‘सरकार कुरै सुन्न चाहन्न’

कान्तिपुर संवाददाता

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सत्तारुढ दलकै सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सांसदहरूले सरकार जनप्रतिनिधिसँग टाढिँदै गएको बताए । ‘सरकारले जनप्रतिनिधिका कुरै सुन्न नचाहेको देख्दा अचम्म लागेको छ,’ नेकपाका सांसद महेशदत्त जोशीले भने, ‘मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा भने रातो किताब बाहिरबाट पनि धमाधम योजना वितरण गरिरहेका छन् ।’

उनले कैलाली, कञ्चनपुरमा लागूऔषध र दुर्व्यसनी बढ्दै गएको बताउँदै साना हतियार भित्रिरहेको, चुरे फडानी र काठ तस्करी बढेको प्रति सरकारले चासो लिनुपर्नेमा जोड दिए । उनले छाडा चौपाया व्यवस्थापन गर्ने सवाल नै अलपत्र परेको भन्दै असन्तुष्टि जनाए । करार सेवामा भर्ना गरेर भए पनि कर्मचारी अभाव टार्न सरकारलाई कसले रोकेको हो भन्दै उनले प्रश्न गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले दुई साताअघि प्रदेशसभामा दर्ता गरिएको संकल्प प्रस्तावमा सरकारले चासो नदेखाएकोमा आपत्ति जनाए । उनले सामाजिक विकास मन्त्रालयले खरिद गरेको एम्बुलेन्स खरिद प्रकरणमा भएको भनिएको विवादमा संसदीय छानबिन समिति गठन गर्न माग गरे । उनले सरकारको व्यवहारले संसद्को गरिमा घटाउने काम भएको आरोप लगाए ।


शून्य समयमै बोल्दै नेता रावलले सरकारलाई ‘जे गरे पनि हुन्छ’ भन्ने लागेको बताए । ‘सरकार एकलौटी रूपमा अघि बढको छ,’ उनले भने । प्रदेश योजना आयोग गठन नहुनु आश्चर्यजनक भएको रावलको भनाइ छ । उनले दोहोरो करले जनतालाई आक्रान्त बनाएको भए पनि सरकारले ध्यान नदिएको बताए । ‘स्थानीय तहका जनप्रतिनिधिहरूको सेवा, सुविधासम्बन्धी विधेयक तत्काल ल्याउनु पर्छ,’ उनले माग गरे ।


राजपाका सांसद कृष्ण चौधरीले कविता वाचन गरेर सरकारका कार्यशैलीमाथि व्यंग्य गरे । उनले दोस्रो चौमासिकसम्म सरकार सुतिरहेको बताउँदै कहिले ब्युँझिन्छ भन्ने प्रश्न गरे । महाकालीवारि भारतीय पक्षले सडक निर्माण गरिरहेको स्मरण गराउँदै सरकार थाहै नपाएझैं चुप लागेर बसेको उनको भनाइ थियो । धनगढीमा लक्ष्मण थारु अनशन बसिरहेकोप्रति प्रदेश सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाए ।


नेकपाका अर्का सांसद नेपालु चौधरीले प्रभावकारी स्वास्थ्य सेवामा सरकारले ख्याल गर्नुपर्ने सुझाए । नगरपालिकामा स्वास्थ्यकर्मीको संख्या थुपार्ने तर दुर्गम र विकट क्षेत्रमा स्थानीयले उपचार नपाउने अवस्था आएको उनको भनाइ छ । सांसद लिलाधर भट्टले अढाई लाखका योजनाको सम्झौता गर्न पनि गाउँबाट धनगढी र दिपायल धाउनुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए । उनले सुशासन विधेयक प्रमाणीकरण नहुनुको रहस्य सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरे । प्रकाशित : फाल्गुन ५, २०७६ १०:४१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

काम पूरा नहुँदै उप्कियो कालोपत्र

ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन र नियमाक निकायको लापरबाहीले कालोपत्र उप्किएको स्थानीयको आरोप
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिवनदेखि कौडेना जोड्ने क्षेत्रीय सडकको कालोपत्र काम नसकिँदै उप्किन थालेको छ । ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन र नियमन गर्ने निकायको लापरबाहीले कालोपत्र उप्किएको स्थानीयको आरोप छ । 

