मादलको माग बढी, जनशक्ति कम

गणेश चौधरी

टीकापुर — जीवनको अधिकांश समय भारतमा बिताए । कामको खोजीमा भारत जाने टीकापुर नगरपालिका–८, सूर्यपुरका सुरज वादी हिजोआज गाउँमै मादल बनाउने काम गरिरहेका छन् । ‘हाम्रो समुदायमा मादल बिक्दैन भनेर धेरैले यो पेसा छोडे,’ उनले भने, ‘मादल बनाएर पनि राम्रो कमाइ हुँदोरहेछ भन्ने बल्ल थाहा भयो ।’

मादलको माग बढी, जनशक्ति कम

थारु समुदायका कतिपय गीतसंगीत र संस्कृति हाल प्रचलनमा छैनन् । तर, कतिपय थारु युवामा आएको जागरुकताका कारण मादलको माग बढ्दै गएको उनले बताए । थारु समुदायमा आफ्नो गीतसंगीत, नृत्य र संस्कृति संरक्षणको लहर नै आएको उनी बताउँछन् । ‘हाम्रो समुदायमा मादल बनाउन जान्नेको संख्या निकै कम छ,’ सुरजले भने, ‘माघी र दसैंमा थारुलाई मादल नभई हुन्न । विभिन्न थारु गाउँबाट मादलको माग अत्यधिक आउँछ । भनेको समयमा मादल पुर्‍याउन गाह्रो भइरहेको छ ।’


वादी समुदायमा मादल बनाउने व्यक्तिको कमी हुँदै गएपछि यसलाई व्यावसायिक बनाउन टीकापुर नगरपालिकाको ८ नम्बर वडाले सहयोग गरेको वादी अगुवा अर्जुन नेपालीले बताए । उनले भने, ‘यो आर्थिक वर्षमा वडाले ८० हजार रुपैयाँ अनुदान सहयोग गरेको छ । मादल बनाउन जान्नेहरूका लागि सरसामान किन्न अनुदान रकम खर्च गर्ने भएका छौं ।’


अर्जुनका अनुसार सोही वडाको सुर्यपुरमा रहेको वादी टोलमा मादल बनाउन जान्ने ४ जना मात्रै छन् । उनीहरूका लागि एउटा पसल नै स्थापना गर्ने र त्यसबाट नयाँ पीढीले पनि सिकुन् भन्ने सोचका साथ आफूहरू अघि बढेको उनले बताए । वादी समुदायमा मादल बनाएर घर–घरमै पुर्‍याई ‘तिहाइ’ उठाउने चलन थियो । अहिले भने नगदमै मादल बिक्री गर्ने गरेको सुरजले बताए । उनले भने, ‘मादल बनाउन ३ हजार जति खर्च लाग्छ । ५ हजार जतिमा बिक्री गर्छौं ।’


थारु समुदायमा नाचगान जगेर्नाका लागि थालिएको अभियान र ठाउँ–ठाउँमा भइरहेका मेला, महोत्सव र नाचगान प्रतियोगिताले पनि मादलको माग बढ्दै गएको अर्जुनको भनाइ छ । ‘मेरा बुवाले थारुहरूको सखिया नाचको सिजनमा मात्र करिब एक सय जति मादल बनाउथे,’ उनले भने, ‘आजभोलि मादल बनाउने मान्छे नै छैनन् भनेपनि हुन्छ ।’ धेरै गाउँका थारुले मादलका लागि आफूलाई भन्ने गरेपनि उपलब्ध गराउन कठिन भएको उनले सुनाए । ‘पुर्खाको जस्तो सीप पनि हामीसित छैन । सामग्री पनि पाइँदैन,’ उनले भने ।


मादल बनाउन मुख्य कुरा काठ चाहिन्छ । वनमा पस्नै नपाइने नीतिका कारण मादल बनाउने काठ पाउन नसकेको उनले गुनासो गरे । उनले भने, ‘वडा कार्यालयले पेसा जोगाउन लगानी गरेपछि हाम्रो सत्ती कर्णाली सामुदायिक वनले काठ उपलब्ध गराउने भएको छ ।’


वादी समुदायले मादल बनाउन छोडेपछि मादल पाउन मुश्किल हुन थालेको टीकापुर–७ का वडाध्यक्ष रामलाल डंगौराले बताए । ‘माघी मेला र थारु सांस्कृतिक कार्यक्रम आयोजना गर्‍यौं । कार्यक्रममा आउनेलाई पुरस्कारस्वरुप मादल दिने भन्यौं तर चाहिए जति मादल पुगेन । केहीलाई दियौं । केहीलाई पछि दिने भनेका छौं,’ उनले भने, ‘थारु गाउँमा सखिया नाच, मघौटा नाच हुन्छ । यसका लागि ठूला–ठूला र धेरै संख्यामा मादल चाहिन्छ । बजारमा पाइने साना मादलले थारु नाचमा काम चल्दैन । वादी समुदायकाले मात्र त्यो खालको मादल बनाउन जानेका छन् । उनीहरूबाटै लिनुपर्छ ।’


मादल बनाउन आवश्यक सामग्री पनि नपाइने र सधैं बजारको सहजता पनि नरहने हुँदा यो पेसामा वादी युवा आकर्षित हुन नसकेका अर्जुनको बुझाइ छ । उनले भने, ‘यसमा राज्यको लगानी भए युवा पुस्ता पनि आकर्षित हुन सक्छन् ।’

प्रकाशित : माघ १५, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?