कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजुरामा भाइरल ज्वरोले २ को मृत्यु, २ सयभन्दा बढी बिरामी

कान्तिपुर संवाददाता

बाजुरा — जिल्लामा भाइरल ज्वरोका कारण मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ । मंगलबार जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा भाइरल ज्वरोका कारण मंगलबार साँझ ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको थियो । सोही टोलका ७० वर्षीय दलबहादुर रावलको बुधबार विहान मृत्यु भएपछि मृत्यु हुनेको संख्या २ पुगेको हो । रावलको मृत्यु भएको वडाअध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए ।  

मृत कडाराको परिवारका ५ जना पनि बिरामी रहेका साप्पटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले बताए । गाउँपालिका १ का विभिन्न स्थानमा 'सिजनल फ्लू' भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएका स्वामीकार्तिक खापर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर शाहीले बताएका छन् ।


सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ। एक सातायता बिरामीको संख्यामा बृद्धि हुँदै गएको भन्दै स्वास्थ्यकर्मी विकले स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति नहुँदा समस्या हुन थालेको बताएका छन् ।


स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर कैलाले स्टकमा रहेको औषधिसहित भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी दिए । स्वास्थ्यकर्मीहरुले भाइलर ज्वरो अन्य ठाउँमा पनि फैलन सक्ने भएकाले सुरक्षाका उपाय अपनाउन र स्वास्थ्यमा हेरचाह तथा चिसो तातोमा ख्याल गर्न सुझाव दिएका छन् ।


हिमाली गाउँपालिकामा पनि भाइरलका बिरामी रहेका छन् । उक्त ठाउँमा बुधबार प्राविधिक सहितको टोली पुग्‍ने भएको छ ।

प्रकाशित : माघ २२, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्

ज्येष्ठ नागरिकको ‘मन्टेसरी’

जितेन्द्र साह

बुढिगंगा, मोरंग — एक समूह बुढापाका न्यानो घाममा गफिंदै । अर्को समूह भित्र कोठामा प्रवचन सुन्दै र नाँच्दै । कोही भित्रबाहिर गर्दै । एकजना वृद्धले हाँस्दै भने, ‘यो हामी बुढाबुढीहरुको मन्टेस्वरी हो ।’

मोरंगको बुढिगंगा गाउँपालिका–३, टंकिसिनबारी आदर्श चोकस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको दृश्य हो यो । यहाँ बालबालिका झै वृद्ध बाआमाले मनोरञ्जक ढंगले धार्मिक, सामाजिक, घरायसी, पारिवारिक, स्वास्थ्य, खेतीपाती र व्यावहारिक ज्ञानको आपसमा आदानप्रदान गर्छन् ।
७० वर्षीय भोजराज अधिकारीले यसैकारण यो केन्द्रलाई वृद्धवृद्धाको मन्टेसरी भनेका हुन् । ‘कसले कति वटा गाई पालेका छन् ? यसपाली कसले केको खेती गरेका छन् ? कसका सन्तान सप्रे र कसका बिग्रे ? यस्तायस्ता विषयमा पनि छलफल हुन्छ,’ उनले भने ।
बुढीगंगा–३ कै अधिकारीको १५ सदस्यीय परिवार छ तर पाँच छोरामध्ये तीन काठमाडौं, एक वीरगञ्ज र एक आबुधाबी बस्छन् । यहाँ रहेका अन्य सदस्य पनि आ–आफ्नै मेलोमा व्यस्त रहने हुनाले उनलाई पनि समय कटाउन गाह्रै थियो ।
‘यो केन्द्र नहुँदा दिनभरी टिभी हेरेर बस्थेँ, वाक्क लाग्थ्यो,’ अधिकारीले भने, ‘अहिले यो बने पछि आनन्द भएको छ । साथीहरुसँग बस्छु, आफ्नो कुरा भन्छु, उनीहरुको सुन्छु । जीवन मजाले बितिरहेको छ ।’
बुढीगंगा–१, मिलन चोककी ८० वर्षीया डम्बरकुमारी पौडेलले आफूहरुको रमाउने स्थल भएको बताइन् । ‘गुरुमाबाट प्रवचन सुन्छौं, भजन गाउँछौं, नाँच्छौं,’ उनले भनिन् । उनको परिवारमा छोराबुहारी र नातिनातिनासहित १० सदस्य छन् । तर सबैजना बिहानदेखि बेलुकीसम्म जागिर एवं पढाइको क्रममा बाहिर रहने हुनाले उनी पहिलापहिला एक्लो महसुस गर्थिन् । अहिले समान उमेरकासँग दैनिक भेट हुँदा मन प्रफुल्ल रहने गरेको उनले बताइन् ।
यो गाउँपालिकादेखि दक्षिणस्थित विराटनगरमा वृद्धवृद्धाका लागि यस्ता केन्द्र र घुमफिर गर्ने ठाउँहरु प्रशस्तै भए पनि यहाँ यस्तो पहिलो केन्द्र हो । विराटनगरका ज्येष्ठ नागरिक केन्द्रहरुमा दिनहुँ आइजाइ गर्न यो गाउँका ज्येष्ठ नागरिकका लागि शारीरिकरुपले पनि सम्भव थिएन ।
गाउँपालिका कार्यालयले दिएको दुई कठ्ठा जग्गामा यो केन्द्र बनेको छ । करिब २० लाख रुपैयाँको लागतमा नेपाल ग्रामीण विकास समाज केन्द्रले यसको निर्माण गरेको हो । मधेसी, थारु र पहाडी समुदायको मिश्रित बसोबास भएको बुढिगंगाको यो केन्द्रमा दिनहुँ भेला हुने औसत ६० ज्येष्ठ नागरिकमा ४० जना महिलाहरु हुन्छन् ।
छ वर्षअघि पक्षाघातबाट पीडित भएकी ८० वर्षीया डिलोदेवी राजवंशी लौरोले टेक्दै यो केन्द्रसम्म आइपुग्छिन् । उनी नेपाली भाषा बुझे पनि बोल्न जान्दिनन् । ‘पहाडी साथीहरुले भनेको बुझ्छु तर आफ्नै भाषामा जवाफ फर्काउँछु,’ राजवंशीले ठट्यौली गर्दै भनिन्, ‘उहाँहरुले पनि मैंले बोलेको बुझनु हुन्छ, नेपालीमा फर्काउनु हुन्छ, हिसाब बराबर ।’
केन्द्रलाई स्थानीयले पनि सहयोग गरेको संस्थाका सभापति मणिकुमार अर्यालले बताए । 'कोही न कोही दिनहुँ चियापत्ती, बिस्कुट तथा फलफूल लिएर आउने गर्नुहुन्छ । संस्थाले घरमात्र बनाएको हो, बाँकी सहयोग त स्थानीयबाटै भइरहेको छ,’ उनले भने ।
७८ वर्षिय अर्याल बैंकका निवृत्त कर्मचारी हुन् । विराटनगर बसपार्क निवासी उनी आफ्नो बाँकी जीवन आफूजस्तै ज्येष्ठ नागरिकको सेवा गरेर बिताउने बताउँछन् । बैंकहरुले दिने सामाजिक सहायता कोषको रकमबाट बाँकी जग्गामा मन्दिर, योग र फिजियोथेरापी केन्द्र बनाउने योजना उनले सुनाए ।

प्रकाशित : माघ २२, २०७६ १२:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×