खेती प्रणाली नसुध्रिँदा उत्पादन घट्यो

डीआर पन्त

(डडेलधुरा) — पाँच वर्षदेखि गोलभेंडा खेती गर्दै आएकोमा यस वर्ष उल्लेख्य फल लागेन । हरेक वर्ष दुई लाख रुपैयाँसम्मको गोलभेंडा बिक्री गर्ने डडेलधुरा भागेश्वर गाउँपालिका–४ का दानबहादुर टेरको दुई रोपनी जग्गामा दुई क्विन्टल पनि फलेन । उनको बारीमा मात्र होइन, गाउँका अधिकांश कृषकले लगाएको गोलभेंडाका बिरुवामा राम्रो फसल लागेन ।

खेती प्रणाली नसुध्रिँदा उत्पादन घट्यो

केही वर्षदेखि लगातार विषादी प्रयोग गर्दै आएका कृषकको बारीमा तरकारी मात्र होइन परम्परागत रुपमा लगाएको अन्नबाली पनि अघिल्ला वर्षको तुलनामा कम उत्पादन भयो । यसअघि सुदूरपश्चिमका सात पहाडी जिल्लासहित कैलाली र कञ्चनपुर हुँदै सीमा क्षेत्रका भारतीय बजारमा समेत कृषकहरूले आफ्नो उत्पादन पुर्‍याउँथे । तर उत्पादन घटेसँगै यो सिलसिला टुटेको छ । भागेश्वर–४ कै अर्का कृषक ईश्वरी पन्तले भने फरक प्रविधि अँगाल्दै गत वर्षदेखि तरकारी खेती सुरु गरेका छन् । पन्तले रैथाने बीउ प्रयोग गरी अन्तरबाली तरकारी खेती सुरु गरेका कारण अन्य कृषकले पाएको पीडा भोग्नुपरेको छैन । पन्तले मात्र होइन उनीसँगै तरकारी खेती गर्ने गोमती केसीको बारीमा पनि लटरम्म तरकारी फलेको छ । एउटै गाउँ, उस्तै माटो, हावापानी पनि एउटै तर दुवै टोलका कृषकले लगाएको तरकारी उत्पादनमा भने भिन्नता देखिएको हो ।


‘खेती गर्ने तरिका नै परिवर्तन गर्नुपर्ने अवस्था आएको हो,’ भागेश्वरका अगुवा कृषक हरि ठकुराठी भन्छन्, ‘कृषकलाई प्रविधिको ज्ञान नहुनु, कृषि प्रणालीका विषयमा जानकारी नहुनु र अत्यधिक विषादी प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएकोले यस्तो समस्या देखिएको हो ।’ जलवायु परिवर्तनका कारण उत्पादन घट्न थालेको भन्दै अन्तर्राष्ट्रिय एकीकृत पहाडी विकास केन्द्र (इसिमोड) ले यहाँ अनुसन्धानात्मक खेती प्रणाली अपनाउन कृषकहरूलाई सघाउन थालेको छ । इसिमोडका वरिष्ठ कृषि प्राविधिक भवानी पन्त भन्छन्, ‘प्रतिकूल जलवायुका कारण बिग्रँदो खेती प्रणालीमा आमूल सुधार नहुँदासम्म कृषकले समस्या भोगिरहनु पर्नेछ ।’


एउटै वडाका दुईवटा टोलमा देखिएको उत्पादनको भिन्नतालाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा उनले अर्थ्याए । उनका अनुसार बिरुवाका लागि चाहिने आवश्यक खाद्य तत्त्व, रोग, किरा नियन्त्रण गर्न बायोपेस्टिसाइड, प्रांगारिक मलको (झोल मल) प्रयोग गर्दै जलवायु अनुकूल हुनेगरी खेती गरेका कृषकले समस्या भोगेका छैनन् । पन्त भन्छन्, ‘अनुसन्धान सुरु गरिएको पछिल्लो एक वर्षलाई हेर्दा कृषकले खेती प्रणालीमा गरेको सुधारले केही सकारात्मक नतिजा दिएको छ ।’


बिना कुनै रासायनिक विषादी आफ्नै घरआँगनमा बनाइएको झोल मल र प्रांगारिक विषादीबाट बालीमा लाग्ने रोग र किरा नियन्त्रण गर्ने सहज प्रविधिलाई लिएर कृषक सकारात्मक छन् । इसिमोडले अनुसन्धान गरिरहेको खेती प्रणाली अवलोकन गर्न आएका जयबहादुर खड्काले भने, ‘हजारौं लगानी लगाई तथा रैथाने बीउ, मल र विषादीको प्रयोग गरी हामीले गरिरहेको खेतीभन्दा धेरै उत्पादन भइरहेको रहेछ ।’ उनका अनुसार जिल्लामै बढी तरकारी उत्पादन गर्नेमध्येमा पर्ने फिन्याकोटका कृषकले पनि अत्यधिक विषादी प्रयोग गरी आम्दानी गरिरहेका छन् । ‘यसले छोटो समयसम्म उत्पादन राम्रो होला तर केही वर्षमै ह्रास आउने पक्का छ । त्यसकारण दीर्घकालसम्म व्यावसायिक खेती गर्न सकिनेगरी विकसित खेती प्रणालीबारे अनुभव लिन जरुरी छ ।’


यहाँ जलवायु, मलखाद र सुक्ष्म तत्व, बाली व्यवस्थापन र जोखिम लगायतमा ध्यान दिई कृषकले खेती प्रणाली परिवर्तन गर्न जरुरी रहेको पन्त बताउँछन् । उनले अर्गानिक उत्पादन र विषादी प्रयोगबाट गरिएका उत्पादनको फरक–फरक बजार मूल्य हुनुपर्ने सुझाए । ‘फरक–फरक उत्पादनको मूल्य एउटै हुँदा कृषकले तत्कालको फाइदा हेरी खेती प्रणालीमा परिवर्तन गर्न सकेका छैनन्,’ उनले भने । स्थानीय सरकारले उत्पादनको मूल्य निर्धारण गर्ने हो भने विषादीको प्रयोग घट्दै जाने उनको दाबी छ । ‘वातावरणमा प्रतिकूल प्रभाव, उपभोक्ताको स्वास्थ्यमा पर्ने असर कम गर्न र जलवायु अनुकूलनका लागि लागि पनि सरकारले यसमा गम्भीर भएर सोच्नुपर्छ ।’

प्रकाशित : फाल्गुन ४, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?