महाभारतवासीलाई खानेपानी

सुटिल, बुर्सा, सिराड, किमउलालगायत गाउँमा धारा जडान
डीआर पन्त

डडेलधुरा — सतमूला नदी हुँदै उकालो चढेपछि महाभारत क्षेत्रको बीचमा रहेको समथर फाँटमा छ सुटिल गाउँ । सेतो कमेरोले पोतेका घर । हरेक घरका आँगनमा स–साना पानी पोखरी । गाउँभरिमा प्रत्येक तीन घरलाई लक्षित गरेर बनाइएका खानेपानीका धारा । सरसफाइ गर्दा खेर जाने पानीलाई पोखरीमा जम्मा गरेर तरकारीबारीमा सिँचाइ गर्ने प्रणाली । डडेलधुराको दुर्गम भए पनि सरसफाइ र पानीको उचित व्यवस्थापनले व्यवस्थित वस्तीजस्तो बनेको छ भागेश्वर–४ स्थित सुटिल गाउँ ।

दुई/तीन वर्षअघि गाउँको अवस्था बेग्लै थियो । जिल्लाका अधिकांश ग्रामिणवस्ती जस्तै पानीको चरम संकट भोगिरेहेको सुटिलमा यसै वर्षदेखि फिनल्यान्ड सरकारको सहयोगमा सञ्चालित ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाले खानेपानी व्यवस्थानको काम सुरु गरेको हो । महाभारत क्षेत्रमा रहेका मानववस्तीमा पानी व्यवस्थापन गर्ने उद्देश्यका साथ गाउँमा नमूना योजनाका रुपमा काम भएको छ ।


यहाँका बासिन्दा विगतमा खानेपानीका लागि आधा घण्टा पैदल दूरीमा रहेको सतमूला नदी र एक घण्टामा पुग्न सकिने कल्सेनी खोलामा निर्भर थिए । जलस्रोत परियोजना सुरु भएपछि गाउँलेले खानेपानीको सुविधा मात्र पाएका छैनन्, सरसफाइ र पानीको उचित व्यवस्थापनबाट गर्न सकिने विभिन्न आयआर्जनका काम समेत अघि बढाएका छन् । उनीहरू तरकारी खेती, जंगल क्षेत्रमा जडीबुटी खेती लगायतका माध्यमबाट आफ्नो जीवनशैली परिवर्तन र यसका दीर्घकालीन फाइदाबारे सचेत हुन पाएका छन् ।


‘गाउँमा परिवर्तन सुरु गर्ने यो पहिलो योजना भएको छ,’ स्थानीय अगुवा मदन भट्टले भने, ‘जीवनशैली परिवर्तन गर्न सकिने यति धेरै उपाय हुन्छन् भन्ने पहिलोपटक थाहा पायौं ।’ परम्परागत खेती प्रणालीले जीवन धानिरहेकाहरूका लागि आयआर्जनका धेरै काम पानीको संरक्षण र व्यवस्थापनबाट सम्भव हुँदोरहेछ भन्ने बुझ्न पाएको उनले अनुभव सुनाए ।


सुटिल जस्तै महाभारत क्षेत्रको मथिल्लो भेगमा रहेका जनजाति वस्तीमा समेत सर्वसाधारणलाई जोडेर पानीको दीर्घकालीन व्यवस्थापन र महाभारत क्षेत्रको पानी संरक्षणका लागि नमूना कार्यक्रम अघि सारिएको छ । २०४२ मा युनिसेफले निर्माण गरेका खानेपानी योजनाहरू जीर्ण भइसकेका थिए । ‘अरु ठाउँमा भएको काम देखेर हामीले पनि माग गरेका हौं,’ स्थानीय अगुवा जंगबहादुर थापाले भने, ‘पानी मात्र नभई दीर्घकालीन आयआर्जन बढाउन अन्य योजनामा पनि काम भइरहेको छ ।’


डडेलधुरामा डेढ दशकदेखि कार्यरत ग्रामिण जलस्रोत परियोजनाले महाभारत क्षेत्रका डेढ दर्जन बढी गाउँमा खानेपानी योजनासँगै पानीको दीर्घकालीन व्यवस्थापन र श्रोत संरक्षणका लागि काम गरिरहेको छ । सुटिलसँगै यस वर्ष बुर्सा, सिराड, किमउलालगायत गाउँमा यो कार्यक्रम सञ्चालनमा आएको छ । यसअघि महाभारत क्षेत्रकै रुपालीगाड, रुपाल, लेकुडालगायत क्षेत्रमा पानी व्यवस्थापन र संरक्षणका योजना सम्पन्न भइसकेका छन् । सुटिललाई नमूनावस्ती बनाउन परियोजनाले धेरै ठूलो रकम खर्चेको भने छैन । परियोजनाको ३५ लाख रुपैयाँ र त्यसको २५ प्रतिशत स्थानीयको साझेदारीमा उक्त योजना सम्पन्न भएको हो । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका योजनामा हुने करोडौंको लगानीको तुलनामा यो निकै कम विकास रकम हो ।


पाँच किलोमिटरभन्दा टाढा छ खानेपानीको मूल । वर्षात्मा क्षति हुनसक्ने महाभारतको भौगोलिक अवस्था, यातायातको असुविधा भएको दुर्गम गाउँमा ढुवानीका लागि धेरै रकम लाग्ने भए पनि स्थानीयको साझेदारीमा थोरै रकममै धेरै काम भएको स्वयं स्थानीय बताउँछन् । ‘योजना बनाउने, सर्भे गर्ने, उपभोक्तालाई तालिम र प्रशिक्षण दिने तथा अनुगमन गर्ने बाहेक योजनाका सबै निर्णय गर्ने, कार्यान्वयन गर्ने, खर्च गर्ने काम उपभोक्ता आफैंले गर्छन्,’ भागेश्वर गाउँपालिकाका जलश्रोत प्रमुख देवराज भण्डारीले भने, ‘उपभोक्तालाई सचेत बनाएपछि अरु सवै काम उनीहरूले आफैं गर्ने भएकाले पनि महाभारत क्षेत्रमा पानीको व्यवस्थापन र संरक्षणमा राम्रो काम भएको छ ।’


