कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मापदण्डबिनै सडक, यात्रा जोखिमपूर्ण

मनोज बडू

(दार्चुला) — जिल्लामा दर्जन बढी ग्रामिण सडकहरू सञ्चालनमा छन् । महाकाली लोकमार्गबाहेक अन्य सबै सडकहरू कच्ची छन् । कतिपय भर्खर ट्रयाक खुलेका हुन् । मापदण्ड विपरीत निर्माण गरिएका, लेभल नमिलेका कच्ची सडकमा स्थानीय बासिन्दाहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

मापदण्डबिनै सडक, यात्रा जोखिमपूर्ण

पछिल्लो समय स्थानीय तहहरूले सडक निर्माण योजनालाई मुख्य प्राथमिकतामा राखेका छन् । तर, कुनै पनि सडक मापदण्डअनुसार बनेका छैनन् । मनपरि ढंगले बनाइएकोले सडक दुर्घटनाको जोखिम अत्यधिक रहेको स्थानीय बताउँछन् । निर्माणपूर्व गर्नुपर्ने प्राविधिक अध्ययन र इस्टिमेटबिनै डोजर चालक नै इन्जिनियर भएर सडक बनाइएका छन् । यस्ता सडकमा गुड्ने सवारी साधनमा ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको महाकाली नगरपालिका–९, थाप्लाका शेरसिह सामन्तले बताए । ‘ग्रेड मिलान र सडकको स्तरोन्नति नगरी गाडी गुड्दै आएका सडकमा अत्यधिक जोखिम छ । चालक र यात्रुलाई गन्तव्यमा पुग्न हतार हुने भएकाले जोखिमको ख्यालै गरेको पाइँदैन,’ उनले भने ।


क्षमताभन्दा बढी यात्रु र सरसमान बोक्ने गरिएकाले थप जोखिम हुने गरको उनको भनाइ छ । ग्रामिण सडकमा सीमित यातायातका साधन चल्ने हुँदा यात्रुहरू गाडीमा सिट नभए पनि कोच्चिएर, उभिएरै यात्रा गर्छन् । उनका अनुसार सवारी चालकलाई बढी भाडा कमाउने लोभ र यात्रुलाई गन्तव्यसम्म चाँडै पुग्ने हतारो हुन्छ । वर्षायाममा ठप्प हुने भए पनि हिउँदमा भने जिल्लाका अधिकांश सडकहरू सञ्चालनमा आउँछन् । जिल्लामा गोकुलेश्वर–लटिनाथ, पारिबगड–मकरिगाड, गोकुलेश्वर–धुलिगडा, खलंगा–दल्लेक, बेत–जौलजिवी, दल्लेक–होपरिगाड, बिटुले–पारिबगड, तिंकर सडकको अवस्था दयनीय छ । ‘यी सडकहरू बर्खाको समय त परै जाओस्, हिउँदमा पनि असुरक्षित छन्,’ दुहु गाउँपालिका–५, गरमोराका जकनसिंह महराले भने, ‘बर्खामा त ती सडक नाम मात्रका हुन्छन् ।’ ग्राभेलसमेत नगरिएका यस्ता सडकमा पहिरो खस्ने, धस्सिने लगायतको समस्या आइरहन्छ ।


हालसम्म जिल्लाका ५ सडकमा मात्र सवारी सञ्चालन गर्न अनुमति मिलेको छ । तर अनुमति नदिइएका सडकमा पनि गाडी गुडाइने गरेको छ । शैल्यशिखर नगरपालिका बस्ने चन्द्रसिह साउँदले भने, ‘यात्रामा भगवान् भरोसाको अवस्था छ ।’ दुहु गाउँपालिका–३ का वडाध्यक्ष लालबहादुर बमले हिँड्नुभन्दा खतरा मोलेरै भए पनि यात्रुहरूले जिपमै यात्रा गर्न सजिलो मान्ने गरेकोले समस्या रहेको बताए । कच्ची तथा मापदण्ड विपरीतका सडकमा पनि व्यवसायीले यात्रुहरूबाट चर्को भाडा असुल्ने गरेको वडाध्यक्ष बमको भनाइ छ ।


सडक साँघुरा छन् । धेरैजसो ठाउँमा सवारी एकैपटक ओहोरदोहोर गर्न सक्दैनन् । जीप चालक वसन्त जोशीले भने, ‘कतिपय मोडमा त घुम्ती (कटिङ) समेत पुग्दैन । ब्याक गरेर अगाडि बढाउनु पर्ने भएकाले तल खस्ने डर हुन्छ ।’ कुनै–कुनै सडक त यति भिराला छन्, जहाँ यातायातका साधन गुडाउनै समस्या हुने गरेको उनको भनाइ छ । सडक डिभिजन कार्यालयका प्राविधिकहरू समेत ग्रामीण सडकमा यात्रुहरूलाई अत्यधिक जोखिम रहेको बताउँछन् ।

प्रकाशित : माघ २२, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?