विषादी प्रयोगमा कृषक मोह

गणेश चौधरी

(टीकापुर) — कैलालीको जानकी गाउँपालिका–८ की गीता चौधरीले केही वर्षअघिसम्म रासायनिक मल र विषादीको प्रयोग गर्दिनथिन् । गाइगोरु नभएपछि विकल्पमा रासायनिक मल र किटनाशक विषादी प्रयोग गर्नुपर्ने उनलाई बाध्यता छ । ‘विषादी प्रयोगले स्वास्थ्यमा हुने हानिबारे सुनेर यो वर्ष काउलीमा विषादी र रासायनिक मल प्रयोग गरिएन । तर काउली नै भएन । रोग र किरा लागेर पुरै सखाप भयो ।’

विषादी प्रयोग नगरी उत्पादन नै नहुने उनी बताउँछिन् । ‘बाली उत्पादन नहुने भएपछि रासायनिक मल र विषादी प्रयोग नगरी सुखै छैन,’ उनले थपिन्, ‘पहिले–पहिले बालीनालीमा रोगकिरा पनि त्यति लाग्थेन । अब त बिना विषादी बाली नै हुन्न ।’ उत्पादन बढाउन गाउँका सबै कृषकले रासायनिक मल र विषादीको प्रयोग गर्दै आएको उनले सुनाइन् । उनी भन्छिन्, ‘बालीमा रोग, किरा लागे एउटा बोट लिएर एग्रोभेट गयो, सजिलै विषादी पाइन्छ ।’


धेरै उत्पादन लिन, रोग र किराबाट बालीनाली जोगाउन प्रांगारिक र घरेलु पद्धतिको प्रयोग गर्न सकिनेबारे धेरै कृषकलाई जानकारी छैन । रासायनिक मल र किटनाशक औषधिको प्रयोगले धेरै फसल उत्पादन हुने र चाँडै रोग निको हुने भन्दै कतिपय कृषक प्रांगारिक पद्धति जानेर पनि अपनाउन हिच्किचाउने गरेका रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयमा कार्यरत पुष्प भारतीले बताए । बजारमा विषादी सजिलै पाइने भएकोले पनि कृषक यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।


कृषि प्राविधिकको सल्लाह नलिने तर एग्रोभेट सञ्चालकसित बालीमा लागेको रोग र किराका बारेमा जानकारी लिई विषादी प्रयोग गर्ने गरेका भारती बताउँछन् । ‘कृषकलाई आफनो नेटवर्कभन्दा बाहिर जान नदिने एग्रोभेट सञ्चालकको जोड हुन्छ । आफ्नो फाइदाका लागि उनीहरू बढीभन्दा बढी विषादी बेच्न कोशिष गरिरहेका हुन्छन् । किसानलाई कृषि प्राविधिककहाँ नपाठाएर आफैं विषादी दिएर पठाउँछन्,’ भारतीले भने, ‘पहिलेको जस्तो रुखमा माहुरी देखिँदैनन् । माहुरी कम भएमा विषादी प्रयोग बढेको अनुमान लगाउन सकिन्छ ।’


रासायनिक विषादीको प्रयोगले मानवलगायत जीवजन्तुको स्वास्थ्यमा असर पर्ने भएकोले सकभर प्रयोग नगर्न र घरेलु विषादी उत्पादन तथा प्रयोगमा आफूहरूले जोड दिने गरेको उनले बताए । ‘धेरै विषादी प्रयोग गर्दा किसान स्वयं र उपभोक्तालाई पनि असर पर्छ ।


शोध अनुसन्धानबाट विषादी प्रयोग भएको खानेकुराले क्यान्सर, अल्सर, ग्याष्टिकजस्ता रोग लाग्ने र अपांग बच्चा जन्मिने, इन्फर्टिलिटीको समस्या भएको पनि खुल्न आएको छ ।’ उनका अनुसार बजारमा बाली र प्रयोगकर्ता दुवैका लागि हानिकारक विषादी पाइन्छन् । ‘रातो, पहेँलो, हरियो र नीलो स्टिकर भएका विषादी बजारमा आउँछ । रातो र पहेँलो निकै खतरनाक मानिन्छ । त्यसैले प्रयोग गर्नै परे हरियो स्टिकर भएका विषादी प्रयोग गर्न किसानलाई सिफारिस गर्छौं,’ उनले भने ।


रासायनिक विषादी प्रयोग गर्दै आएका किसानलाई घरेलु विषादीको उत्पादन र प्रयोग विधि सिकाइने गरिए पनि अधिकांशले झन्झट मान्ने गरेका किसान जीतबहादुर चौधरीले बताए । उनले भने, ‘विषादी किन्ने पैसा पनि बच्छ तर बनाउनभन्दा किनेर प्रयोग गर्न सजिलो मान्छन् ।’ विषादी प्रयोगका विषयमा कृषकलाई जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउँछन् कृषि ज्ञान केन्द्र कन्चनपुरका प्रमुख रामचन्द्र भट्ट । प्रादेशिक कानुन बनिनसकेकोले पुरानै कानुनअनुसार ज्ञान केन्द्रले काम गरिरहेको उनले बताए ।


‘विषादी प्रयोगबारेको सचेतनाका लागि सुदूरपश्चिमका दुई जिल्लाका स्थानीय तहमा २२ वटा कृषि पाठशाला सञ्चालन गर्ने कार्यक्रम छ,’ उनले भने । विभिन्न एग्रोभेटमा प्रतिबन्धित विषादी, म्याद गुज्रेको लगायतका कुरा अनुगमनमार्फत निगरानी गर्ने गरेको उनले सुनाए । उनका अनुसार स्थानीय सरकारको कृषि शाखाले समेत विषादी प्रयोग न्यूनीकरणमा जोड दिने गरेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?