कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

महाकाली वारपार : गर्भवतीलाई ट्युबमा अप्ठ्यारो

भारततर्फ जान कम समय र खर्च लाग्ने भएकाले स्थानीय जोखिम मोलेरै नदी पार गर्छन् । घाँसदाउरा संकलन, दैनिक उपभोग्य सामग्रीकिन्न तथा गर्भवतीलाई प्रसूति सेवा लिनसमेत डुंगा र ट्युबमै राखेर वारपार गराइन्छ ।
तृप्ति शाही

बैतडी — महाकाली नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने बैतडीवासीहरू जोखिमपूर्ण रुपमा नदी तर्न बाध्य छन् । ज्यानकै बाजी लगाएर उनीहरू हिउँदमा डुंगा र वर्षामा ट्युब चढेर नदी वारपार गर्छन् ।

महाकाली वारपार : गर्भवतीलाई ट्युबमा अप्ठ्यारो

विशेषगरी पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का बासिन्दा, शिवनाथ गाउँपालिकाको २ नम्बर र दशरथचन्द नगरपालिकाको ६, ८ र १० नम्बर वडाका बासिन्दा पीडित छन् । नेपाली बजारभन्दा भारततर्फ जान कम समय र खर्च लाग्ने भएकोले स्थानीयले जोखिम मोलेरै नदी पार गर्ने गरेका छन् । घाँसदाउरा संकलन गर्न र दैनिक उपभोग्य सामग्री किन्न उनीहरू सीमावर्ती भारतीय बजार पुग्छन् । बिरामी हुँदा उनीहरूका लागिऔषधोपचार गर्ने थलो पनि उतै हो । प्रसूति सेवा लिनसमेत गर्भवतीलाई स्थानीयले डुंगा र ट्युबमै राखेर महाकाली तराउने गरेका छन् । ‘घाँसदाउरा काट्न, नुन, तेल, र दाल, चामल सबै किन्न उतै जानुपर्छ,’ पञ्चेश्वर–४ कि अमृता चन्दले भनिन्, ‘महिला दिदीबहीनीहरू त सुत्केरी हुन पनि उतै जान्छन् । यस्तो बेला कति अप्ठ्यारो हुन्छ होला ?’


महाकाली तर्न हिउँदमा भन्दा वर्षायाममा कठिन हुने उनले अनुभव सुनाइन् । ‘डर मानेर के गर्नु, विकल्प नभएपछि बाध्यता छ,’ उनले भनिन्, ‘हिउँदमा नदी घट्ने भएकाले डुंगा चढ्न पाएका छौं । बर्खाको उर्लदो भेलमा डुंगा चल्न सक्दैन । त्यसबेला ट्युबमा पारि तर्नुपर्छ । ट्युबबाट तर्न ज्यानकै बाजी लगाउनुपर्छ ।’


नदी तटीय क्षेत्रका दुई हजार पाँच सयभन्दा बढी घरधुरीलाई यस्तो बाध्यता रहेको ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) का कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । ‘वारिभन्दा पारि सस्तो, आउजाउ छिटो हुने भएकाले महाकाली किनारको बस्तीका बासिन्दा भारतीय बजार जान सजिलो मान्छन्,’ जोशीले भने । नेपाली बजार आउन आधा दिन लाग्ने तल्लोस्वराडवासीलाई जिल्ला अस्पताल आउन पनि एक दिनभरि नै लाग्छ । सदरमुकाम खलंगा पुग्न उनीहरूलाई १२ देखि १५ सय रुपैयाँसम्म खर्चनुपर्छ । यहाँका अधिकांश ग्रामिण क्षेत्रमा केही वर्षअघिसम्म सडकको पहुँच थिएन । अहिले क्रमशः सडक सञ्चालन हुँदै गए पनि गाडीहरू नियमित चल्दैनन् । फाट्टफुट्ट चल्ने सवारी साधन पनि पानी पर्दा ठप्प हुन्छन् । कच्ची सडक भएकोले भाडा पनि मनपरि लिने गरिएको स्थानीय गुनासो गर्छन् । यसकारण पनि महाकाली पारि जानुपरेको बताए पञ्चेश्वर–४, विनायकका वीरेन्द्र चन्दले ।


भारतीय बजार पुग्न नदी तरेर आधा घण्टा हिँड्यो भने प्रायः जुनसुकै समय गाडी पाइने उनको भनाइ छ । नदीपारि घना जंगल भएकाले तटीय क्षेत्रका बासिन्दा घाँसदाउरा ल्याउन उतै जाने गरेका छन् । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार भारतीय क्षेत्रका बजार र अस्पताल पुग्न डेढ सय भारतीय रुपैयाँ लाग्छ । त्यसमाथि नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीले नेपालीलाई दुःख दिने गरेका स्थानीय बासिन्दा बताउँछन् ।


एकपटक डुंगा र ट्युबबाट नदी पार गर्न प्रतिव्यक्ति ४० रुपैयाँ शुल्क लिने गरिएको छ । सधैंजसो वारपार गर्नेले वर्षको एकमुष्ट आठ सय रुपैयाँ बुझाउने गरेका छन् । एक जनासँग ५० किलोभन्दा बढी सामान भएमा थप ४० रुपैयाँ तिर्नुपर्ने नियम छ ।


पञ्चेश्वर र शिवनाथ गाउँपालिकाले महाकाली तर्न वर्षको एकपटक डुंगा खरिद गर्दै आएका छन् । यस वर्षदेखि लाइफ ज्याकेट पनि किन्ने तयारी गरिएको शिवनाथ गाउँपालिका अध्यक्ष साउदले बताए । यहाँका स्थानीयले धेरैजसो कुस्मतघाट र नागार्जुन घाटबाट नदी तर्ने गर्छन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?