कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पेट्रोलियम पदार्थको अन्वेषण : ‘सेस्मिक सर्भे’८० प्रतिशत पूरा

ज्योति कटुवाल

(दैलेख) — पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकालगायत विभिन्न क्षेत्रमा हुँदै गरेको ‘सेस्मिक सर्भे’ को काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार अन्वेषणको क्रममा सेस्मिक सर्भेलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ ।

पेट्रोलियम पदार्थको अन्वेषण : ‘सेस्मिक सर्भे’८० प्रतिशत पूरा

सेस्मिक सर्भेबाट जमिनमुनि कुन क्षेत्रमा कति पेट्रलियम पदार्थको भण्डारण छ भन्ने पत्ता लाग्छ । कोटिलादेखि पादुकासम्मको क्षेत्रलाई आधार मानेर झन्डै ४ सय वर्गकिलोमिटर क्षेत्रमा सर्भेको काम भएको विभागले जनाएको छ । विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीका अनुसार अहिलेसम्म सर्भेको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । ‘जुनसुकै अन्वेषण गर्दा पनि सेस्मिक सर्भेलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ,’ उनले भने, ‘यसको काम सकिएपछि थप अन्वेषण अगाडि बढाउन निकै सहज हुनेछ ।


गत कात्तिकदेखि सुरु गरिएको अन्वेषणअन्तर्गत पूर्व–पश्चिम क्षेत्रमा तीन र उत्तर–दक्षिण दिशातर्फ सात गरी १० वटा लाइनमा सर्भेको काम भइरहेको छ । अहिलेसम्म सातवटा लाइनमा सर्भेको काम सकिएको विषेषज्ञ टोलीले जनाएको छ । सर्भेका लागि ३ महिनादेखि चिनियाँसहित नेपाली विशेषज्ञको टोली श्रीस्थान, नाभिस्थान, पादुकालगायत क्षेत्रमा खटिएको छ । बाँकी रहेका तीन लाइनमा फागुन दोस्रो सातासम्म सर्भेको काम सक्ने लक्ष्य रहेको अन्वेषण अधिकृत त्रिपाठीले जानकारी दिए । उनका अनुसार अन्वेषणअन्तर्गत पेट्रोलियम जियोलोजिकल, म्याग्नेट, टेल्युरिक, जिओकेमिकल, स्याम्पलिङलगायत सर्भेका काम हुनेछन् ।


पूर्वी भागमा सेस्मिक सर्भेको काम सम्पन्न गर्न चिनियाँ प्राविधिक टोलीले दुल्लु नगरपालिका–८ मा क्याम्प स्थापना गरी अन्वेषणको काम गरिरहेको छ । १० वटै ‘सेस्मिक’ लाइनमा सर्भे सकिएपछि चिनियाँ प्राविधिक टोली फर्कने उनको भनाइ छ । उनका अनुसार सर्भेको काम सकिएपछि अन्वेषणबारे थप अध्ययन गर्न दुई वर्ष लाग्ने देखिएको छ । ‘यो अध्ययनपछि तत्कालै चार किलोमिटर गहिराइसम्म मुख्य ड्रिलिङको काम सुरु हुनेछ,’ उनले भने, ‘अहिले चिनियाँ टोलीले संकलन गरेको स्रोत र चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको छ ।’


टोलीका अनुसार दुल्लु र नारायण नगरपालिकासहित भैरवी, महाबुलगायत गाउँपालिका क्षेत्रलाई आधार मानेर १० सेस्मिक लाइनमा दुई सय किलोमिटर क्षेत्रमा अन्वेषण भइरहेको छ । जसका लागि चार सय वर्गकिलोमिटर भूभाग समेटिएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?