कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोटो चामल ९ सयले महँगियो

दाल, तेल, मसला, चिनी, प्याज र लसुनलगायत सबैजसो दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य वृद्धि भएको छ
डीआर पन्त

(डडेलधुरा) — गत वर्ष प्रतिक्विन्टल ३२ सय रुपैयाँमा पाइने मोटो चामलको मूल्य यस वर्ष ४१ सय पुगेको छ । सुदूरपश्चिमको पहाडी जिल्लाका ग्रामिण क्षेत्रमा अत्यधिक खपत हुने मोटो चामल गत वर्षको तुलनामा प्रतिक्विन्टलमा नौ सयले महँगिएको हो । 

तराईका कैलाली, कञ्चनपुरबाट पहाडी जिल्लामा भित्रिने मोटो चामल डडेलधुराको रुपाल पुग्दासम्म एक क्विन्टलको ४१ सय रुपैयाँमा खरिद गर्नुपर्ने स्थानीय व्यापारीले बताए । मोटो चामलपछि बढी बिक्री हुने मसिनो चामलको मूल्यमा पनि प्रतिक्विन्टलमा ५ देखि ७ सय रुपैयाँसम्म वृद्धि भएको छ । चामल मात्र होइन दाल, तेल, मसला, चिनीलगायत सबैजसो दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य वृद्धि भएको छ । तोरीको तेलमा प्रतिलिटर ११ रुपैयाँभन्दा बढीले मूल्य बढेको छ । मसुरो, मास, चना र गेडागुडीको मूल्यमा पनि प्रतिकिलो १५ देखि ३५ रुपैंयाले वृद्धि भएको छ ।


प्याज र लसुनसँगै सबैजसो मसलाजन्य वस्तुमा चर्को मूल्यवृद्धि भएको छ । ‘बजारमा राज्यको नियन्त्रण नभएपछि सर्वसाधारणलाई मार पर्नेगरी जथाभावी मूल्यवृद्धि भएको हो,’ डडेलधुरा नागरिक समाजका अध्यक्ष रमेश जोशीले भने, ‘सदरमुकामकै पसलमा पनि उपभोग्य वस्तुको मूल्यमा एकरुपता छैन ।’ ग्रामिण क्षेत्रमा समेत सदरमुकामको बजारको असर परेको छ । उही सामान पसलपिच्छे फरक–फरक मूल्यमा किन्नु परेको स्थानीयहरू बताउँछन् ।


डडेलधुराका व्यवसायी रमेश पन्त पनि गत वर्षको तुलनामा चर्को मूल्य वृद्धि भएको बताउँछन् । बजारमा अस्वस्थ प्रतिस्पर्धाले उपभोक्ता मारमा परेको उनको भनाइ छ । कैलाली र कञ्चनपुरबाट खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु पहाडी जिल्लाका ग्रामिण क्षेत्रमा बिक्री गर्दै आएका व्यवसायी पन्त भन्छन्, ‘दुई वर्षयता भएको मूल्य वृद्धिका कारण ग्रामिण क्षेत्रका सर्वसाधारणको क्रयशक्ति घटेको देखिन्छ ।’ दुई वर्षको अन्तरालमा ग्रामिण क्षेत्रका उपभोक्ताले सर्वाधिक प्रयोग गर्ने चामलमा १६ सय रुपैयाँभन्दा बढीले मूल्य बढेको पन्तको दाबी छ । आर्थिक रुपमा सम्पन्न परिवारले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तुमा भन्दा न्यून आय भएका परिवारले किन्ने उपभोग्य सामग्रीको मूल्य बढेको उनको बुझाइ छ । उच्च गुणस्तरका दाल, चामल, मसला, प्रशोधित खाद्य तेललगायतमा थोरैमात्रै मूल्य वृद्धि भएको उनी बताउँछन् । ‘महँगो चामलमा प्रतिक्विन्टलमा मुश्किलले २ सय रुपैयाँमात्र बढेको छ,’ पन्तले भने, ‘मूल्य वृद्धिले आर्थिक रुपमा कमजोर वर्गलाई धेरै प्रभावित बनाएको छ ।’


सुदूरका पहाडी जिल्लामा खाद्यान्नसहित अधिकांश दैनिक उपभोग्य वस्तु तराईबाट भित्रिने गर्छ । बैतडी, दार्चुला र डडेलधुराका केही ठाउँका सीमावर्ती भारतीय बजारबाट पनि दैनिक उपभोग्य वस्तु आयात हुने गरेको छ । तराई र सिमावर्ती भारतीय बजारबाट आयात हुने दैनिक उपभोग्य वस्तुको मूल्यमा भने धेरै भिन्नता रहेको व्यवसायी बताउँछन् । उनीहरूका अनुसार तराईबाट आउने चिनीको मूल्य प्रतिकिलो ९० रुपैयाँ पर्ने र सीमावर्ती भारतीय बजारबाट खरिद गरी ल्याउँदा ७० भन्दा कममा पाइने गरेको छ । तेल, मसला, दालजस्ता दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत धेरै अन्तर छ । ‘बजार सरकारको नियन्त्रणमा नभएको यो गतिलो उदाहरण हो,’ अर्का व्यवसायी हरिशंकर जोशीले भने, ‘चोरीतस्करीबाट आएको उपभोग्यवस्तु बजारमा छ्यापछ्याप्ती पाइने गरेको छ ।’


तराईका खाद्य उद्योगबाट गुणस्तर नापजाँच गराइ बजारमा आएको र भन्सार छलेर भारतबाट आयात गरिएको उपभोग्य वस्तुको मूल्यमा स्वतः फरक पर्ने उनीहरू बताउँछन् । जोशीले भने, ‘नेपाली बजारमा मूल्य नियन्त्रण हुन नसक्दा उपभोक्ताले महँगीको मार खेप्नु परेको छ ।’

प्रकाशित : माघ २३, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?