कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एम्बुलेन्स भाडामा मनपरी

कोहलपुरसम्मको १६ हजार आठ सय भाडा तोकिए पनि एम्बुलेन्स चालकहरुले २५ हजारसम्म लिने गरेका छन् । जिल्ला अस्पतालकै एम्बुलेन्सले समेत बढी भाडा लिइरहेको बिरामीको गुनासो छ ।
तृप्ति शाही

(बैतडी) — जिल्लामा चल्ने एम्बुलेन्सहरूले मनपरी भाडा असुलेको बिरामी र सर्वसाधारणले गुनासो गरेका छन् । नाफारहित उद्देश्य लिएर विभिन्न संघसंस्थाहरूले एम्बुलेन्स सेवा दिइरहेका बताए पनि व्यवहारमा भने नाफारहित नदेखिएको सर्वसाधारण बताउँछन् ।

एम्बुलेन्स भाडामा मनपरी

सरकारबाट शतप्रतिशत राजस्व छुटमा ल्याइएका एम्बुलेन्सको भाडादरमा एकरूपता छैन । जिल्ला एम्बुलेन्स समितिले तोकेको दरभन्दा उनीहरूले बढी भाडा असुल्दै आएका छन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको नाममा सञ्चालनमा रहेको एम्बुलेन्सले केही दिनअघि एक बिरामीलाई कोहलपुर लैजान २२ हजार रुपैयाँ भाडा मागेको अधिकारकर्मी सरस्वती नेपालीले बताइन् । ‘महँगो लागेर मिलाउनुस् भन्दा चालकले १८ हजारमा लैजान्छु भने । पाटन प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सले साढे १२ हजारमा लैजाने बताएपछि त्यसैमा पठायौं,’ उनले भनिन्, ‘बैतडीमा एम्बुलेन्स सञ्चालक संस्थाहरूले सेवाभन्दा नाफामूलक व्यापार गरिरहेका छन् ।’


केही समयअघि अर्को एउटा एम्बुलेन्सले बैतडीबाट कोहलपुरसम्म लैजान २५ हजार रुपैयाँ भाडा मागेको दशरथचन्द नगरपालिकाकी एक महिलाले बताइन् । ‘जुनसुकै हालतमा तत्काल लैजानुपर्ने भएकाले २० हजारमा कुरो मिल्यो,’ उनले भनिन् । त्यस्तै, केही महिनाअघि धनगढीसम्म पुर्‍याउन जिल्ला अस्पतालकै एम्बुलेन्सले १२ हजार रुपैयाँ लाग्ने बताएका अर्का एक स्थानीयले बताए । उनले भने, ‘पछि पाटन केन्द्रको एम्बुलेन्सले ९ हजार लियो । महँगो भयोभन्दा अर्को लैजानुस् भनेर भन्छन् ।’


हाल जिल्ला अस्पतालका दुई, पाटन केन्द्रकोएक, विभिन्न स्थानीय तह र सामाजिक संस्थाद्वारा सञ्चालनमा रहेकासहित जिल्लाभर एक दर्जन एम्बुलेन्सले सेवा दिइरहेका स्वास्थ्य कार्यालयले जनाएको छ । दुई वर्ष अघिसम्म ३/४ वटा मात्र भएकोमा स्थानीय तह गठन भइसकेपछि केहीले एम्बुलेन्स किनेका छन् । किन्न बाँकी स्थानीय तहसमेत खरिदको तयारीमा छन् । जिल्लामा १० स्थानीय तह छन् ।


चार वर्षअघि एम्बुलेन्स व्यवस्थापन समितिले भाडादर निर्धारण गरेको थियो । त्यसबेला बैतडी सदरमुकाम आसपासबाट डडेलधुरासम्म गएको चार हजार तीन सय, धनगढीसम्मको आठ हजार नौ सय र कोहलपुर वा नेपालगन्जसम्मको १६ हजार आठ सय रुपैयाँ भाडा तोकिएको थियो । तर बैतडीबाट बिरामी रेफर गरिने मुख्य सहर धनगढी, कोहलपुर, नेपालगन्जको भाडादर सबै एम्बुलेन्सले फरकफरक लिने गरेका छन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानले धनगढीको १२ हजार र कोहलपुर पुगेको १८ हजार रुपैयाँ लिने गरेको प्रतिष्ठानअन्तर्गत एम्बुलेन्स सञ्चालक समितिका संयोजक विनोद चन्दले बताए । दशरथचन्द नगरपालिका–२ मा रहेको देहिमाडौं स्वास्थ्य चौकीको एम्बुलेन्सले धनगढीको १० हजार र कोहलपुर बिरामी पुर्‍याएको १७ हजार रुपैयाँ भाडा लिने गरेको छ ।


जिल्ला अस्पतालका कर्मचारी खेमराज भट्टले भाडादरमा एकरूपता नभएको स्विकारे । आधिकारिक दर नतोकिएको भए पनि अस्पतालका कर्मचारीहरूको बैठकबाट सेवाग्राहीलाई मार नपर्नेगरी दररेट कायम गर्ने गरिएको उनले बताए । भट्टका अनुसार पाटन प्राथमिक स्वास्थ्य केन्द्रले वडाध्यक्षसहित स्वास्थ्य केन्द्रका पदाधिकारी बसेर भाडादर लागू गरेको छ ।


भाडादर फरकफरक रहेको गुनासो आएपछि सबै एम्बुलेन्स सञ्चालकसँग बसेर छलफल गरिने स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले फोन सम्पर्क गरी भाडा बढी लिन नपाइने भन्दै एम्बुलेन्स सञ्चालकहरूलाई सूचित गराएको बताए । ‘मनपरी भाडा असुले कारबाही हुन्छ भनेका छौं,’ उनले भने, ‘सबै सञ्चालक, संस्था र स्थानीय तहका प्रतिनिधिलाई बोलाएर नयाँ दररेट तोक्छौं ।’

प्रकाशित : फाल्गुन २, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?