१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सडकभन्दा पुल माथि

मनोज बडू

(दार्चुला) — शैल्यशिखर नगरपालिकाको करकलेदेखि धुलिगडा, दल्लेक हुँदै सदरमुकाम खलंगा जोड्ने सडकखण्डको रैचु खोलाको मोटरेवल पुल निर्माणमा ढिलाइ भएको छ । साढे चार वर्षअघि सम्झौता भई दुई वर्षमा बनाउनुपर्ने भनिए पनि पुलको निर्माणकार्य अझै पूरा हुन सकेको छैन ।

सडकभन्दा पुल माथि

नौगाड गाउँपालिका–६ स्थित रैचु खोलामा पुल बनाउने कार्य लामो समयदेखि अलपत्र पर्दा पुलबाट सडकसम्मको दूरी नै १२/१५ मिटर वर सरेको छ । खोला गहिरिँदै गएपछि इस्टिमेटअनुसार जमिनको सतहभन्दा पुल अग्लोसमेत बनेको छ ।


रैचु खोलाले पुल वरपरको भूभाग कटान गर्दा पहिले इस्टिमेट गरेअनुसार पुलको उचाइ कायम नरहेको नौगाड गाउँपालिका–३ का रघुवीर सिंह ठगुन्नाले बताए । ‘सडकको सतहभन्दा पुल अग्लो स्थानमा छ,’ उनले भने, ‘पुलबाट खोला तर्नेभन्दा पनि पुल हेर्दै सो मुनि बनेको बाटोबाट वारपार गर्नुपर्ने बाध्यता छ ।’ पुलतर्फ उक्लिने सम्भावना नभएकोले खोलाबाट सवारी साधन चलाइने गरिएको छ । ठगुन्नाका अनुसार लामो समयदेखि पुल निर्माण अलपत्र पर्दा वर्षात्मा यो सडकखण्ड बन्द हुने गरेको छ । खोलामा पानीको बहाव धेरै हुँदा सवारी आवतजावत तथा हिँड्डुल गर्नसमेत समस्या आउने गरेको उनले बताए ।


मुलुक संघीय संरचनामा गएपछि उक्त पुलको सबै जिम्मेवारी जिससबाट भौतिक पूर्वाधार कार्यालय बैतडीमा सरेको हो । सो पुल निर्माणका लागि २०७२ असार २९ मा युनिता बिल्डर्स् भेभीसँग ठेक्का सम्झौता भएको हो । २०७४ असार मसान्तमा निर्माण सक्नुपर्ने पुलको दुईपटक म्याद थपिएको भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन । पुल १ करोड ८१ लाख १० हजारभन्दा बढी लगानीमा बन्ने भनिएको थियो । सडकलाई पुलको उचाइ बराबर पुर्‍याउन ग्याविन जाली भरेर सडक उठाउने काम भइरहेको भौतिक पूर्वाधार कार्यालय बैतडीले जनाएको छ । सुरुमा सही इस्टिमेट र समयमै पुल नबन्दा लागत बढ्ने देखिएको कार्यालय बताउँछ ।


ठेकेदारलाई चाँडो काम सक्नु भनेर धेरैपटक मौखिक र लिखित रूपमा ताकेता गरिएको भौतिक पूर्वाधार कार्यालय बैतडीका प्रमुख जगत जोशीले बताए । सोही ताकेताअनुसार गएको असोज–कात्तिकमा केही काम भए पनि अहिले पुनः रोकिएको उनको भनाइ छ । उनले सडकको पर्खाल उठाएर ग्रेड मिलाएर गाडी चल्ने बनाउनुपर्ने र पुलको पारिपट्टि खन्नुपर्ने अवस्था देखिएको बताए । पुलको दायाँतिर स्थानीयको घर परेको हुनाले काममा अवरोध भएको उनी बताउँछन् । विवाद मिलाएर छिट्टै काम सुरु गर्न कार्यालयको प्राविधिक र ठेकेदारलाई निर्देशन दिइसकेको जोशीको भनाइ छ ।


‘पुल निर्माणको काम करिब–करिब सकिएको छ,’ उनले भने, ‘सडकलाई पुलसम्म उठाउन नसक्दा बाह्य रूपमा भएको काम देखिएको छैन ।’ ठेकेदारले चैतसम्म पुल निर्माणको काम सक्ने प्रतिबद्धता गरेको हुनाले ठेक्काको म्याद थपको प्रक्रियामा रहेको उनले जानकारी दिए ।


उक्त सडकखण्डको रैचु र धुलिगडा खोलामा पुल निर्माण भए वर्षात्‌को समयमा पनि सदरमुकाम खलंगासम्मै गाडी गुड्छ । धुलिगडाका स्थानीय अर्जुन धामीका अनुसार ४ वर्ष अगाडि निर्माण सुरु गरिएको नौगाड गाउँपालिका–६ स्थित धुलिगडा खोलाको पुल पनि अलपत्र अवस्थामा छ । उनका अनुसार २०७३ को असारमा थोरै काम भएको थियो । त्यसको एक–दुई वर्षपछि खोलाको वारिपारि आधामात्रै पिल्लर बनेको छ । त्यसपछि निर्माणस्थलमा कामदार नै नदेखिएको उनको भनाइ छ । उनले भने, ‘अहिले खोला सुक्खा भएको हुनाले गाडी चलेका छन् । वर्षात्मा त धुलिगडा खोलामा पुल नहुँदा गोकुलेश्वरबाट सवारीसाधन आउनै मान्दैनन् ।’


रैचु खोलाभन्दा ठीक एक वर्षपछि धुलिगडा खोलामा साविककै जिल्ला विकास समितिबाट टेण्डर भई थोदुङ जसलिङ जेभी काठमाडौंसंँग निर्माण सम्झौता भएको थियो । २०७३ असारमा सम्झौता भए पनि अहिलेसम्म खोलामा दुईतिर आधा पिल्लर मात्र खडा गरिएका छन् । पूर्वाधार कार्यालय बैतडीका अनुसार सम्झौता मितिबाट ठीक दुई वर्षमा पुल निर्माण गरिसक्नुपर्ने भए पनि अहिलेसम्म पूरा पिल्लर पनि बन्न सकेको छैन । ‘आरसीसी प्लेट गर्डरविम’ शैलीमा बन्ने पुलका लागि चाहिने फलामका मोटा पाता भारतको हरियााणामा तयार भइसकेको कार्यालयले जनाएको छ ।


ठेकेदारले बनाउन निर्देशन दिएको फलामको पाताको हरियाणा गएर प्राविधिकले मूल्यांकन गरिसकेकाले ल्याउने प्रक्रियामा रहेको कार्यालय प्रमुख जोशीले जानकारी दिए । पाता ल्याइसकेपछि डेढ/दुई महिनामै पुल निर्माण हुने उनको दाबी छ । ४५ मिटर लम्बाइको उक्त मोटरेबल पुल निर्माणको लागत ३ करोड ५० लाख ७८ हजारभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ २४, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?