माछा खान चिसापानी

गणेश चौधरी

(टीकापुर) — कोहलपुरबाट माइक्रो बस चढ्ने क्रममा धनगढीका रमेशप्रसाद भट्टराईले सहचालकलाई कर्णाली चिसापानीमा खाना खान रोक्नु पर्ने सर्त राखे । चिसापानीमा नै खाना खान रोक्नुपर्ने रमेशको सर्तपछिको अन्तर्य त्यहाँ पाइने माछा नै हो । साथीहरूसँग समूहमा आएका उनले भने, ‘यो रुटमा आवतजावत गर्दा चिसापानीको माछा खाने अवसर छुटाएको छैन ।’

चिसापानी हुँदै पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने धेरैको चाहना रमेशको जस्तै हुन्छ । टीकापुर–नेपालगन्ज खण्डमा माइक्रो चलाउने महेन्द्र भण्डारी धेरै यात्रुले चिसापानीमा माछा खानकै लागि बस रोक्न आग्रह गर्ने गरेको बताए । चिसापानीमा होटल व्यवसाय गर्दै आएका अर्जुन अधिकारीले भने, ‘पहिले–पहिले माछा खान त्यति रुचाउँथेनन् । पछिल्लो समय यहाँ आउने धेरैको माग माछा नै हुन्छ । त्यसमाथि माछा खाने भनेपछि पहिलो नम्बरमा चिसापानीको नाम आउँछ ।’


स्थानीय व्यवसायी लब शाहीका अनुसार यहाँ होटेलअनुसार फ्राई, ग्रेभी, स्टिम, सेकुवा, सुकुटी, पकौडा, ममलगायत माछाका विभिन्न परिकार पाइन्छ । खान मात्रै होइन धेरैले यहाँबाट माछा किनेर पनि लैजान्छन् । अधिकारीका अनुसार सुकाएको माछा प्रतिकिलो २५ सय र आलो माछा ६ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । धनगढी र नेपालगन्जको मध्यभागमा पर्ने सुदुरपश्चिमको प्रवेशद्धारको रुपमा रहेको चिसापानी दशकौंअघि हटेरु बजारका रुपमा स्थापना भएको थियो । अहिले भने आन्तरिक पर्यटकका लागि प्रमुख गन्तव्यका रुपमा विकसित भइरहेको छ ।


कर्णाली नदीको माछा खान, साहसिक जलयात्रा गर्न, नेपालकै नमूना र आकर्षक पुल तथा रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको इन्टेक अवलोकनका लागि पर्यटकहरू यहाँ आउने गरेका छन् । पर्यटक आगमन बढ्दै गएपछि यहाँ होटलको संख्यासँगै स्तर पनि बढेको अधिकारी बताउँछन् । उनले भने, ‘सिद्धार्थ, सिद्धबाबा, लुक लगायतका होटल ठूलो लगानीमा सञ्चालनमा आएका छन् ।’


एक सय ७० किमीसम्म जलयात्रा

अन्य नदीमा भन्दा कर्णालीमा लामो दूरीमा र्‍याफ्टिङ गर्न सकिने भएकोले यसमा पर्यटकको रुची बढेको व्यवसायी बताउँछन् । कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चरका सञ्चालक विष्णुप्रसाद जैशी भन्छन्, ‘कर्णालीमा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालन गर्न चुनौतीपूर्ण थियो । तर २०६९ देखि आन्तरिक पर्यटकलाई लक्षित गरी र्‍याफ्टिङ सेवा सुरु गरेका हौं । अहिले पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।’


संसारका विभिन्न १४ लामा र्‍याफ्टिङ साइटमध्ये कर्णाली पनि एक रहेको उनको दाबी छ । नेपालको सबैभन्दा लामो नदी कर्णालीमा एक सय ७० किलोमिटरसम्म जलयात्रा गर्न सकिने व्यवसायीहरू बताउँछन् । व्यवसायी जैशीका अनुसार जुम्लादेखि चिसापानीसम्म करिब १४ दिनको साहसिक जलयात्रा गर्न सकिन्छ । उनले भने, ‘पानीको वहाव बढी भएको स्थानमा जलयात्रा गर्न नसक्नेका लागि चिसापानीबाट दक्षिणतर्फ बर्दियाको ठाकुरद्वारा वा कैलालीको टीकापुरसम्म जलयात्रा गर्न सकिन्छ । हुम्लाबाट आउनेले भने साहसिक यात्रा गर्नुपर्छ ।’


छोटो दूरीमा हाल चिसापानीदेखि टीकापुर पार्कसम्म र्‍याफ्टिङ गर्न पाइन्छ । उनले भने, ‘यो जलयात्रा २८ किलोमिटर लामो छ, यसलाई पार गर्न चार घण्टा लाग्छ । लामो दूरीमा यात्रा गर्न चाहे भेरी र कर्णालीको संगमस्थल विनीघाट वा हुम्लाबाट पनि र्‍याफ्टिङ गराउने गरेका छौं ।’ र्‍याफ्टिङका क्रममा विभिन्न प्राकृतिक दृश्य, बर्दिया राष्ट्रिय निकुञ्जका जंगली जनावर, चराचुरुङ्गी तथा थरिथरिका फूलहरूको दृश्यावलोकन गर्न पाइन्छ ।


