कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘छाउगोठ छैन, डर पनि छैन’

हालसम्म ६ हजार छाउगोठ भत्काइएको अछामलाई फागुनभित्रै छाउगोठमुक्त जिल्ला घोषणा गर्ने तयारी
मेनुका ढुंगाना

ढकारी, अछाम — कहिले गाइगोरुसँगै त कहिले खेतबारीको कान्लामा । रातभर असहज र अनिँदै बस्नुपर्ने सास्तीबाट छुटकारा पाइने भएपछि ढकारी गाउँपालिका–१ का किशोरी दंग छन् । ढकारी–१ लाई आइतबार छाउगोठमुक्त घोषणा गरिएपछि उनीहरू खुसी भएका हुन् ।

‘छाउगोठ छैन, डर पनि छैन’

‘गोठमा जान्नँ, घरभित्रै बस्छु भन्दा गाउँसमाजकै बुढापाका विभिन्न किसिमका डर देखाउँथे,’ स्थानीय कविता बुढाले भनिन्, ‘विवाह गरिसकेपछि पनि देउता लाग्ने भन्दै नानाथरी डर देखाएपछि घरभित्र बस्न सकेकी थिइनँ । अहिले त गोठ पनि छैन । डर पनि छैन ।’ गुरुकुल मावि, ढकारीमा कक्षा १० मा पढ्ने निशा बुढा महिनावारी भएका बेला सुरक्षित रूपमा सबैसँग घरमै बस्नुपर्ने बताउँछिन् । ‘गाउँका महिलाहरूको स्वर छाउगोठविरुद्ध भए मात्रै रूढिवादी परम्परा अन्त्य हुने हो,’ उनले भनिन्, ‘अब त भत्काइएका छाउगोठ फेरि बनाउन दिन्नौं ।’


छाउगोठ परम्परा हटाउन बुढापाका र गाउँका अगुवाले आफ्नै घरबाट सुधार गर्नुपर्ने बताउँछिन् ढकारी–१ कि चन्द्रा नेपाली । ‘समाजमा अझै पनि ठूलाबडा र हुनेखानेले जे गर्‍यो, त्यही देखासिखी गर्ने चलन छ,’ उनले भनिन्, ‘स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी र नेताहरूका घरमा पहिले परिवर्तन हुनुपर्छ ।’ उनका अनुसार प्रहरी जनप्रतिनिधि र समाजका अगुवाले निरन्तर अनुगमन गरे परम्परादेखि जरा गाडेर बसेको छाउपडी मानसिकता भत्काउन गाह्रो हुँदोरहेनछ भन्ने यसपाला प्रस्ट भएको छ । नेपालीले भनिन्, ‘गोठ भत्काएर तामझामसाथ छाउगोठमुक्त वडा घोषणा गरिएको छ । अब फेरि जनप्रतिनिधिको घरमा छाउगोठ बन्नु भएन । समाज आफैं परिवर्तन हुनेछ ।’ पुरुषको सोचाइ र व्यवहारकै कारण छाउपडी कायम रहेको ढकारी–१ डुफाका मीन बुड्थापाको दाबी छ । ‘छाउगोठमा महिलाले दुःख भोग्छन् तर घोषणामा पुरुषले भाषण गर्छन् । हामी पुरुषले आमा, बहिनी, श्रीमतीलाई बुझाउन सक्नुपर्छ,’ उनले भने, ‘पुरुषहरू पनि समूहमा आबद्ध भएर अभियानमा जुट्नुपर्छ । गोठ भत्काएर घोषणा गर्नु त औपचारिकता मात्रै हो ।’ उनले छाउगोठलाई अन्य काममा उपयोग गर्ने नाममा नभत्काउने तर केही समयपछि महिलाहरू पुनः छाउगोठमै हेलिनुपर्ने बाध्यता रहेको बताए ।


छाउगोठ भत्काउने क्रममा कुनै पनि वडामा अवरोध नआएको ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले बताए । उनका अनुसार ८ वटा वडा रहेको ढकारीमा आठ सय छाउगोठ भत्काइएका छन् । सबै वडा छाउगोठमुक्त वडा घोषणा भइसकेकाले फागुन १४ मा गाउँपालिकालाई नै छाउगोठमुक्त घोषणा गर्ने तयारी गरिएको उनले सुनाए । जिल्लाका १० स्थानीय तहमध्ये कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाले छाउगोठमुक्त घोषणा गरेका छन् । अरु सात स्थानीय तह पनि छाउगोठमुक्त घोषणाको अन्तिम चरणमा छन् । अछाममा हालसम्म ६ हजार छाउगोठ भत्काएको प्रहरीले जनाएको छ । फागुन मसान्तभित्र छाउगोठमुक्त जिल्ला घोषणाको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । ‘गृह मन्त्रालयको परिपत्रपछि जिल्लामा अभियानले तीव्रता पाएको छ । अब जिल्लालाई नै छाउगोठमुक्त घोषणा गर्छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?