२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

तामाका भाँडाले पाएन बजार

भारतबाट सस्तोमा आयात हुने तामाका भाँडासँग प्रतिस्पर्धा गर्न नसक्दा स्थानीय उत्पादनको बिक्री हुनै छाडेको छ । लगानीसमेत उठाउन नसकिने भएपछि युवाहरु पुर्ख्यौली पेसाबाट पलायन हुन थालेका छन् ।
डीआर पन्त

(डडेलधुरा) — तामाका भाँडावर्तन बनाउने पुर्ख्यौली पेसालाई उनका बुवाले जेनतेन धानेका थिए । अमरगढी नगरपालिका–६, छचोडाका हरि ताम्राकारले भने यसलाई निरन्तरता दिन सकेनन् । उनले तामाका भाँडा बनाउन छाडेको ६ वर्ष भयो । हरि मात्रै होइन छचोडाका एक सय बढी परिवारले पनि आफ्नो पुर्ख्यौली पेसा छोडिसकेका छन् ।

तामाका भाँडाले पाएन बजार

भारतीय बजारबाट आयातित तामाका भाँडासँग प्रतिस्पर्धा गर्न नसकेर उनीहरूको उत्पादन बिक्री हुन छाडेको हो ।

केही वर्षअघिसम्म अमरगढीका ताम्राकारहरूले बनाएका तामाका भाँडाको चर्चा र पहिचान दुवै थियो । कैलाली, कञ्चनपुर हुँदै भारतको उत्तर प्रदेश, उत्तराखण्ड, हिमाञ्चल र बिहारसम्मै निर्यात हुन्थ्यो ।


दार्चुला, बैतडीका व्यवसायीले यहाँ उत्पादन भएका गाग्री, खड्कुलो, दमाहालगायत तामाका भाँडाहरू भारतमा लगेर बिक्री गर्थे । ‘तर अहिले त्यस्तो अवस्था छैन,’ तीन दशकदेखि सोही व्यवसाय गर्दै आएका अजयमेरुका भीम टमटाले भने, ‘वर्षेनी १० लाखसम्म कारोबार हुने गरेको थियो । अहिले नेपालमै एक लाख पनि हुँदैन ।’ भारतीय बजारमा निर्यात हुन छाडेको दशकभन्दा बढी समय भइसकेको उनको दाबी छ । ‘दशकयता सुदूरपश्चिमबाहेक अन्यत्र निर्यात हुनेगरी उत्पादन नै हुन सकेको छैन,’ अर्का व्यवसायी पिरी टमटाले भने, ‘व्यापार पनि पुरै खुम्चिएको छ ।’ ग्रामीण भेगमा फाट्टफुट्ट मात्रै बिक्री हुने गरेको उनले सुनाए ।


बजार क्षेत्रमा सस्तो मूल्यका भाँडा आउन थालेपछि स्थानीय उत्पादनको बिक्री घटेको उनको भनाइ छ । बजारमा पाइने तामाका भाँडा र स्थानीयस्तरमै बनाइएका भाँडाको मूल्यमा भिन्नता हुने गरेको छ । मूल्यमा भएको फरकले आयातित भाँडाको बिक्री बढेको भाँडावर्तन व्यवसायी जयराज जोशीले बताए । उनले भने, ‘स्थानीय स्तरमा उत्पादन भएका तामाका भाँडाको बिक्री नगण्य छ ।’ देवीदेवताका पूजाआजा र जात्रामा प्रयोग हुने भाँडाबाहेक उपभोक्ताले दैनिक प्रयोगमा ल्याउने भाँडा सबै बाहिरबाट आयात गरिएका हुन्छन् । धेरैजसो परिवार यस पेसाबाट पलायन भइसकेकाले अर्डरअनुसार मात्र भाँडा बनाउने गरिएको उनले बताए ।


युवा पुस्ता पलायन


अमरगढी नगरपालिकाझैं भागेश्वर, अजयमेरु, आलीताल, गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका दलित बस्तीमा पनि तामाका भाँडा उत्पादन हुँदै आएको थियो । परम्परागत सिप र प्रविधिवाटनिर्माण गरिने भाँडा भारतबाट ल्याइएका भन्दा गुणस्तरीय हुने स्थानीय बासिन्दाहरू बताउँछन् । अमरगढी–६ का राम ताम्राकारले भने, ‘बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, सिपको आधुनिकीकरण नहुनु र कच्चा पदार्थको मूल्यवृद्धिले स्थानीय सीप र प्रविधिबाट तामाका भाँडा बनाउने पेसा लोप हुँदै जान थालेको छ ।’


उनका अनुसार पुरानो सिप र प्रविधिमा धेरै परिश्रम गर्नुपर्ने, लगानी पनि धेरै हुने र बजारमा प्रतिस्पर्धा गर्न नसकिने देखिएपछि युवा पुस्ता पुर्ख्यौली पेसाबाट पलायन हुन थालेका छन् । वर्षभरि परिश्रम गरेर लगानीसमेत उठाउन नसकिने अवस्था आएपछि यो पेसामा युवाहरूको आकर्षण रहिरहन नसकेको हरि ताम्राकारको बुझाइ छ । सिपको आधुनिकीकरण र कच्चा पदार्थको आयातमा सहुलियत दिन सके पछिल्लो पुस्ता पनि पुर्ख्यौली पेसाप्रति आकर्षित हुन सक्ने उनी बताउँछन् । ‘कुनै पनि सरकारले यसतर्फ चासो राखेको देखिएन,’ उनले गुनासो गरे ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?