३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ग्रामीण सडकले मुख्य राजमार्गमा जोखिम

कान्तिपुर संवाददाता

दार्चुला — निर्माणाधीन ग्रामीण सडकले मुख्य राजमार्गमा क्षति पुर्‍याउँदा दुर्घटनाको जोखिम बढेको छ । ग्रामिण सडक निर्माणका क्रममा माथिबाट माटो, ढुंगा खस्दा महाकाली राजमार्गअन्तर्गत दार्चुला खण्ड पटक–पटक अवरुद्धसमेत हुने गरेको छ ।

ग्रामीण सडकले मुख्य राजमार्गमा जोखिम

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरदेखि सदरमुकाम खलंगासम्म निर्माण भइरहेका ग्रामिण सडकले मुख्य राजमार्गका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । माथिबाट ढुंगामाटो खस्ने, पहिरो जाने, सडक भासिनेजस्ता कारणले राजमार्ग क्षेत्रमा यात्रा गर्दा जोखिम बढेको यातायात व्यवसायी बताउँछन् । हिलाम्य र धुलाम्य हुने समस्याले समेत हैरानी बढाएको छ ।


नौगाड, मार्मा, दुहु, मालिकार्जुन र लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाले डोजर खरिद गरेर धमाधम सडक निर्माण गरिरहेका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरीकनै प्रदेश तथा संघ सरकारको विशेष र समपुरक अनुदानबाट उनीहरूले सडक योजना अघि बढाइरहेका हुन् । महाकाली लोकमार्ग भएर शैल्यशिखर नगरपालिका–७ पनेबाजदेखि बन्तोली जाने सडक र मालिकार्जुन गाउँपालिका–४ ऐरिछानादेखि हुनैनाथ हुँदै वडा नम्बर ५ डाँडाकोट जाने सडकले सबैभन्दा बढी समस्या निम्त्याएको मालिकार्जुन गाउँपालिका–४ का जमनसिंह धामीले बताए । ‘पनेबाजदेखि ऐरिछानासम्म धेरै ठाउँमा राजमार्गमा क्षति पुगेको छ,’ उनले भने, ‘राजमार्गको माथिल्लो भागबाट शाखा सडक निर्माण भइरहेकोले त्यहाँबाट खस्ने ढुंगा, माटोले गर्दा यात्रा गर्दा अप्ठेरो भएको छ ।’


लामो समयदेखि महाकाली राजमार्गमा गाडी चलाउँदै आएका दिलानन्द जोशीले ग्रामीण सडक बनाउँदा खसेका ढुंगा र माटोका ढिस्काले मुख्य राजमार्गमा यातायात अवरुद्ध हुने गरेको बताए । उनले भने, ‘पहिला यस्तो समस्या थिएन । अहिले त माथिबाट खसेका ढुंगा, माटोले सडक भास्सिएर दुर्घटनाको जोखिम बढाएको छ ।’ ऐरिछानाबाट–डाँडाकोट सडक निर्माणका क्रममा खसेको माटोले ऐरिछानास्थित महाकाली राजमार्गको नाली बन्द भएको छ । गत वर्षदेखि मालिकार्जुन गाउँपालिकाले ठेक्कामा निर्माण सुरु गराएको सो सडक अझै बन्न सकेको छैन । ‘सडकको ट्र्याकसम्म खोलिएको छ । तर, ग्रेड नमिलाउँदा सवारी चल्ने अवस्था छैन,’ स्थानीय जोग्रेन्द्र धामीले भने, ‘सडकको सुविधा पुग्ने ठाउँमा समेत मुख्य सडकबिग्रेको छ ।’ गाउँमा सडक लैजाने नाममा राजमार्ग बिग्रेकोमा धामीले गुनासो गरे । ‘गाउँतिर पनि सडक पुग्नुपर्छ तर मुख्य राजमार्गमा क्षति नहुनेगरी काम गर्नुपर्छ,’ उनले भने ।


करकले–देथला–दल्लेक–खलंगा सडक खण्डमा पनि आधा दर्जन ठाउँमा सहायक मार्ग बनिरहेका छन् । महाकाली नगरपालिका–३, मालबेला पुग्न उक्त सडक बनिरहेको हो । प्रदेश सरकारको बजेटमा बन्न लागेको सो सडकको ट्र्याक गत असारमै खोलिएको हो । ग्रामीण सडकहरू प्राविधिक योजनाबिनै निर्माण भइरहेका लास्कुका स्थानीय बताउँछन् । दल्लेक–नागु–सीना सडक निर्माणका कारण नौगाड गाउँपालिका–३, चौड आसपासको खोला किनार क्षेत्रमा वर्षातमा मुख्य राजमार्ग क्षेत्र नै अवरुद्ध हुने गरेको नौगाड–२ का गोविन्दसिंह ठगुन्नाले बताए । ‘यस सडकले दल्लेक गाउँका केही घरमा जोखिम बढाएको छ,’ उनले भने, ‘गाउँपालिकाले सडक बनाउनुअघि सम्भावित जोखिमका बारेमा कहिल्यै सोचेन, जसका कारण यस्तो अवस्था आएको हो ।’

प्रकाशित : फाल्गुन १, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?