महाकाली तर्न ट्युबकै भर 

महाकालीपारि भारतीय क्षेत्रमा पक्की सडक, विद्युत्, खानेपानी र सिँचाइसहितका विकासमा पूर्वाधार छ, वारि भने भएका विकास संरचना पनि जीर्ण बन्दै छन्
डीआर पन्त

(डडेलधुरा) — जयबहादुर दैनिक ट्युबमा महाकाली तराउने काम गर्छन् । युवा अवस्थादेखि नै उनले महाकालीमा ट्युबबाट वारिपारि गराउने काम सुरु गरेका हुन् । वर्षातका दुई महिनाबाहेक उनको हरेक दिन प्रायः महाकालीमै बित्छ । 

महाकाली तर्न ट्युबकै भर 

महाकाली किनाराका बासिन्दाले सामान्य कामका लागि पनि सीमापारि जानु पर्छ । दैनिक उपभोग्य वस्तुका लागि होस या औषधि उपचारका लागि जोखिम मोलेर जयबहादुरको ट्युबमा महाकाली तरेर पारि जानुको अर्को विकल्प उनीहरूसँग छैन । गाउँपालिका केन्द्र पुग्न एक दिनको पैदलबाटो तय गर्नुपर्छ । सदरमुकाम दोस्रो दिन मात्र पुग्न सकिन्छ । जोखिम मोलेर भए पनि ट्युबमा नदी तरेर एक घण्टामै भारतको तामली बजार पुग्न सकिन्छ ।


जयबहादुर पञ्चेश्वर परियोजनाको रिरेगुलेटिङ बाँध निर्माण हुने रुपालीगाडका बासिन्दा हुन् । ०५२ मा महाकाली सन्धि हुँदा ३० वर्षका थिए, उनी । ‘६ महिनामा पञ्चेश्वर परियोजना निर्माण सुरु हुने, रूपालीगाडमा बाँध बन्ने, ३०/४० हजार युवाले रोजगारी पाउने, सुदूरपश्चिम झिलिमिली हुने, महाकाली राजमार्ग बन्ने, बाँधले प्रभावित हुने दर्जनौं बस्तीलाई पुनर्वासका लागि तराईमा सारिनेजस्ता सपना बाँडिँदा म युवा थिएँ,’ जयबहादुरले भने, ‘हेर्दाहेर्दै २५ वर्ष बिते न पञ्चेश्वर सुरु भयो नत रुपालीगाडमा बाँध बन्यो’ ।


‘सुदूरपश्चिम झिलिमिलि हुने, हजारौं युवाले रोजगारी पाउने कुरा त सपना जस्तै भए’ जयबहादुरले भने, ‘रुपालीगाड बाँध बन्ने हल्लाले यस क्षेत्रको दीर्घकालीन विकासमा पनि असर परेको छ ।’ नेपालले आफैं बनाउने पश्चिम सेती बन्ला भन्ने आशामा त्यस क्षेत्रका बासिन्दाको तीन पुस्ता बितिसकेको उनी बताउँछन् । उनले भने, ‘पञ्चेश्वर त भारतले चाहे बन्ने नत्र नबन्ने योजना हो खै अब यो परियोजना पूरा होला भन्ने आशा नै छैन कसैलाई ।’


डडेलधुरा सदरमुकामबाट ५५ किलोमिटर दूरीमा रुपालीगाड बाँधस्थल छ । सदरमुकामबाट बगरकोट हुँदै रुपालसम्म सडक यातायातले जोडिएको छ । साविक रुपाल गाविसको वयलपाटाबाट रुपालीगाड जोड्ने सडक निर्माण हुन सकेको छैन । महाकाली किनारै किनार साविक भागेश्वर गाविसको लामिकाँडेबाट गर्ग क्षेत्र जोड्ने सडकमा गत बर्ष प्रदेश सरकारले ३० लाखभन्दा बढी बजेट छुट्टयाए पनि काम हुन सकेको छैन ।


साविक रुपाल गाविसको बयलपाटाबाट पन्युटसम्म सडकको ट्र्याक खुले पनि यातायातका साधन चल्ने गरी निर्माण हुन सकेको छैन । डडेलधुराको परशुराम नगरपालिकादेखि वलकाँडे, चुडी र पत्रमजस्ता रुपालीगाड क्षेत्रमा पर्ने गाउँ जोड्ने सडक निर्माण सुरु भएको धेरै वर्ष भइसकेको छ । तर निर्माण हुन सकेको छैन । सडक मात्र होइन यस क्षेत्रका एक दर्जनभन्दा बढी गाउँमा विकास निर्माणका पूर्वाधारमा अहिलेसम्म लगानी हुन सकेको छैन ।


गाउँपालिका, प्रदेश सरकार र संघीय सरकार सबैले बाँधबाट प्रभावित हुने भएकाले यस क्षेत्रका आवश्यक विकास योजनामा बजेट छुट्टाउन मान्दैनन् । स्थानीय शिक्षक आरडी जोशीले भने, ‘स्थानीय तहमा विकासका लागि बजेटको ओइरो लाग्दा रुपालीगाड क्षेत्रका बासिन्दाका लागि हर्ष न विस्मातको स्थिति छ ।’ उनका अनुसार भारतलाई जहिले बिजुली र पानी आवश्यक हुन्छ त्यतिबेला मात्र पञ्चेश्वर परियोजना बन्ने हो । उनले भने, ‘बाँधका नाममा २५ वर्षदेखि यस क्षेत्रका वासिन्दाले विकासबाट विमुख हुनुपरेको छ अझै कति वर्ष कुर्नुपर्ने हो कसैलाइ जानकारी छैन ।’


