टाइफाइड जस्ता रोगको संक्रमणमा पर्ने गरेका छन्,’ जोशीले भने, ‘हामीले त्यस्ता बस्तीहरू पहिचान गरेर यसै वर्षभित्र पानी शुद्धीकरण गर्ने प्रविधि जडान गर्दै छौं ।’


उनले स्वास्थ्य संस्था, असुरक्षित पानी पिउन बाध्य रहेका बस्ती र विद्यालयहरूमा यो प्रविधि जडान गर्न लागिएको बताए । जर्मन नागरिकको सहयोगमा सञ्चालित यस संस्थाले यसै वर्ष बझाङका विभिन्न विद्यालयहरूमा बायोडिग्रडिबल तथा पुनःप्रयोग गर्न सकिने सेनिटरी प्याडहरू उपलब्ध गराउने कार्यक्रम रहेको अध्यक्ष जोशीले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?