वर्षाले आकासियो इँटाको मूल्य

भवानी भट्ट

कञ्‍चनपुर — हिउँदे वर्षाका कारण कञ्चनपुरमा इँटाको अभावसँगै मूल्यसमेत अकासिएको छ । इँटाको अभावले पूर्वाधार निर्माणदेखि अन्य निर्माणका काम प्रभावित भएका छन् । स्थानीयले घर बनाउन सहजै इँटा पाउन सकेका छैनन् ।

वर्षाले आकासियो इँटाको मूल्य

‘जग हालेको एक महिना भयो, इँटा नपाएर काम रोकिएको छ,’ भीमदत्त नगरपालिका–५ का अनिल रानाले भने, ‘एक/दुई ठाउँमा अलिअलि पाइएको थियो, त्यो पनि महँगो भएर किन्न सकिएन ।’ रानाका अनुसार दुई महिना अघिसम्म प्रतिइँटाको मूल्य १३ रुपैयाँ थियो । अहिले १८ रुपैयाँ तिर्दा पनि सहजै पाउन सकिने अवस्था छैन । ‘घर निर्माणको खर्च सोचेभन्दा बढी लाग्ने भएको छ,’ रानाले भने, ‘मूल्य घट्ने आश गरेर काम रोकेको छु ।’


सार्वजनिक पूर्वाधार निर्माणकार्य पनि प्रभावित भएको व्यवसायीहरू बताउँछन् । कञ्चनपुरमा तीन दर्जनभन्दा बढी इँटा उद्योग सञ्चालनमा छन् । यस वर्ष कुनै पनि उद्योगले उत्पादन गर्न सकेका छैनन् । पुराना इँटाको मूल्य पनि बढेको छ । पुराना इँटा खरिद गरेर काम गर्दा धेरै घाटा हुने व्यवसायीहरू बताउँछन् । कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका निर्माण व्यवसायी गणेशदत्त जोशीले भने, ‘फागुन अन्तिमसम्ममा इँटा उत्पादन सुचारु हुने देखिन्छ । त्यसपछि केही सहज हुन्छ कि ।’ उनले इँटा नपाएर दुई/तीन ठाउँमा काम रोकिएको बताए ।


सामान्यतया मंसिरमै उत्पादन सुरु हुने भए पनि यो वर्ष हालसम्म सुरु हुन नसकेको महाकाली इँटा तथा टायल उद्योग व्यवसायी संघका अध्यक्ष बलदेवसिंह बुडाल बताउँछन् । उनका अनुसार मौसम खराब नभए फागुन अन्तिमसम्म इँटा उत्पादन भएर सहज रूपमा उपलब्ध हुनेछ । तर मौसम प्रतिकूल बने अझै एक/डेढ महिना लाग्ने उनको भनाइ छ । ‘वर्षाका कारण हरेक उद्योगले नोक्सान व्योहोर्नु परेको छ,’ बुडालले भने, ‘त्यसैकारण भएको इँटासमेत महँगो हुन गएको हो ।’ इँटा तथा टायल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष शंकरबहादुर चन्द अहिले कुनै पनि उद्योगमा इँटा स्टक नभएको बताउँछन् ।


यस वर्ष वर्षाका कारण अधिकांश उद्योगले नोक्सानी व्यहोरेको उनले बताए । चन्दका अनुसार काँचो इँटा गलेर एउटै उद्योगमा २०/३० लाखसम्मको नोक्सानी भएको छ । उत्पादन नहुँदा भारतीय कामदारसमेत फिर्ता भइसकेका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?