१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तालिममा ७१ लाख खर्च, प्रतिफल न्यून

तालिममा २५० मिलिलिटर कोकको ५० रूपैयाँ बिल बनाएको सम्म पाइएको छ
गणेश चौधरी

(टीकापुर) — टीकापुर नगरपालिका ६ को वडा कार्यालयले वर्ष २०७४/७५ मा ६० जना महिलालाई स्वरोजगार बनाउन होजियारीसम्बन्धी तालिम दियो । उक्त तालिममा वडाले २ लाख १५ हजार रुपैयाँ खर्च गर्‍यो । तर, तालिम लिएका एउटैले पनि व्यवसाय सुरु गरेनन् ।  त्यस्तै, त्यही वडाले १३ जनालाई मोटरसाइकल मर्मत तालिम पनि सञ्चालन गर्‍यो ।

तालिममा ७१ लाख खर्च, प्रतिफल न्यून

तालिम लिएका २ जनाले मात्र अन्य व्यक्तिको ग्यारेजमा रोजगारी पाए । वडा अध्यक्ष चौधरीका अनुसार रोजगारी पाएका ती दुई जनाका लागि मोटरसाइकल मर्मत औजार खरिद गर्न ९५ हजार रुपैयाँ छुट्याइएको छ । उनले भने, ‘गर्नेलाई थोरै भए पनि सहयोग पुगोस् भनेर बजेट छुट्याएका हौं ।’


त्यस्तै, नगरपालिकाले मुक्त कम्लरीलाई ढकिया बुन्ने तालिम पनि चलायो । तर ढकियाको व्यावसायिक उत्पादन र व्यापार उनीहरूले पनि सुरु गरेनन् । ‘सीपमूलक तालिमबाट वडावासीलाई आयआर्जनमा सहयोग पुगोस् भनेर तालिम चलाए पनि खासै उपलब्धि भएन,’ बलिरामले भने, ‘तालिम लिने तर व्यावसायिक बन्न कोही चाहँदैनन् ।’


सीपमूलक तालिमको उपलब्धि नहुने भएपछि यस्तो कार्यक्रम आगामी दिनमा नगर्ने सोचमा आफू रहेको समेत उनले बताए । ‘सीपमूलक तालिमको प्रतिफल आउने गरी मात्र तालिम चलाउने सोच छ,’ उनले भने । गत वर्ष टीकापुर नगरपालिकाले करिब ७१ लाख रुपैयाँ यस्ता सीपमूलक तालिममा खर्च गरेको जनाएको छ । सीपमूलक तालिमको बजेट शीर्षकमा मात्र नभई आदिवासी जनजाति, महिला, दलित आदि शीर्षकका बजेट शीर्षकबाट पनि तालिम दिने गरिएको छ ।


पहिला एनजीओ/आईएनजीओले गर्ने काम अहिले स्थानीय सरकारले गरिरहेको टीकापुर बहुमुखी क्याम्पसका प्राध्यापक केदार भट्टराईले बताए । उनले भने, ‘केही दिनअघि सामाजिक परीक्षणका लागि नगरपालिकाको कामको अध्ययन गरेका थियौं । सीपमूलक तालिमको प्रभावकारिता देखिएन, स्थानीय सरकार आफैले माग र आपूर्तिको काम गरिरहेको छ ।’ उनका अनुसार तालिमको प्रभावकारिता र अनुगमन कसले गर्ने भन्ने मेकानिजम नै नभएको बताए । नागरिक समाजको संलग्नता नहुँदा सरकार मनपरी जस्तो भएको आफूले अनुभव गरेको भट्टराईले बताए । उनले भने, ‘तालिमका लागि प्रस्ताव लेखनको काम कर्मचारी आफैंले गर्ने । सहजीकरणको काम पनि सके आफैले नभए नजिकका आसेपासेलाई दिएर रकम खर्च गर्ने काम मात्र भएको छ ।’


उनका अनुसार अध्ययनका क्रममा एउटा वडाले सञ्चालन गरेको तालिममा २५० मिलिलिटर कोकको ५० रुपैयाँ बिल बनाएको सम्म पाइएको छ । सीपमूलक तालिमबाट आफूले आशा गरेको प्रतिफलमा टीकापुर नगरपालिका वडा ७ का वडाध्यक्ष रामलाल डगौरा पनि सन्तुष्ट छैनन् । उनले भने, ‘आयआर्जनका लागि भनेर बर्सेनि करिब ४ लाख वडा कार्यालयले छुट्याउँछ । तालिम लिएका कमले मात्र व्यवसाय सुरु गर्छन् ।’ उनका अनुसार यो वडाले बर्सेनि सिलाइकटाइ तालिम चलाए पनि सरिता विक र रामलालीदेवी चौधरीले मात्र सिलाइ कटाइ व्यवसाय सुरु गरेका छन् ।


टीकापुर नगरपालिकासित जोडिएको जानकी गाउँपालिकाको कथा पनि खास फरक छैन । गत वर्ष गाउँपालिकाले ४ लाख खर्चेर ४० जनालाई मोटर ड्राइभिङ तालिम चलायो । तर कति जनाले गाडी चलाउन सुरु गरे भन्ने अनुगमन गाउँपालिकाले गरेको छैन । गाउँपालिकासित क कसले यो तालिम लिए भन्ने तथ्यांक पनि छैन । सामाजिक शाखा प्रमुख हीरालाल चौधरीले भने, ‘एउटा मोटर ड्राइभिङ तालिम सेन्टरलाई जिम्मा दियौं । उसैले तालिम चलायो । तालिम सकिएपछि क–कसले काम थाले हेरेका छैनौं ।’


प्रकाशित : माघ १६, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?