गाउँगाउँ मात्र होइन टोल टोल जाने सडक बनिरहेका छन । सडक निर्माणका नाममा स्थानीय तहको ८० प्रतिशतसम्म बजेट खर्च हुन्छ । तर पञ्चेश्वरजस्तो महत्त्वाकांक्षी परियोजनाको रिरेगुलेटिङ बाँध निर्माण हुने स्थलमा अहिलेसम्म सडक यातायात पुग्न नसकेको शिक्षक जोशीले गुनासो गरे । उनले भन,े ‘पश्चिम सेती जस्तै सपना भएको छ पञ्चेश्वर परियोजना पनि ।’


जयबहादुरजस्ता यस क्षेत्रका सयौं युवा पञ्चेश्वर परियोजना निर्माण हुने कुरा सुन्दासुन्दै वृद्ध हुन थालेका छन । औषधि उपचार, दैनिक उपभोग्य वस्तु र रोजगारी खोज्न दैनिक महाकाली तरेर पारि जानु वाहेक यस क्षेत्रका बासिन्दाको दिनचर्या परिवर्तन हुन सकेको छैन । रुपालीगाड बाँध निर्माण भए बिस्थापित हुने एक दर्जनभन्दा बढी मानव बस्तीमा बाँध बन्ने भएकै कारण दीर्घकालीन विकासका संरचना बन्न सकेका छैनन् । थुप्रै पर्यटकीय स्थल यस क्षेत्रमा छन् । गर्ग क्षेत्र, साइलको झरना र पौराणिक सिद्ध गुफा लगायतका प्रख्यात तीर्थ स्थल पनि यसै क्षेत्रमा छन् । तर रुपालीगाडमा वाँध वन्ने भएका कारण भौतिक पूर्वाधार निर्माणमा लगानी शून्य छ ।


‘२५ बर्ष देखि यस क्षेत्रको विकासमा ठूलो लगानी हुन सकेको छैन’ साविक रुपाल गाविसका पूर्व अध्यक्ष नरबहादुर ठकुराठीले भने, ‘साविक भागेश्वर गाविस देखि महाकाली किनारै किनार रुपाली गाड क्षेत्र जोड्ने सडक समेत बन्न सकेको छैन ।’ उनले पञ्चेश्वर परियोजनाको रिरेगुलेटिङ बाँध बन्ने भएपछि पछिल्लो समय जिल्लाको रुपाली गाड सबैभन्दा दुर्गम क्षेत्र बन्न पुगेको बताए । उनले भने, ‘महाकालीपारि भारतीय क्षेत्रमा पक्की सडक बनेका छन, तामली बजार आधुनिक बनेको छ, बिद्युत, खानेपानी , सिँचाइसहित विकासका राम्रा पूर्वाधार वनेका छन तर वारि भने भएका विकास संरचना पनि जीर्ण बन्दै जान थालेका छन् ।’


महाकाली सन्धिको लगत्तै यस क्षेत्रको निरीक्षणमा आएको नेपाली पक्षको टोलीले ६ महिनाभित्रै काम सुरु हुने वताएको सम्झना गर्दै जयबहादुर पनि वाँध निर्माण हुने भएकै कारण यस क्षेत्रको विकास निर्माणमा कसैले चासो नराखेको बताउँछन् । उनी भन्छन्, ‘पटकपटक यस क्षेत्रमा आउने नेपाल र भारतका अधिकारीहरूसँग स्थानीयले महाकालीमा एउटा झोलुंगे पुल निर्माण गरिदिन आग्रह गर्दा पनि कसैले चासो राखेनन् ।’


‘रुपालीगाड बाँध बने दुवैतिरका मानव बस्ती उठ्नुपर्छ तर भारतले आफ्नो क्षेत्रका गाउँमा विकासका सबै पूर्वाधार निर्माण गरिरहेको छ’ रुपालका स्थानीय अगुवा लालबहादुर मडैले भने, ‘वारि नेपाल तर्फ भने वाँध वने विस्थापित हुने गाउँ भनेर विकास निर्माण ठप्प जस्तै भएको छ ।’ उनले गाउँ युवा विहीन भएको अधिकांश तेस्रो मुलुकमा छन भने बाँकी रहेका महाकालीपारि भारतीय बजारमा रोजगारी गरिरहेको बताए । मडैले भने, ‘गर्ग क्षेत्रबाट सुरु हुने रुपाली गाड बाँध क्षेत्र सम्मका एक दर्जनभन्दा बढी मानव बस्तीका बासिन्दाले सास्ती भोग्नुपरेको छ ।’


‘केही वर्षअघिसम्म बाँध बन्नेमा स्थानीय आशावादी नै थिएँ,’ मडै भन्छन्, ‘लिपुलेक र कालापानी भारतले लिएको हल्ला सुनेपछि अब महकालीमा बाँध बन्ला त्यसको फाइदा नेपालीलाई होला भन्ने कुरामा स्थानीयले विश्वास गर्न छाडेका छन ।’ उनका अनुसार कहिलेकाहीँ बाँध क्षेत्रको अनुगमन गर्न आउने नेपाली र भारतीय पक्षका अधिकारीहरूले ढिलो भए पनि बाँध बन्नेमा स्थानीयलाई विश्वस्त तुल्याउँदै आएका थिए । पछिल्लो समय भारतसँग भएको लिपुलेक कालापानी क्षेत्रको विवादका कारण सर्वसाधारणले बाँधको आशा छोडिसकेको उनी बताउँछन् । हुन पनि हो घर आँगनमा बगेको महाकालीबाट स्थानीयले कुनै फाइदा लिन पाएका छैनन् ।

प्रकाशित : माघ २९, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?