अन्य योजनाका तुलनामा कम खर्चमा नमूना काम हुनुमा पनि उपभोक्ता जिम्मेवार भएर काम गर्नुको परिणाम भएको उनी बताउँछन् । भण्डारीले भने, ‘पानीको भण्डारण रहेको महाभारत क्षेत्रका बासिन्दालाई खानेपानीसँगै पानीको उचित व्यवस्थापन र संरक्षण गर्न प्राथमिकतामा राखेर काम भइरहेको छ ।’ जलवायु परिवर्तनका कारण पानीका मूल सुक्ने,जथाभावी सडक निर्माण गर्ने प्रवृति बढको छ । यसबाट वन विनास भएर पानीका मूल हराउने समस्या उस्तै छ । सर्वसाधारणलाई यसतर्फ सचेत गराउँदै संरक्षणका लागि क्रियाशील बनाउने उद्देश्यले काम भइरहेको उनले थपे ।


‘सुटिलमा अघि बढेको योजना नमूना हो,’ परियोजनाका इन्जिनियर ध्रुब श्रेष्ठले भने, ‘हाल महाभारत पर्वतमा रहेका दर्जन बढी मानववस्तीमा दीर्घकालीन पानी व्यवस्थापनका योजनाहरू सञ्चालनमा छन् ।’


स्थानीय बासिन्दाको साझेदारीमा सम्पन्न हुने योजनाले उनीहरूलाई खानेपानीको सुविधा मात्र भएको छैन, महाभारत पर्वतमा रहेको श्रोत संरक्षण र पानीको उचित व्यवस्थापनबाट आयआर्जनका काम गर्न पनि प्रोत्साहित गरेको श्रेष्ठले दाबी गरे ।


योजना अनुगमनमा आएका जलश्रोत परियोजनाका नेपाल प्रमुख फिनिस नागरिक मिचेलले महाभारतमा रहेका पानीका स्रोत संरक्षण गर्न नसके धेरै समस्या भोग्नुपर्नेमा स्थानीयलाई सजग गराए । ‘हामीले तपाईंहरूलाई बाटो मात्र देखाउने हो । बाटोमा कसरी हिँड्दा फाइदा हुन्छ, त्यो तपाईंहरूले आफैं तय गर्नु पर्छ,’ उनले भने । विकासका नाममा हुने क्षतिलाई कम गर्ने, प्राकृतिक स्रोतको उचित प्रयोग गर्दै संरक्षण गरेर फाइदा लिने बानीको विकास गर्नु दुर्गमका बासिन्दाका लागि हितकर हुने उनको भनाइ छ । प्रकाशित : फाल्गुन ९, २०७६ ०९:३१

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

शिवालयमा भक्तजनको भीड, डेढ लाख बढीले पशुपतिनाथको दर्शन गरिसके

रासस

काठमाडौँ — महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् ।

लाखौँभक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाइन्छ । नेपालपञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५:४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछिचतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी ६:३७ बजेसम्म छ ।

मध्यरातमा चतुर्दशी तिथिशुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिनमध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा,आराधना,दर्शन गरे यसलोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिकाअध्यक्ष प्राध्यापक रामचन्द्र गौतम बताउँछन् ।

पूजा आराधना गर्दा महादेव छिट्टै प्रसन्नहुने भएकाले आशुतोषसमेत भनिन्छ । यसैले आज बिहानैदेखि वैदिक सनातन हिन्दूधर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वकपूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हभएको रातकानामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुखरात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यसपर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउनेआशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

पशुपतिका चार ढोका तीन बजे नै खुल्यो

पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनकोसुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपतिक्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए। पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनकोव्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनकोव्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापनगरिएको उनले बताए ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्डदक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका,जयवागेश्वरीईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानोढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतलीगौशाला तथा एअरपोर्टतिलगङ्गा भएर पिङ्गलास्थानसुमार्गी भवन हुँदै चार शिवालयपञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्नेव्यवस्था मिलाइएको सदस्य सचिव ढकालले जानकारी दिए । यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसारएक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्यदर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाटप्रवेशको व्यवस्था मिलाइएको थियो । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेशगरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारीपार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि,कोषको कार्यालय,वनकालीलगायतस्थानमा व्यवस्था मिलाइएको छ ।

आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्‍वर,डोलेश्‍वरलगायतशिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनिधुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।महाशिवरात्रिका दिनमात्र यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापनगरिएको छ ।

महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षानिकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवकपनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ । दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा,भाङ,धतुरोलगायत लागुपदार्थनिषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसरसाजसजावटमा विशेष ध्यान दिइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएरमन्दिर सजावट गरिएको छ । यसपटक नेपाल भ्रमण वर्षको अवसर समेत परेकाले पशुपतिक्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ । लाखौँ भक्तजनलाई पशुपति क्षेत्रको भ्रमणगराउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमारभट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समितिअन्तर्गत ११ उपसमिति पनि गठनगरिएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । ११ वटै उपसमितिकोसक्रियतामा आज रातभर पनि भक्तजनले पशुपतिनाथको पूजा आराधना एवं दर्शन गर्न सक्नेगरी व्यवस्थापन मिलाइएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०९:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×