२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

६० प्रतिशतले घट्यो मह उत्पादन

डीआर पन्त

डडेलधुरा — वार्षिक दुई लाख रुपैयाँ बढीको मह बिक्री गर्दै आएकोमा यस वर्ष २० हजार रुपैयाँ पनि आम्दानी भएन । डडेलधुराको आलीतालका मनिराम गिरीले एक सयभन्दा बढी मौरीघारबाट क्षमताको एक चौथाइ पनि मह उत्पादन नभएको बताए । गिरीले जस्तै यहाँका अधिकांश मौरीपालक कृषकले यस वर्ष महको उत्पादन घटेको गुनासो गरे ।

६० प्रतिशतले घट्यो मह उत्पादन

आलीताल गाउँपालिका ठूलो परिमाणमा मौरीपालन हुने सुदूरपश्चिमकै पकेट क्षेत्र हो । पाँच सयभन्दा बढी मौरीपालक कृषक रहेको यस गाउँपालिकाबाट बर्सेनि ७ करोड रुपैयाँभन्दा बढीको मह निर्यात हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तर यस वर्ष हिउँदे झरीले गर्दा मह उत्पादन घटेको हो । विगतका वर्षको तुलनामा ६० प्रतिशत उत्पादन घटेको कृषि ज्ञान केन्द्र डडेलधुराका वरिष्ठ कृषि विकास अधिकृत दीलबहादुर विष्ट बताउँछन् । उनका अनुसार मंसिरदेखि माघ अन्त्यसम्म पटक–पटक भएको वर्षाले मह उत्पादनमा असर परेको हो । ‘यो वर्ष २० मेट्रिक टन मह उत्पादन भएन,’ उनले भने ।


‘आलीतालको गाँगखेत, भावर क्षेत्र, सैन क्षेत्रका कृषकहरूले यस वर्ष ठूलो क्षति बेहोर्नुपरेको छ,’ विष्टले भने, ‘मह काढ्ने समयमा लगातार वर्षा भयो । त्यसअघि मौरीले मह पार्ने समयमा पनि लगातार वर्षा भएकाले उत्पादन हुन नसकेको हो ।’ उनका अनुसार लगातारको झरीले मौरी बाहिर चर्नका लागि निस्कन पाएनन् । वर्षाका कारण चिसो बढ्दा मौरी घारमै बस्ने र संकलन गरेको मह खाने गर्दछ । स्थानीय किसान धनबहादुर थापा भन्छन्, ‘चर्न जान नपाउँदा मौरीलाई रोगसमेत लागेको छ ।’ आलीतालपछि बढी मात्रामा मह उत्पादन हुने भागेश्वर गाउँपालिकामा पनि ४० प्रतिशतभन्दा बढी उत्पादन हुन नसकेको विष्टले जानकारी दिए ।


अरू पेसा छोडेर मौरीपालन व्यवसायमा लागेका कृषकहरूको वर्षभरि गरेको परिश्रम खेर गएको थापाको भनाइ छ । धेरैजसो कृषकले ऋण काढेर गरेको लगानीसमेत उठ्न नसकेको उनले दुखेसो पोखे । गत वर्ष पनि अत्यधिक वर्षाका कारण मौरीपालन व्यवसायमा ठूलो क्षति भएको थियो । वर्षैंपिच्छे क्षति हुन थालेपछि कतिपय कृषकहरू पेसा नै परिवर्तन गर्ने सोचाइमा पुगेको उनी बताउँछन् । कृषकहरू निरुत्साहित भएको बताउँदै भागेश्वरका अर्का किसान धर्मराज पाण्डेयले भने, ‘उत्पादन पनि घट्यो, मौरी पनि मरेकाले दोहोरो क्षति व्यहोर्नुपरेको छ ।’ उनका अनुसार मौरी मर्ने समस्या अहिले पनि रोकिएको छैन । उनले भने, ‘विशेषज्ञहरूले पनि मौरीमा लागेको रोगका विषयमा पत्ता लगाउन सकेका छैनन् ।’


वरिष्ठ कृषि विकास अधिकृत विष्टले कृषकहरूलाई नोक्सान पुगेकाले आवश्यक राहत तथा क्षतिपूर्तिका लागि सरकारलाई सिफारिस गर्ने बताए । मह उत्पादन घटेपछि यो वर्ष महको मूल्यमा समेत वृद्धि भएको छ । ‘गत वर्ष प्रतिकिलो ६ सय ५० रुपैयाँमा मह बिक्री हुँदै आएकोमा यस वर्ष डडेलधुराका बजारमै ९ सय रुपैयाँ पुगेको छ ।’ मूल्य बढेसँगै बजारमा महको माग पनि घटेको उनले बताए । केन्द्रका अनुसार जिल्लामा १५ हजार बढी मौरीघारमा मह उत्पादन हुने गरेको छ । परम्परागत रुपमा समेत गाउँघरमा मौरीपालन हुने गरेको छ । यसरी गरिने मौरीपालनको तथ्यांक केन्द्रसँग छैन ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?