कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दुर्घटनापछि जहिल्यै सडक अवरोध

क्षतिपूर्तिका लागि राजमार्ग अवरुद्ध गरिँदा यात्रुलाई सास्ती पुग्ने गरेको छ
गणेश चौधरी

(टीकापुर) — कैलालीको लम्कीमा गत माघमा ट्रकको ठक्करबाट स्थानीय रतन विकको मृत्यु भयो । मृतकका आफन्त र स्थानीयले क्षतिपूर्तिको माग गर्दै दुई दिनसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरे । अन्ततः ११ लाख रुपैयाँ क्षतिपूर्ति लिनेदिने सहमतिमा सडक अवरोध हट्यो ।

दुर्घटनापछि जहिल्यै सडक अवरोध

सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को दोस्रो संशोधनअनुसार मृतकका परिवारलाई तत्काल २५ हजार र तेस्रो पक्ष बिमाबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । तर कानुनी व्यवस्था विपरीत राजमार्ग अवरुद्ध गरी क्षतिपूर्ति माग्ने क्रम विगतदेखि नै चल्दै आएको छ ।


माघमै मोटरसाइकल दुर्घटनामा मृत्यु भएका लम्किचुहा नगरपालिका–६ का मायाराम चौधरीका आफन्तले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गदै राजमार्ग अवरुद्ध गरे । राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप नै भयो । मायारामलाई ठक्कर दिएको आरोप लम्कीका एम्बुलेन्स चालक कालुसिंह भुलमाथि लाग्यो । उनलाई पुर्पक्षका लागि १६ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरे पनि भुल दोषी देखिएनन् । अनुसन्धान जारी राखेको प्रहरीले मायारामलाई ठक्कर दिने ट्याक्टरको पहिचान गर्‍यो । ट्याक्टर र चालक पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए । उनले भने, ‘कपिलवस्तुमा त्यो ट्याक्टर र चालक फेला पार्‍यौं ।’


राहत तथा क्षतिपूर्ति पाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि राजनीतिक दलका स्थानीय नेताको उक्साहटमा राजमार्ग अवरुद्ध पार्ने काम हुने गरेको भट्ट बताउँछन् । उनले भने, ‘प्रहरीले आन्दोलनरतमाथि बल प्रयोग गर्दा झन क्षति हुने सम्भावना रहन्छ । महिला, बालबालिका तथा वृद्धवृद्धा पनि आन्दोलनमा हुन्छन् । त्यसैले सकभर सहमतिमै बाटो खुलाउने प्रयास हुन्छ ।’ कानुनमा व्यवस्था भएबमोजिम क्षतिपूर्तिबापतको रकम निकै कम रहेको भट्टको बुझाइ छ । ‘अहिलेको अवस्थामा मृतकका परिवारलाई कम्तीमा १० लाखसम्म हुनुपर्ने मेरो व्यक्तिगत विचार हो,’ उनले सुझाए ।


यात्रुलाई सधैं सास्ती


दुर्घटना भएपछि दुई/तीन दिनसम्म राजमार्ग अवरुद्ध गरिँदा यात्रुलाई सास्ती हुने गरेको छ । माघ १७ मा दाङ जाँदै गरेका धनगढीका प्रेम चौधरी पूर्वपश्चिम राजमार्गको लम्कीमा भएको सडक दुर्घटनापछिको आन्दोलनका कारण जाममा परे । साँझ दाङ पुग्नेगरी हिँडेका उनी मध्यरातमा मात्र गन्तव्यमा पुग्न सके । उनले भने, ‘कानुनी शासन नै भएन । जसले जे चाह्यो, त्यही भइरहेको छ ।’ समयमा नपुग्दा राति बास बस्ने समस्या भएको चौधरीले सुनाए । ‘राति होटल खोल्न लगाएर बसियो । तर कुनैबेला हवाईजहाज चढ्नुपर्ने हुनसक्छ, त्यस्तो बेला सडक अवरुद्ध भए के हुन्छ,’ उनले प्रश्न गरे ।


६ महिनामा ४५ को मृत्यु


सुदूरपश्चिममा चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिमा विभिन्न दुर्घटनामा ४५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ५९ वटा दुर्घटना हुँदा ८८ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सबैभन्दा धेरै दुर्घटना कैलालीमा हुने गरेको छ । दुर्घटना हुने साधनमा मोटरसाइकल दुर्घटना अधिक छ ।


गत आवमा सुदूरपश्चिमका नौ जिल्लामा भएका दुई सय ३४ सडक दुर्घटनामा दुई सय २३ जनाको मृत्यु भएको थियो । त्यसक्रममा ४ सय ३४ जना घाइते भएका ट्राफिक प्रहरीको तथ्यांक छ । जसमध्ये कैलालीमा ८५ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा ६६ जनाको मृत्यु भएको र एक सय ५१ जना घाइते भएका प्रहरीले जनाएको छ । कैलालीपछि कञ्चनपुरमा ५७ सवारी दुर्घटना भएका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?