कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

काँटछाँटको निहुँमा फँडानी

भएको अधिकार पनि खोसिएको र स्थानीय तह शक्तिशाली हुँदा आफूहरूले केही गर्न नसकेको वन अधिकारीहरूको गुनासो 
डीआर पन्त

(डडेलधुरा) — डडेलधुरा सदरमुकाम क्षेत्रको प्रमुख आकर्षण हो ऋषिखोला सामुदायिक वन र डोटी घटाल पारिको महाभारत वन क्षेत्र । पहिलो पटक डडेलधुरा पुग्ने धेरैले यी दुवै वन क्षेत्र देखेर प्रशंसा गर्छन् । डडेलधुरा बजारको चारैतिर फैलिएको हरियाली र घना जंगलले सवैलाई मोहित तुल्याउँछ । तर पछिल्लो समय दुवै वन क्षेत्रमा व्यापक फँडानी भइरहेको छ । वर्षौं लगाएर संरक्षण भएको जंगलमा हुर्कन थालेका पोथ्रा र बुट्यानसमेत काटिएको छ ।

काँटछाँटको निहुँमा फँडानी

कटानी छेकानी (काँटछाँट) को नाममा ऋषिखोला सामुदायिक वन क्षेत्रभित्र लालीगुराँस लगायतका ठूला रुख कटानी हुन थालेको स्थानीय उपभोक्ताहरूले गुनासो गरेका छन् । हरि सार्कीले भने, ‘कटानी छेकानी गर्दा सुकेका, कमजोर र बांगाटिंगा हाँगा काट्नु पर्नेमा दैनिक ज्यालादारीमा मजदुर खटाएर हुर्कन थालेका नयाँ र ठूला रुखमात्र काटिएको छ ।’


‘सामुदायिक वनको कार्ययोजनाअनुसार वन संरक्षण तथा नयाँ पोथ्रालाई हुर्कन दिन यसरी कटानी छेकानी गरिन्छ,’ उनले भने, ‘त्यसैलाई निहुँ बनाएर संरक्षण भएको जंगल सखाप पार्न थालिएको छ ।’ जिल्ला वन कार्यालयसँगै जोडिएको सामुदायिक वनमा यसरी जथाभावी वन फडाँनी भइरहेको भन्दै उपभोक्ताले पटक–पटक जानकारी गराए पनि कसैले चासो नराखेको अर्का स्थानीय देवेन्द्र भट्टले गुनासो गरे । उनले भने, ‘जुन रुपमा फँडानी भइरहेको छ, यसले वनमा हुर्कंदै गरेका नयाँ बिरुवा नै समाप्त हुन थालेको छ ।’


अमरगढी नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका उपभोक्ता सञ्जय जैरुले तत्काल फँडानी रोक्न आग्रह गरे । उनले जिल्ला वन कार्यालयका अधिकारीलाई आफूले जानकारी गराए पनि नियन्त्रणको प्रयास नभएको गुनासो गरे । ‘जंगलको संरक्षणका लागि समय–समयमा छेकानी गर्नु राम्रो हो तर यसको निहुँमा भइरहेको फँडानीले डडेलधुराको सुन्दरता नै समाप्त हुन सक्छ,’ उनले भने, ‘वन अधिकारीहरू ठाउँ–ठाउँमा यिनै वनको उदाहरण दिन्छन् तर संरक्षण गर्नु पर्ने समयमा मुख लुकाउँछन् ।’


ऋषिखोला सामुदायिक वनमा मात्रै होइन सदरमुकामसँग जोडिएको महाभारत वन क्षेत्रमा पनि फँडानी भइरहेको छ । दैनिक ३ सयदेखि ५ सय पोथ्रा तथा रुख काटेर सदरमुकामका होटल र आसपासका साना बजारमा दाउराका रुपमा बिक्री भइरहेको स्थानीय बताउँछन् । तरकारी खेती गर्न समेत वनका रुख र हाँगा काटिने गरिएको छ । ‘ढलापडा, सुकेका र हैसियत बिग्रेका नाममा वनमा रहेका ठूला रुख काटिइसकेका छन् भने हुर्कन थालेका बिरुवा विभिन्न निहुँमा काटिन सुरु भएपछि केही वर्षमा जंगल सखाप हुने निश्चित छ,’ वन संरक्षणका क्षेत्रमा क्रियाशील अगुवा राजेन्द्र जोशीले भने, ‘वन कार्यालयले चासो राख्नु पर्नेमा पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ हुन सकेको छैन ।’


वन डिभिजन कार्यालयले भने एकजना कर्मचारी खटाएर वन छेकानी गर्न थालिएको बताएको छ । सामुदायिक वनले छेकानी सुरु गर्ने जानकारी दिएपछि एक कर्मचारी खटाएर निगरानी गरिएको कार्यालयकी रेन्जर पुष्पलता आचार्यले बताइन् । उनले भनिन्, ‘मापदण्डअनुसार नै छेकानी गर्न निर्देशन दिएका छौं ।’


०४८ अघि सदरमुकामको दुवैतर्फ उजाड थियो । वन कार्यालयसँगै जोडिएको ऋषिखोला सामुदयिक वनमा रुखका जरासमेत निकालेर सखाप बनाइएको थियो । सामुदायिक वन गठनपछि छोटो अवधिमै यो वन देशभर चर्चाको विषय बनेको थियो । सदरमुकाम पारिको महाभारत जंगल क्षेत्रको अवस्था पनि उस्तै थियो । यहाँ पनि संरक्षणका कार्य गरिएपछि वन क्षेत्र हराभरा बनेको थियो । सो वन क्षेत्र अहिले पुनः फडाँनी हुने क्रम सुरु भएको हो ।


जिल्लाको कुल भूभाग १ लाख ५३ हजार ८ सय हेक्टरमध्ये ७५ प्रतिशतभन्दा बढी क्षेत्र (१ लाख १५ हजार हेक्टर) जंगलले चर्चेको छ । तर, पछिल्लो समय अतिक्रमण र फँडानीले वन क्षेत्र खुम्चँदै गएको छ । स्थानीय तह गठनपछि वन फँडानी दर बढेको स्थानीयहरू बताउँछन् । जथाभावी रुपमा सडक निर्माण गरिँदा पनि वन क्षेत्र मासिएको छ । सदरमुकामसँग जोडिएका वन क्षेत्र मात्र होइन जिल्लाभरि नै वन फँडानी हुने क्रम बढेको छ । वन अधिकारीहरू भने आफूहरूमा निहित अधिकार पनि खोसिएको र स्थानीय तह शक्तिशाली हुँदा केही गर्न नसकेको गुनासो गर्दै आएका छन् ।

प्रकाशित : माघ २१, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?