कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुत्केरीलाई ‘कोसेली’

बैतडी — गर्भवती र सुत्केरीलाई लक्षित गरी बैतडीका अधिकांश स्थानीय तहले कोसेली कार्यक्रम सञ्चालनमा ल्याएका छन् । शिशु जन्मिएको एक हजार दिनसम्म आमा र बच्चालाई कोसेली दिने कार्यक्रमलाई पालिकाहरूले प्राथमिकता दिएका हुन् । जिल्लाका १० स्थानीय तहमध्ये ८ वटाले यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याएका छन् ।

गाउँपालिकातर्फ सुर्नया, पञ्चेश्वर, शिवनाथ, दोगडाकेदार र डिलाशैनी तथा नगरपालिकातर्फ पुर्चौडी, मेलौली र पाटन नगरपालिकाले कोसेली कार्यक्रम सञ्चालनमा ल्याएका छन् । जिल्लाका दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाले मात्रै सुत्केरी कार्यक्रम लागु गरेका छैनन् ।


कोसेली कार्यक्रमअन्तर्गत सुरुमा उपप्रमुखहरूले गर्भवती र सुत्केरीको घरमै पुगेर पोषिलो खानेकुरा र सरसफाइका सामग्रीहरू राखिएको झोला वितरण गर्छन् । त्यसपछि सम्बन्धित वडाका स्वास्थ्य संस्थामार्फत गर्भवती र सुत्केरीले कोसेली पाउँछन् । दुर्गममा पर्ने पञ्चेश्वर गाउँपालिकाले यसै साताबाट गर्भवती र सुत्केरीलाई कोसेली दिन सुरु गरेको उपाध्यक्ष बिना भट्टले बताइन् । नियमअनुसार चारपटक गर्भजाँच गरेका, स्वास्थ्य संस्थामै सुत्केरी भएका महिलाहरूलाई कोसेली दिन थालिएको उनले स्पष्ट पारिन् ।


ग्रामीण क्षेत्रमा घरमै असुरक्षित रूपमा सुत्केरी हुने, आमा र बच्चाको स्वास्थ्यमा खासै ध्यान नदिने चलन यथावत छ । उनीहरूलाई कोसेली कार्यक्रममार्फत यसबारेमा सचेत समेत गराउन थालिएको उनले बताइन् । ‘हाम्रामा यो वर्षदेखि कोसेली कार्यक्रम लागू गरेका हौं । सबै गर्भवतीलाई स्वास्थ्य संस्थामै आएर सुत्केरी गराउन तथा आफ्नो र बच्चाको स्वास्थ्यमा ख्याल गर्न प्रेरित गरेका छौं ।’ भट्टका अनुसार म्याक्सी, बच्चाको तौलिया, आयोडिनयुक्त नुन, प्याड, घिउ, मञ्जन, ब्रसलगायत पोषण र सरसफाइका सामग्री दिने गरिएको छ ।


बच्चाको कम्बल, भटमास, दाल, घिउ, जुवानो, साबुन, मन्जन, ब्रसलगायत पोषिलो र सरसफाइका सामग्री राखिएको झोला ‘हजार दिने’ आमालाई दिने गरिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक नवराज जोशीले बताए । यस वर्षदेखि लागु गरिएको कार्यक्रमले आमा र बच्चामा देखिने कुपोषण घटाउने लक्ष्य लिएको उनको भनाइ छ । पोषणको अवस्थामा सुधार ल्याउन र संस्थागत सुत्केरीको संख्या बढाउनको लागि कोसेली कार्यक्रम प्रभावकारी हुने उनको विश्वास छ । यसका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


बच्चा जन्माइसकेपछि केही महिलाहरू फर्केर फेरि स्वास्थ्य संस्था नजाने भएकोले उनीहरूलाई त्यसप्रति सचेत बनाउन कोसेली कार्यक्रम प्रभावकारी हुन थालेको मेलौली नगरपालिकाकी उपप्रमुख राधा ओझाले दाबी गरिन् । सुत्केरीको संख्या बढाउन, घरमा हुने सुत्केरी शून्य पालिका बनाउन, सबै बच्चा र आमालाई स्वास्थ्य परीक्षणको पहुँचमा पुर्‍याउने कार्यक्रमको लक्ष्य रहेको उपप्रमुखहरू बताउँछन् ।


कार्यक्रमका कारण गर्भवती र सुत्केरी अवस्थामा स्वास्थ्य संस्थामा आएर सेवा लिन, चेकजाँच गराउन उनीहरू सचेत हुँदै गएको दोगडाकेदार गाउँपालिकाको न्वाली स्वास्थ्य चौकीमा कार्यरत नैनसिंह गोयलाको दाबी छ । उनका अनुसार घरपरिवारले पनि आमा र बच्चाको स्वास्थ्यमा ख्याल राख्न थालेका छन् ।

प्रकाशित : माघ २५, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?