१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सुधार हुँदै सामुदायिक विद्यालय

मेनुका ढुंगाना

अछाम — कमलबजार नगरपालिका–३ का रतन नेपालीका छोराछोरी गाउँमै रहेको भ्वानी आधारभूत विद्यालयमा पढ्छन् । विगतमा उनी छोराछोरीको पढाइ कस्तो भइरहेको छ वास्ता गर्थेनन् । अहिले उनी नियमित विद्यालय जान्छन् । बच्चाहरूको सिकाइ अवस्थाबारे जानकारी लिन्छन् ।

सुधार हुँदै सामुदायिक विद्यालय

‘विद्यालय पठाएर मात्रै जिम्मेवारी पूरा नहुने रहेछ,’ उनले भने, ‘हाल विद्यालयमा छोराछोरीले कसरी पढिरहेका छन् भन्ने नियमित जानकारी लिने गरेको छु ।’ विद्यालयमा अभिभावकहरूले ‘नागरिक आवाज र कर्तव्य’ समूह गठन गरेका छन् । सोही समूहमार्फत रतनलगायत अभिभावकले बालबच्चाको शैक्षिक सुधारको अवस्थाबारे निगरानी गर्दै आएका छन् । ‘अभिभावकले चासो राख्न थालेपछि पठनपाठनको गुणस्तरमा पनि सुधार भएको छ,’ प्रधानाध्यापक दिपेन्द्र नेपालीले भने, ‘जेहेनदार, असहाय, अपाङ्ग विद्यार्थीलाई विद्यालयबाटै शैक्षिक सामाग्री सहयोग गर्ने गरेका छौं ।’


कार्ययोजना निर्माण

पञ्चदेवल विनायक नगरपालिका–३ मा रहेको अम्बिका माविमा कार्ययोजना बनाएर सोहीअनुसार पठनपाठन र अन्य काम गर्ने गरिएको प्रधानाध्यापक प्रतापसिंह विष्ट बताउँछन् । ‘विद्यालयमा यसअघि पनि कार्यक्रम नभएका होइनन् । तर अहिलेजस्तो व्यवस्थित तरिकाले थिएन,’ प्रअ विष्टले भने, ‘कुन वर्ष के कार्यक्रम गर्ने, कहिले गर्ने, कोसँग माग गर्ने भन्ने विषयहरूको कार्ययोजना बनाएर काम गर्छौं ।’


उनका अनुसार ३ कक्षासम्म बालमैत्री कक्षा सञ्चालन गरिएको छ । विद्यालयको भवन मर्मतसम्भार पनि कार्ययोजना अनुरुप नै भएको छ । शैक्षिक सामग्री उपलब्ध भएपछि शैक्षिक क्रियाकलाप गर्न सहयोग पुगेको उनले बताए । विद्यालयलाई राम्रो बनाउन समुदायले पहिचान गरेका सुधारका उपायहरूमा स्थानीय तह र सरोकारवालाको पनि सहयोग लिइरहेको उनी बताउँछन् ।


बालबालिका आफैं सक्रिय

पञ्चदेवल विनायक नगरपालिका–७ मा रहेको भ्वानी देवी माध्यमिक विद्यालयका बालबालिका पनि शैक्षिक क्रियाकलाप र सिकाइलाई लिएर सक्रिय हुन थालेका छन् । विद्यालयमा हुने गतिविधिलाई लिएर उनीहरू शिक्षक र अभिभावकलाई प्रश्न गर्छन् । ‘हामी नियमित रुपमा विद्यालयमा आउँछौं । तर विद्यालयमा के अपुग छ, के सुधार गर्नुपर्छ भन्ने जिम्मेवारी विद्यालय र अभिभावकको हो,’ सोही विद्यालयमा पढिरहेकी माया रावलले भनिन्, ‘तर, अभिभावक र शिक्षकलाई पनि आफ्नो कर्तव्यबारे जिम्मेवार बनाउन पहल गरिहेका छौं ।’


विद्यालयका प्रधानाध्यापक जनक रावल पनि विद्यार्थीको कुरामा सहमत देखिन्छन् । ‘शिक्षक, अभिभावकलाई जिम्मेवार बनाउने विषय त छँदै छ, विद्यार्थीहरू आफैंमा जागरुक भएका छन् । पाठ्यक्रमभन्दा बाहिरका विषयमा पनि रुचि बढाएका छन्,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समितिको सक्रियता पनि बढेको छ ।’


विद्यालयमा सुधार समिति

मेल्लेख गाउँपालिका–५ मा रहेको घट्टेडाँडा आधारभूत विद्यालयमा सुधार समिति गठन भएको छ । वडाध्यक्ष, शिक्षक, अभिभावक, विद्यार्थी र समुदायका प्रतिनिधिहरूको सहभागितामा सुधार समिति गठन गरिएको हो । आफ्ना कामबारे उठेका प्रश्नको जवाफ दिने र विद्यालयप्रति उत्तरदायी बनाउन समिति गठन गर्नुपरेको प्रधानाध्यापक ध्वजबहादुर खड्काले बताए । ‘समुदाय, विद्यार्थी, शिक्षक, स्थानीय तह र व्यवस्थापन समितिबीच विद्यालयको आवश्यकता पहिचान र समाधानका सवालमा नियमित छलफल हुने गरेको छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?