१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्याराग्लाइडिङमा सरर...

मोहन शाही

डोटी — सेती नदी वरपरका बस्तीको जनजीवनबारे अध्ययन र अवलोकन गर्ने रुची उनलाई पहिलेदेखिकै हो । राजपुरका दिपेन्द्र शाहले विगत चार वर्षदेखि भागेश्वरदेखि दिपायलको सेती पुलबीचमा पर्ने सालमुनि, भागेश्वर, बासुधारालगायतका मठमन्दिर, चराचुरुङ्गीहरूका बासस्थान पटक–पटक चहारेका छन् । त्यो पनि सेतीमा जलयात्रा गरेर । आकाशबाट पनि दिपायलको सेरोफेरो अवलोकन गर्ने उनको धोको यसपटक डोटीमा चलिरहेको प्रादेशिक महोत्सवले पूरा गरिदिएको छ ।

प्याराग्लाइडिङमा सरर...

दिपायलको खुल्लेक डाँडाबाट प्याराग्लाइडिङमा उडेर विमानस्थल, डोटेली दरबार, सेती नदी, राजपुर, पिपल्लालगायत क्षेत्र नियाल्न पाएकोमा उनले खुसी व्यक्त गरे । ‘धित मर्नेगरी आकाशबाट दिपायल नियाल्न पाएँ,’ हर्षित देखिएका उनले भने, ‘प्याराग्लाइडिङको सररररर यात्रा, साहसिक र रोमाञ्चक दुवै भयो ।’


ओपन स्काई कम्पनी पोखराका दुईवटा प्याराग्लाइडिङले अहिले दिपायलमा नियमित रुपमा उडान गरिरहेका छन् । ‘र्‍याफ्टिङ र प्याराग्लाइडिङबाट डोटीमा आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ भन्ने पुष्टि भइसकेको छ,’ प्याराग्लाइडिङ उडानपछि पत्रकार कर्ण चन्दले भने, ‘दिपायलको दृश्य कति सुन्दर छ भन्ने कुरा आकाश र जल दुवैबाट हेर्न पाइयो ।’


यस वर्ष यहाँका धेरैले प्याराग्लाइडिङमा उड्ने चाहना पूरा गर्न पाएका छन् । डोटी चेम्बर अफ कमर्सले फागुन १ देखि सञ्चालनमा ल्याएको महोत्सवमा मुख्य आकर्षणका रुपमा प्याराग्लाइडिङ र र्‍याफ्टिङ सुरु गरिएको छ । यसअघि डोटी उद्योग वाणिज्य संघको समन्वयमा २०६७ मा खुल्लेक डाँडाबाटै प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । महोत्सवमा सर्वसाधारणले समेत उड्न पाउने गरी प्याराग्लाइडिङको सेवा दिइएको डोटी चेम्बरका सचिव तेज डुम्रेले बताए । उनका अनुसार दैनिक १५/२० जनाले यात्रा गरिरहेका छन् ।


‘दिपायल प्याग्लाइडिङका लागि उपयुक्त’

दिपायलको खुल्लेक डाँडा प्याग्लाइडिङका लागि उपयुक्त भएको बताउँछन् ओपन स्काईका पाइलट रोशन बस्नेत । ‘टेकअप गर्ने स्थानमा केही सुधार गर्नुपर्ने आवश्यकता छ, ल्यान्डिङ गर्न ऐयरपोर्ट भएकाले समस्या छैन,’ बस्नेतले भने, ‘न्यूनतम पाँचदेखि आठ मिनेटसम्म सहजै उडान गर्न सकिन्छ, सामान्यतया यसबाट आधा घण्टासम्म आनन्द लिन सकिन्छ ।’


दुई बजेपछि हावा चल्ने भएकाले त्यसभन्दा अगाडिको समय उपयुक्त रहेको अर्का पाइलट नविन बुढाले बताए । प्याराग्लाइडिङका लागि चाहिने प्राकृतिक संरचना दिपायलमा तयार नै भएकाले कुनै समस्या नरहेको उनको भनाइ छ । ‘महोत्सव स्थलमा प्याराग्लाइडिङबाट नै अबिर र फूलहरू चढाउन पाउँदा फरकमहसुस हुनुका साथै खुसी लागेकोछ,’ उनले थपे ।


नियमित सञ्चालन गर्न पहलप्रचारप्रसार गर्न सकियो भने नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने डोटी चेम्बरका सचिव डुम्रेले विश्वास व्यक्त गरे । उनले यसका लागि स्थानीय तह र प्रदेश सरकारसँग समन्वय भइरहेको जनाए । प्याराग्लाइडिङमा युवा, बालबालिकादेखि प्रौढ व्यक्तिहरूले समेत मनोरञ्जन लिइरहेका छन् । उडान भर्नेमा नेता, कर्मचारी, पत्रकार, सेना, प्रहरीसमेत छन् । सुरुमा एकपटकको उडान शूल्क एक हजार पाँच सय तोकिएको थियो । आकांक्षी बढेपछि साढे तीन हजारसम्म तिरेर प्याराग्लाइडिङबाट उडान भरेका आयोजकले जनाएको छ ।


चेम्बरले यहाँ दोस्रोपटक प्रादेशिक महोत्सवको आयोजना गरेको हो । व्यापार, पर्यटन र जलस्रोतबाट डोटीलाई समुन्नत बनाउन सहयोग पुगोस् भन्दै महोत्सव आयोजना गरिएको डोटी चेम्बरका अध्यक्ष खगेन्द्र साउदले बताए । महोत्सवले नेपाल भम्रण वर्षलाई समेत सघाउ पुग्ने उनको विश्वास छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?