२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

एटीएमबाट सेनेटरी प्याड

कान्तिपुर संवाददाता

डोटी — दिल्पेश्वर माविमा कक्षा १० मा अध्ययनरत छात्रा टीना मल्ल महिनावारी भएका बेला विद्यालयको पुरानो भवनमा पुग्छिन् । विद्यालय हाताको उत्तरपूर्वमा रहेको सो भवनमा सानो मेसिन जडान गरिएको छ । मेसिनभित्र सेनेटरी प्याड राखिएको हुन्छ । उनी एटीएम कार्ड मेसिनमा हाल्छिन् । मेसिनले माग भएको संख्याअनुसार प्याड दिन्छ ।

एटीएमबाट सेनेटरी प्याड

विद्यालयमा निर्माण गरिएको व्यवस्थित शौचालयमा गई उनी प्याड लगाउँछिन् र कक्षामा पुग्छिन् । ‘एटीएमबाट प्याड निकाल्ने प्रक्रिया गोप्य हुन्छ,’ उनले भनिन्, ‘सुरक्षित पनि हुने र पढाइमासमेत असर नपर्ने भएकाले यो व्यवस्थापछि अत्यन्तै सहज भएको छ ।’ घरभन्दा बढी सुरक्षित र सहज अनुभव विद्यालयमा हुने गरेको उनको अनुभव छ ।


टीनाका सहपाठीहरूसमेत महिनावारी भएका बेला विद्यालयको वातावरण विगतभन्दा सहज र राम्रो भएको बताउँछन् । ‘पहिले विद्यालयमा महिनावारी भए घर फर्कनुपर्थ्यो,’ कक्षा ९ कि सरस्वती कठायतले भनिन्, ‘अहिले एटीएम कार्डबाट सेनेटरी प्याड झिक्ने व्यवस्था भएपछि धेरै सजिलो भएको छ ।’ दिपायल सिलगढी नगरपालिका–३ मा रहेको दिल्पेश्वर माविमा चालु शैक्षिक सत्रबाट एटीएमबाट सेनेटरी प्याड पाउने व्यवस्था गरिएको छ । नगरपालिकाको सहयोगमा सो व्यवस्था गरिएको हो । हाल महिनावारी भएका बेला छात्राहरूको पढाइ प्रभावित भएको विगतजस्तो गुनासो आउन छाडेको प्रधानाध्यापक दीर्घबहादुर कठायत बताउँछन् । नगरपालिकाले तीनवटा विद्यालयमा नमूना परीक्षणका लागि एटीएमको व्यवस्था गरेको नगरप्रमुख मञ्जु मलासीले बताइन् । उनका अनुसार पदम पब्लिक मावि र सुनादेवी मावि, लडागडामा यस्तो व्यवस्था छ ।


महिला शिक्षक नहुँदा महिनावारी भएका बेला विद्यालयमा पठनपाठन गर्न असहज महसुस हुनेगरे पनि सेनेटरी प्याडको व्यवस्था भएपछि सो समस्या हटेको छात्राहरू बताउँछन् । विद्यालयमा कार्यरत चार महिला शिक्षक आधारभूत तहमा मात्रै अध्यापन गराउँछन् ।


एटीएमको व्यवस्थापन र सुरक्षाका लागि विद्यालयले शिक्षक गोविन्द जोशीलाई जिम्मेवारी दिएको छ । सेनेटरी प्याडको व्यवस्था गर्न नगरपालिकाले छात्राहरूको समूह गठन गरेको छ । प्रत्येक विद्यालयमा ५ देखि १० जनासम्म छात्राहरूको छुट्टाछुट्टै समूह बनाइ कार्ड वितरण गरिएको शिक्षक जोशी बताउँछन् । ‘महिनावारी भएका छात्राले आफ्नो समूहको टोली प्रमुखलाई कार्ड मागेर एटिएमबाट प्याड झिक्ने गर्छन्,’ उनले भने, ‘प्याड फेर्न र सरसफाइका लागि बेग्लै कोठा बनाइएको छ ।’ विद्यालयमा आठ सय एक विद्यार्थी रहेकोमा चार सय १५ छात्राहरू छन् ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?