सिँचाइ आयोजनाले थपेको सुन्दरता

कर्णाली पुलको दक्षिणतर्फ निर्माण हुँदै गरेको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको ‘इन्टेक’ (बाँधस्थल) ले समेत चिसापानी आउने पर्यटकका लागि आकर्षण थपेको छ । हाल इन्टेक निर्माणको केही काम बाँकी रहेकोले निर्माणस्थलमा सर्वसाधारणलाई रोक लगाइएको छ । तर यहाँ आउने धेरै पर्यटक बाँधसम्म पुग्न र फोटो खिच्न चाहने गरेको आयोजनाका इन्जिनियर कृष्ण विष्टले बताए । कर्णाली नदीको पुललाई पृष्ठभूमिमा राखेर यहाँबाट फोटो खिच्न सकिन्छ । आयोजनाले कर्णाली चिसापानीको सुन्दरता बढाएको उनको भनाइ छ । प्रकाशित : फाल्गुन ३, २०७६ ०९:२८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

तातोपानीमा सधैं भीड

कान्तिपुर संवाददाता

बझाङ — हाडजोर्नी, नशा, चर्म रोग लगायत निको हुने विश्वासका साथ बझाङको तलकोट गाउँपालिका–१ स्थित तपोवनमा रहेको तातोपानीमा नुहाउन आउनेको संख्या बढेको छ । यस क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटक समेत तातोपानीमा नुहाएर फर्किने गरेका स्थानीय बताउँछन् ।

सडक यातायातको पहुँच पुगेसँगै ओझेलमा परेका तातोपानीका प्राकृतिक मुहान र कुण्डमा नुहाउन आउनेको संख्या बढेको सुनिकोटकी सुन्दरी कुँवरले बताइन् । ‘कतिपय त परिवारसहित गाडी रिजर्भ गरेरै नुहाउन आउँछन् । धेरैजसो भने मोटरसाइकलमै आउने गरेका छन्,’ उनले भनिन् । यसअघि माघे संक्रान्ति, श्रीपञ्चमीजस्ता चाडपर्वमा श्रद्धालुको उपस्थिति रहने गरेकोमा हाल अन्य समयमा समेत नुहाउनकै लागि पर्यटकहरू आउने गरेका तपोवन–१ का वडाध्यक्ष गोपालबहादुर धामीले बताए ।

‘पहिले चाडपर्वमा मात्रै नुहाउन आउँथे । अहिले त जाडोयाममा समेत धेरैजना नुहाउन आए,’ उनले भने, ‘अहिले दैनिक ५०–५५ जनासम्म आउने गरेका छन् ।’ दैनिक कति संख्यामा तातोपानीमा नुहाउन आउँछन्, गाउँपालिकाले कुनै तथ्यांक राखेको छैन । यसका लागि वडाले तयारी गरिरहेको उनले बताए । तातोपानीमा नुहाउन आउनेको संख्या बढेसँगै स्थानीयको आयआर्जनमा समेत सहयोग पुगेको उनको भनाइ छ । ‘यहाँ आउनेले गाउँबाट कुनै न कुनै स्थानीय उत्पादन किनेर लैजान्छन्,’ उनले भने, ‘पर्यटक लक्षित गरी गाउँमा चिया, नास्ता पसलहरू पनि सञ्चालन भएका छन् ।’ उनका अनुसार सेतीको माछा, माछाको सुकुटी, गाउँघरमा उत्पादन भएको तरकारी, घिउ, स्थानीय फलफूललगायतको बिक्रीसमेत बढेको छ । ओझेलमा रहेको यस क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गाउँपालिकाले गुरुयोजना बनाएर काम अघि बढाएको उनले बताए ।

सदरमुकाम चैनपुरबाट करिब आधा घण्टाको सवारीमा पुग्न सकिन्छ तपोवन । चैनपुर आएका बेला तातोपानीमा नुहाउन पुगेका डोल्पाका दिपेन्द्र शाहीले भने, ‘प्राकृतिक रुपमा आउने तातोपानीमा नुहाएको मेरो पहिलो अनुभव हो । निकै आनन्द र रोमाञ्चक अनुभूति भयो ।’ प्राकृतिक रुपमै बनेका तातोपानीका कुण्डमा डुबुल्की मार्दा सहरी क्षेत्रमा पाइने ‘साउना बाथ’ को भन्दा फरक आनन्द र अनुभूति हुने उनले अनुभव सुनाए ।

धार्मिकरुपमा यस क्षेत्रको विशेष महत्व छ । सेती नदीको किनार वारिपारि गरेर यहाँ १० भन्दा बढी तातोपानीका मुहानहरू छन् । यस क्षेत्रमा विवाह, व्रतबन्ध जस्ता धार्मिक अनुष्ठानका लागि बझाङ, डोटी, अछाम र सुदूरपश्चिमका पहाडी जिल्लाबाट श्रद्धालुहरू पुग्ने गर्दछन् । ‘तपोवन धार्मिक हिसाबले मात्र नभएर प्राकृतिक उपचारका लागि पनि महत्वपूर्ण ठाउँ हो,’ तलकोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले भने, ‘यसको व्यवस्थापन र प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका छौं ।’ उनका अनुसार तपोवन क्षेत्र विकास कार्यक्रमलाई गाउँपालिकाले गौरवको योजनामा समावेस गरेको छ ।

सेती किनारमा रहेका तातोपानीका मुहानहरू नदी कटानका कारण जोखिममा रहेकाले यसको संरक्षण गर्न गाउँपालिकाले पहल थालेको उनको भनाइ छ । कार्यपालिकाको बैठकले नदी किनारमा तटबन्ध बनाउने, सोलार लििटङबाट तातोपानी तानेर नुहाउन र पौडी खेल्न मिल्ने पोखरी र धारा निर्माण गर्ने, तपोवन क्षेत्रलाई घेरबार गर्नेलगायतका निर्णय गरेको उनले जानकारी दिए ।

यहाँ रात बिताउन चाहनेका लागि पाहुना घर, योग तथा ध्यान केन्द्र लगायत निर्माणको तयारी थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भण्डारीले बताए ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×