एकातिर कालोपत्रे गर्दै गर्दा अर्कोतिर उप्किन थालेको हो । ३० किलोमिटरको सडकको दर्जन ठाउँमा कालोपत्र उप्किएको छ । हरिपुर नगरपालिकास्थित पिडारीमा पर्ने यो सडकमा बनाइएको कल्भर्ट पनि भत्केको छ । ठेकेदारले भत्केको कल्भर्टमा माटो हालेर पुरेका छन् । यसअघि हरिवनमा पनि बनाइएको कल्भर्ट भत्केको थियो । हस्तान्तरण समेत नभएको सडकमा ठेकेदारले टालटुलको काम गरिरहेको स्थानीयको आरोप छ । कतिपय स्थानमा टालेको ठाउँमा समेत उप्किन थालेको छ । कालोपत्रे सडकको बीचमा रहेको कल्भर्ट भत्केपछि दुर्घटनाको समेत जोखिम बढेको छ ।

‘सडक कालोपत्र हुन थालेपछि हामी निकै खुसी भएका थियौं,’ हेमपुरका स्थानीय बद्रिनारायण मिश्रले भने, ‘तर यो खुसी धेरै दिन टिक्न सकेन, कालोपत्र र कल्भर्ट भत्किन थालेको छ ।’ ठेकेदार र नियमन गर्ने निकायको लापरबाहीले सडकमा गरिएको लगानी बालुवामा पानी हालेझैं भएको उनको भनाइ छ । भत्केको कल्भर्टमा माटो हाल्दा पानी निकासको सम्भावनासमेत छैन । सडक कालोपत्र हुन बाँकी रहेका स्थानमा भने हिउँदमा धूलो र वर्षामा हिलोले सास्ती खेप्न स्थानीय बाध्य छन् ।

नियामक निकाय पूर्वाधार विकास कार्यालयले माटोका कारण कालोपत्र उप्किएको जानकारी दिएको छ । ‘सडकमा ओटासिल प्रविधिअनुसार कालोपत्र भइरहेको छ, माटोको गुणस्तरका कारण कालोपत्र उप्किरहेको छ,’ इकाइ कार्यालय मलंगवाका साइट इन्जिनियर अरुण महतोले भने, ‘कल्भर्टमा भने अलि लापरबाही भएको देखियो ।’ सडक बनेपछि १३ महिनाभित्र भत्के पुनः बनाउने जिम्मेवारी ठेकेदारको हुने भएकाले अहिले भत्किएको पनि उसैले मर्मत गर्ने महतोको भनाइ छ । कल्भर्टको मर्मत नगरेसम्म ठेकेदारलाई जान नदिइने कार्यालयले जानकारी दिएको छ । पप्पु कन्स्ट्रक्सनका सबइन्जिनियर अरुण यादवले सम्झौताअनुसार नै काम नै गरिएको दाबी गरे।

‘हामीले सम्झौताभन्दा दायाँबायाँ काम गर्न मिल्दैन,’ उनले भने, ‘तर माटोको गुणस्तरका कारण कालोपत्र र कल्भर्ट भत्एिको हो।’ उनले टिपरलगायतका सवारीसाधन चलेकाले पनि सडकको कालोपत्र उप्किएको बताए।

उक्त सडक कालोपत्र गर्न पप्पुले २०७५ जेठ ६ मा काम सक्ने गरी २०७३ वैशाख २२ मा निर्माण सुरु गरेको थियो । करिब २१ किमी सडक मात्र कालोपत्र भएको छ । विश्व बैंकको सहयोगमा बन्दै गरेको सडक दाताले हात झिकेपछि बाँकी काम अलपत्र बनेको छ ।
पूर्व–पश्चिम राजमार्गदेखि हुलाकी सडक जोड्ने यो सबैभन्दा छोटो मार्ग छ । समयमा सडकको काम सम्पन्न नगरेकाले पप्पु कन्सट्रक्सनले तीन पटक म्याद थप गराइसकेको छ । तेस्रो पटक थपिएको म्याद पनि सकिएको छ । पप्पुले यस अवधिमा ९० प्रतिशत काम सकेको कार्यालयले जनाएको छ । सडकको लागत अनुमानको २२ प्रतिशत तल गएर पप्पुले १७ करोड ९२ लाख रुपैयाँमा ठेक्का सकारेको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७६ १०:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×